arrow

मासु, भात, रक्सी र निःशुल्क वाईफाई चाहियो क्वारेन्टाईनमा बस्नेलाई !

logo
केदार मगर,
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
khotang-district.png

खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनको निगरानीमा खटिएका ५०० अनुगमनकर्तालाई मोबाइलको सिम निःशुल्क वितरण गरेको छ ।

राजधानी काठमाडौँमा बसिरहेका नगरवासीलाई लकडाउनकै बीचमा गाउँ ल्याएको नगरपालिकाले होम क्वारेन्टाइनको आचारसंहिता पालन गराउन अनुगमनमा खटाइएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, सुरक्षाकर्मी, वडा सचिव, शिक्षक र कृषि पशु प्राविधिकलाई निःशुल्क एनसेलको सिम वितरण गरेको हो ।

आपसी फोन सम्पर्क र समन्वय गर्न नगरपालिका र एनसेलसँगको सहकार्यमा अनुगमनकर्तालाई एक-एक थान सिम कार्ड वितरण गरिएको नगरप्रमुख इवन राईले जानकारी दिए । लकडाउनका कारण गाउँघरमा रिचार्ज कार्ड अभाव छ”, उनले भने, “होम क्वारेन्टाइनको अवस्थामा आवश्यक जानकारी गराउन अनुगमनमा खटिएका १७० जना शिक्षक, १२७ जना महिला स्वास्थ्य स्वयंसेविका, ६६ जना स्वास्थ्यकर्मी, ४० जना सुरक्षाकर्मी, १२ जना कृषि पशु प्राविधिक र १० जना वडा सचिवलाई ४२० मिनेट फ्रि कल र दुई जिवी डाटा भएको सिमकार्ड उपलब्ध गराइएको हो ।

नगरपालिकाले काठमाडौँ उपत्यकामा बसिरहेको अवस्थामा लकडाउन जारी रहदा एक हजार २६७ जना सर्वसाधारणलाई होम क्वारेन्टाइनमा बस्ने शर्तमा गत वैशाख ११ र १२ गते २५ वटा बसमार्फत गाउँमा ल्याएको थियो । त्यसबीचमा आफैँ गाडी रिजर्भ गरेर घर आउने नगरवासीको सङ्ख्या पनि उत्तिकै छ ।

नगरवासीलाई १४ दिनसम्म होम क्वारेन्टाइन वा सम्बन्धित वडा कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा बस्ने, सामाजिक दूरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने, मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नेलगायत १० बुँदे आचारसंहिता पालना गर्नुपर्ने कबुलियतनामा गराएर गाउँमा ल्याइएको थियो । शहरबाट कुनै एकजना मार्फत सङ्क्रमण भित्रिको अवस्थामा सिङ्गो गाउँ नै सखाप हुने भएकाले नगरपालिकाको काँधमा होम क्वारेन्टाइनको पालनामा कडाइ गर्नुपर्ने जिम्मेवारी आएको नगरप्रमुख राईले बताए ।

काठमाडौँबाट ल्याइएका तीनजनाले होम क्वारेन्टाइन बस्न आफूले गरेको कबुलियतनामा उल्लङ्घन गरेकाले पक्राउ गरेर क्वारेन्टाइनमा लगेर राखिएको जनाइएको छ । बसिरहेको ठाउँमा दैनिक आयमूलक काम गर्न नपाएको तथा घर आउन पनि नपाएको अवस्थामा समस्यामा परेको गुनासो आएपछि नगरपालिकाले विरोध र समर्थनकाबीच गाडी रिजर्भ गरेर स्थानीय बासिन्दालाई घर ल्याएको हो ।

यसैबीच, हलेसी तुवाचुङ नगरपालिकाको क्वारेन्टाइनबाट अहिलेसम्म १४ जना छुटेका छन् । १४ दिनको बसाइँ पूरा गरेपछि राजापानीको क्वारेन्टाइनबाट चारजना, दुर्छिमको क्वारेन्टाइनबाट चारजना, महादेवस्थानमा बनाइएको क्वारेन्टाइनबाट चारजना र धितुङमा बनाइएको क्वारेन्टाइनबाट दुईजना छुटेका हुन् ।

नगरपालिकाको विभिन्न स्थानमा बनाइएको क्वारेन्टाइनमा अझै ११ जना स्थानीय बसिरहेका स्वास्थ्य शाखाका सह-संयोजक प्रकाश घिमिरेले बताए । विदेशबाट आएर क्वारेन्टाइन बस्ने स्थानीय बासिन्दालाई नगरपालिकाले खाना, खाजा तथा स्वास्थ्य उपचारको व्यवस्था गरेको जनाइएको छ ।

क्वारेन्टाइनमा राखिएका व्यक्तिको माग धान्न गाह्रो भएको नगरपालिकाले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशबाट फर्किएपछि नगरपालिकाको तर्फबाट क्वारेन्टाइनमा राखिएका व्यक्तिले दैनिक मासु, भात, रक्सी र निःशुल्क वाईफाई सेवा उपलब्ध गराउन माग गरेपछि समस्या भएको हो ।

नगरपालिकाले  दीर्घ रोगी भएका नगरवासीलाई घरैमा निःशुल्क औषधि ल्याइदिने व्यवस्था मिलाएको छ । अन्यत्र गएर औषधि ल्याउन नपाएका दीर्घ रोगी स्थानीयवासीलाई नगरपालिकाले आवश्यक औषधि घरैमा निःशुल्क ल्याइदिने व्यवस्था मिलाएको हो ।

नियमित औषधि सेवन गरिरहेका प्रेसर, सुगर, मुटु रोग, मानसिकलगायत समस्या भएका बिरामीलाई मागका आधारमा औषधि ल्याइदिने तयारी गरिएको स्वास्थ्य शाखाले जनाएको छ । औषधि ढुवानीका लागि अहिले वडा वडामा गएर दीर्घरोगीको विवरण सङ्कलन गर्ने काम भइरहेको जनाइएको छ ।

जिल्लाकै अतिदुर्गम स्थानीय तहमा पर्ने उक्त नगरपालिकामा अहिले खाद्यान्न तथा मकैको बीउसमेत वितरण भइरहेको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने उक्त नगरपालिकामा गत वर्षको खडेरीका कारण भोकमरी तथा मकैको बीउ अभाव भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ