शिक्षण तथा सिकाईमा सरकार, शिक्षक र अभिभावकको भूमिका

बाबुराम अर्याल,  प्रकाशित मिति : २०७७ बैशाख २५ बिहिबार

यतिखेर सारा विश्व कोरोना भाइरसको बढ्दो संक्रमणवाट आक्रान्त छ । एउटा अदृष्य जिवाणु मानव जीवनलाई चुनौती दिदै विश्वकै साझा दुस्मन बनिरहेको छ । आजका दिनसम्म ३५ लाखभन्दा बढी सङ्क्रमित र दुई लाख पचास हजार भन्दा बढीको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ । प्रथम चरणमा नै यसको बढ्दो गतीलाई नियाल्दा जटिल खोज–अनुसन्धान एवं प्रयोगद्वारा स्थापित गरेको वैज्ञानिक मान्यताहरु, सिङ्गो मानव सभ्यता र प्रविधिलाई नै यसले चुनौती दिईरहेको आभाष हुन्छ । आर्थिक रुपले सम्पन्न एंव विकसित र शक्तिशाली राष्ट्र भनाउदाहरू समेत निरीह बनिरहेको सन्दर्भमा नेपाल जस्तो आर्थिक एंव सामाजिक विकासका दृष्टिले पछाडि रहेको मुलुकका निम्ति सामाजिक विकासको  महत्वपूर्ण अवयवका रुपमा रहेको  शिक्षा क्षेत्रमा पनि यसको गभ्भिर असर परेको छ नै । 

संयोगवश एकातिर नेपालको सन्दर्भमा शैक्षिक सत्र सकिएको र अर्कोसत्र सुरु हुने बेला परेको छ । भने अर्कातिर एसईई दिन लागेका किशोर/किशोरीको परीक्षा त झन सुरु हुन लागेका बेला अघिल्लो दिन मात्रै रोकिएको थियो।  यसर्थ आधारभूत तहका विद्यार्थीमा त्यति धेरै समस्या नदेखिए पनि कक्षा १०,११ र १२ माध्यमिक तहका विद्यार्थीको वार्षिक परीक्षाको अन्तिम तयारी भइरहेका बेला अचानक भएको लकडाउनले अन्योल सिर्जना भएको छ । अहिले बालशिक्षादेखि विश्वविद्यालय तहसम्म देशभर झन्डै ८० लाख विद्यार्थी पढाइबाट वञ्चित भएका छन् ।

शिक्षा र स्वास्थ्यमा गरिने लगानी मानव संशाधनमा गरिने लगानी हो । नेपालको संबिधानले माध्यामिक स्तरसम्मको शिक्षालाई निशुल्क र नागरिकको नैसर्गिक अधिकारको रुपमा परिभाषित गरेको छ। तर शिक्षा क्षेत्र जस्तो पवित्र क्षेत्रलाई निजीकरण गरिदा नागरिकले महँगो शुल्क तिरेर सेवा लिनु पर्ने अवस्था छ।  यी क्षेत्रमा आज गरेको लगानीले १०-१५ वर्षपछि वा लामो समयपछि पनि प्रतिफल दिईरहन्छ । तर हामी देखिरहेका छौ, शिक्षा र स्वास्थ्य सेवामा अस्वस्थ प्रतिस्पर्धा भएको छ । बजारमा दैनिक उपभोग्य वस्तुहरू जस्तै शिक्षा र स्वास्थ्य सेवाको विज्ञापन गरिन्छ जस्तै हालका अनलाईन कक्षा। 

यसै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैशाख २२ गतेको मन्त्री स्तरीय निर्णयले सरकारले अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना लिन र अनलाइन पठनपाठनका नाममा शुल्क नलिन नपाइने निर्णय गरेको छ । त्यसैगरी माध्यमिक शिक्षा परीक्षा र कक्षा ११ तथा १२ का परीक्षा हाल स्थगित रहेको र यस विषयमा कुनै थप निर्णय नभएको र ती परीक्षा सञ्चालन गर्ने विषयमा सुक्ष्म अध्ययन र परामर्श लिने काम भइरहेको उल्लेख गरिएको छ । मन्त्रालयले संस्थागत विद्यालयहरुले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य शुल्क छुट दिने निर्णय भएको भन्दै त्यसलाई कार्यान्वयन गर्न आग्रह गरेको छ ।

त्यसैले एकातिर कोरोनाको कहरवाट पूर्ण रुपमा सुरक्षित नहुँदासम्म विद्यालय सन्चालन नहुने पक्का भएको छ । भने अर्कातिर अपवादमा केही मुलुकबाहेक सवै मुलुकलाई आक्रान्त पारेको कोभिड–१९ को महाव्याधीबाट पार पाऊन नेपाल समेत विश्वका विकसीत वा विकासोन्मुख सवै देशहरुले लकडाउनको विधिलाई प्रमुख विधिको रुपमा अपनाइरहेको अवस्था छ । यसरी लकडाउन गरिदा यो लकडाउन कति लम्बिने हो, हाम्रो देशमा कोरोना भाइरसको संक्रमण अवस्था कस्तो हुने हो र लकडाउन खुकुलो भए पनि विद्यालयहरू कलेज वा विश्वविद्यालयहरु कहिले खुल्ने भन्ने अन्योल कायमै छ । यस सन्दर्भमा लकडाउनका समयमा वालवालिकाले यसको सदुपयोग कसरी गर्ने र अभिभावक शिक्षक तथा स्थानीय प्रदेश तथा संघीय सरकारको भूमिका के हुने भन्ने बिषयमा केही व्यवहारीक पक्षहरु केलाउने प्रयास गरिएको छ । 

वास्तवमा हामिले कानूनी तथा सामाजिक मान्यताका रुपमा शिक्षा प्राप्त गर्ने माध्यम भनेको एऊटै मात्र विकल्प विद्यालयमा अनिवार्य उपस्थिति भएर मात्र प्राप्त हुन्छ भन्ने यथार्थलाई आजसम्म स्वीकार गर्दै र अपनाउदै आयौ । यसको विकल्पमा २०२८ सालदेखि हालसम्म कार्यान्वयनमा आएको शिक्षा ऐनमा न त केही नयाँपन थप गरयौ न त कुनै नयाँ अवधारणा कार्यान्वयन नै गरयौ । फलस्वरूप हाल विपत्ति वा कोरोना सन्त्रासको बीच विद्यालय कहिले खुल्छ भन्ने मानसिकता मात्र विद्यार्थी तथा अभिभावकमा रहनुले विद्यालय शिक्षाको विकल्प खोज्नु आवश्यक भएको छ । 

शिक्षा निरन्तर चलिरहने प्रक्रिया हो । यसको क्षेत्र अत्यन्त विशाल छ । शिक्षित र योग्य नागरिक कुनै पनि राष्ट्रका सम्पत्ति हुन् । देश निर्माणका लागि बहुआयामिक क्षमता भएका, गतिशील, सक्षम र चरित्रवान् नागरिकको उत्पादन गर्न शिक्षाको ठुलो महत्त्व रहेको हुन्छ । तसर्थ बालबालिकाहरुको वृद्धि र विकास सँगसँगै सिकाई क्रियाकलापलाई लकडाउनको समयमा कसरी उपयोगी वनाउन सकिन्छ भनी देहायमा उल्लेखित विकल्पहरु वर्तमान समय तथा परिवेशमा सार्थक हुने देखिन्छ।
१. खुला शिक्षा वा अनलाइन शिक्षा वा ई-लर्निङमा जोड

अहिले अधिकतर विद्यालयले विभिन्न एप्सका माध्यमबाट अनलाइन कक्षा सुरु गरेका छन् । क्याम्ब्रिज शब्दकोशका अनुसार ई–लर्निङ त्यस्तो शिक्षा प्रणाली, जसमा विद्यार्थी इन्टरनेट साइट, टेलिभिजन र रेडियो कार्यक्रममार्फत घरमै बसेर अध्ययन गर्छन । लकडाउनका समयमा शारीरिक तथा मानसिक विकासका लागि यस प्रकारको शिक्षा एउटा अचूक उपायका रुपमा देखा परेको छ । इन्टरनेटका माध्यमबाट दिइने शैक्षिक क्रियाकलाप तथा प्रक्रिया भएकाले यसलाई ई–लर्निङ वा ‘खुला शिक्षा’ पनि भनिन्छ । 

२ व्यवहारिक र व्यवसायिक शिक्षामा जोड

पूर्विय दर्शनले नै बालकको पहिलो पाठशाला घर र आमा-बुबालाई पहिलो गुरुको रुपमा स्वीकार गरेको छ । विडम्बना भन्नुपर्छ हामीकहाँ न त क्षमतायुक्त मानव संसाधन तयार गर्ने वैज्ञानिक शिक्षा पद्धति छ न त व्यवहारिक शिक्षालाई नै महत्व दिएको पाईन्छ ।  यसर्थ यस समयमा अभिभावकहरुले विद्यार्थीहरुलाई दैनिक पाठ्यपुस्तकका अतिरिक्त पृथक तर जीवनमा अति उपयोगी हुने व्यहारीक शिक्षा सिकाउने अवसरका रुपमा लिनुपर्छ । लेखक एरिन म्यागीले भनेजस्तै यो समयमा फस्ट एड  बकषअ षचकत आषम वा लुगाको व्वस्थापन वा कुन टुलले कसरी काम गर्छ जस्ता दैनीक प्रयोगमा आउने  विषयमा ज्ञान दिन सकिन्छ । 


३. गरेपछि जानिन्छ

कुचो, कुटो, हलो, कोदालो, डोरी, गुन्द्री, तान, ढिकि, जाँतो जस्ता परम्परागत ईन्जिनियरीङ् प्रविधीहरू परिस्कृत र उपयोगी बन्न सकेका छैनन् । यी परम्परागत ईन्जिनियरीङ् प्रविधीहरू वारे पनि ज्ञान दिन सकिन्छ । सिकाईमा स्थापित मान्यता 'लर्निङ बाइ डोइङ'लाई व्यवहारमा प्रयोग गर्ने । यस्ता व्यवहारिक घरायसी कामबाट बालबालिकाहरुले व्यावहारिक सीप तथा ज्ञानहरु सिक्न सक्छन । जस्तै फुलवारीमा पानी राख्न सिकाउनाले विरुवाप्रति उनीहरुको लगाव र माया वढछ । पुराना तस्बिरलाई सिर्जनात्मक ढङ्गबाट मिलाएर राख्ने काम दिन सकिन्छ । 
प्रविधिसँग नजिक भएका बालबालिकाहरुले यस समयमा विभिन्न सिप विकास गर्न सक्छन् । परिवारको भिडिओ बनाउने वा रुचिअनुसार ब्लग वा भिडिओ ब्लग तयार पार्न सक्छन् जसले उनीहरूलाई नयाँ कुरा सिकाउँछ, व्यस्त राख्छ र केही कुरा सम्पन्न गरेकामा सन्तुष्टि र खुसी मिल्छ जुन मानसिक स्वास्थ्यका लागि उपयोगी हुन्छ । त्यसैगरी अभिभावकहरुले सँगै वसेर आफ्ना बालबालिकाहरुको पठनपाठनमा सघाउ पुर्याउने, सरसफाई, घरायसी कामकाज जस्ता पक्षहरुमा ध्यान केन्द्रित गरी घरलाई मिनि-स्कूलको रुपमा स्थापित गर्ने । अभिभावकहरूले उनीहरूलाई त्यस्ता अनुभव र कथा पनि सुनाउन सक्छन् जस्ले मनोवल वढाउछ । 

४ फरक क्षमताको पहिचान

प्रत्येक व्यक्ति भिन्न र फरक क्षमताको हुन्छ। तसर्थ हरेक बालबालिकाहरुको भिन्नता र क्षमताको पहिचान गर्ने मौका हो यो । घरमै परिवारसँग मिलेर विभिन्न परिकार बनाउँदा खाना पकाउने रुचि बढेको, फूलबारीको काम गर्न थालेको, सङ्गीत, गायन एवं नृत्यतर्फ समय दिएको सिर्जनात्मक क्षमता सिकेको कुरा सामाजिक सञ्जालमा राख्ने किशोरकिशोरीको संख्या पनि उल्लेख्य छ । यध्यपी आफ्ना वच्चा के कुरामा ध्यान वढी दिएका छन त्यो विषयको पत्ता लगाई सोही वमोजिम संगीत, चित्रकला, बास्तुकला, गायन, नाँच, लेखन अभ्यास, सामग्री निर्माण, सुक्ष्म परियोजना कार्य आदिको लागि घरमा उपयुक्त वातावरण प्रदान गर्दै बालकमा अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्ने । 

५ स्व-अध्ययनको व्यवस्था र सचेतना

स्वअध्ययनको व्यवस्था अर्कौ महत्वपूर्ण सिकाई हुनसक्छ यो समयमा । जस्तै टेक्स्ट बुक, साहित्यिक, धार्मिक, वायोग्राफिकल पुस्तक, सन्दर्भ सामागीं, उपन्यास, चित्र भएका पुस्तकहरु उपलब्ध गराउने । सचेत वनाउनका लागि जस्तै सामाजिक दूरीमा रहँदा आफूलाई मात्रै नभई आफ्नो परिवार र समुदायलाई सहयोग गरिरहेको कुरा बताउने । यसको अर्थ कोरोना भाइरसबारे उनीहरूको बुझाइका कुरा गर्नेदेखि उनीहरूलाई सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल भएका मिथ्या सूचनाहरूबाट जोगाउने र आधिकारिक सूचनामा मात्रै विश्वास गर्न सिकाउने ।

६ खेल खेलाई र सिकाई तथा टिचिङ एप्सहरुको प्रयोग

शारीरिक र मानसिक रुपमा व्यस्त हुने खालका खेलहरुबाट पनि बच्चाहरुलाई सिकाईमा सक्रिय गराउन सकिन्छ। जस्तै:  पारिवारिक गेम (लुडो, क्यारमबोर्ड, ब्याडमिन्टन, बास्केटबल, कब्बडी) अन्ताक्षरी, शब्दजाल, पजल्स, आदिबाट अनुशासन तथा नीति नियम कानूनको पालनाका विषयमा ज्ञान प्रदान गर्ने । बजारमा विभिन्न टिचिङ एप्सहरु निर्माण भई पठनपाठनको लागि प्रयोग भईरहेको छ। जस्तै ई-मिदास(E-midas) लगायतका अन्य टिचिङ-लर्निङ एप्सहरुमा विद्यार्थीहरुको पहुँच पुग्नु आवश्यक छ। साथै गुगल लगायतका माध्यमवाट विभिन्न ब्राउजरहरुको पहिचान तथा अध्ययन कार्य गर्ने।

७ मनोवैज्ञानिक परामर्श दिने 

किशोरावस्थामा प्राकृतिकरूपमै मानिस आफ्नै उमेर समूहमा साथीहरूसँग बढी हिमचिम गर्ने, विचार र भावना साट्ने, विपरीत लिङ्गीप्रति आकर्षित हुने, जीवनका विभिन्न कुरालाई अथ्र्याउन खोजेर आफ्नो पहिचान खोज्ने कोसिस गरिरहेका हुन्छन् । यस समयमा अनायास आइपरेको बन्दाबन्दीको अवस्थाले उनीहरूको दैनिकी फेरिएको छ । विद्यालय वा कलेज जान पाएका छैनन् जसले गर्दा साथीहरूसँग समय बिताउन पनि पाएका छैनन् भने खेलकुद पनि छुटेको छ । तसर्थ रिसाएर होईन मनोवैज्ञानिकरुपमा परामर्श दिएर सकारात्मक सोचको विकास गर्ने । 

माथि उल्लेखित केही व्यवहारीक टिप्सले मात्र हालको समय सदुपयोगमा केही योगदान पुरयाएतापनि शिक्षक र अभिभावकले समेत महत्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ । अन्तमा शिक्षा क्षेत्रमा विकास तव संभव छ जव ३ तहका सरकारको समन्वयकारी भुमिका देखिन्छ तसर्थ यहाँ सवै पक्षको भूमिका वारे केही चर्चा गरिएको छ ।

अभिभावकको भुमिका

आम अभिभावकको भुमिका पनि लकडाउनमात्र होईन की वालवालिकाको सिकाईसँग पनि आवद्ध भएकाले महत्वपूर्ण छ । अभिभावकले धेरैजसो गुनासो गर्ने भनेको घरमा आफ्ना बालवालिका किताब कापीमा भन्दा मोबाइल टेलिभिजनमा झन् धेरै समय बिताउने, पहिलेभन्दा कम बोल्ने, एकोहोरो हुने, झर्कीफर्की बढी गर्ने र चाँडै रिसाउने गर्छन् । तर त्यसो भनेर उनीहरूलाई जबर्जस्ती त्यसबाट छुटाउन खोजियो भने त्यसले पक्कै राम्रो परिणाम ल्याउँदैन । त्यसैगरी अभिभावकले अनलाइन कक्षा भन्नेबित्तिकै सबै जिम्मा शिक्षकको मात्रै हो भनेर चुपलागेर बस्ने हो भनेपनि यसबाट अपेक्षित उपलब्धि हासिल गर्न सकिँदैन । 
तसर्थ ईन्टरनेटवाट हरेक समय उपलब्ध गेमवाट पार पाउँन शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको मिति २०७६/१२/१२ को पत्रबाट विभिन्न अनलाइन/पोर्टल/वेबसाईटको बारेमा सूचना प्रवाह गरेको हुनाले यी वेब-पोर्टलहरुको बारेमा व्यापक प्रचारप्रसार गरी ई-लर्निङमा जोड दिनुपर्दछ । कक्षा ६ देखि ८: अंग्रेजी, हिसाब, विज्ञान कन्टेन्ट- https://moest.himaldthtechies.com ई-पुस्तकालय निःशुल्क र खुल्ला डिजिटल लाइब्रेरी- https://pustakalay.org चिल्ड्रेन्स स्टरिज एन्ड गेम्स- https://pustakalay.org वाट समयको व्यवस्थापन गर्ने । 

फेरी यतिवेला लकडाउनका कारण अभिभावकसँगै बालबालिका पनि घरभित्रै कैद भएका छन् । बाहिर खेल्न जान पाएका छैनन् । यस्तो अवस्थामा उनीहरूलाई मनोवैज्ञानिक परामर्श जरुरी पर्छ । तर अनलाईनको निहुँमा बालबालिका चौबीसै घण्टा मोबाइल तथा कम्प्युटरमा भुलिन थाले र अभिभावकबाट निगरानी भएन भने अर्के नकारात्मक असर पर्न सक्छ । तसर्थ सकारात्मक निगरानी गर्नु अभिभावकको कर्तव्य हो । यो वेला अभिभावकले समेत कर्तव्य निर्वाह गर्दै कमजोर देखिएका विषयहरू जस्तो: इमान्दारिता र नैतिकताको विषय, अधिकारमुखी प्रवृत्ति, कसै उपरको अन्यायमा मौन रहने संस्कृति, दण्डहीनता, सभ्य संस्कार विकास नहुनु, लगायतका विषयहरूमा सुधार ल्याउनुपर्छ ।
 
शिक्षकको भूमिका

नेपालको शैक्षिक प्रणाली व्यावहारिक र जीवनउपयोगी देखिदैन। शिक्षालाई श्रमसँग जोड्न सकिएन भने त्यसले देशको विकासमा कुनै सकारात्मक प्रभाव पर्दैन। त्यसकारण शिक्षालाई व्यावहारिक, जीवनउपयोगी र संस्कारयुक्त बनाउनु पर्ने जरुरी देखिन्छ।लकडाउन सिद्धिएपछि स्वागत गर्न शिक्षकको जागिरले पर्खिरहेछ त्यसकारण शिक्षकहरुलाई यो व्यापक तयारीको समय उपलब्ध भएको छ । नया नया अनुसन्धान, पढाउने र सिकाउने शैलीको विकास गर्नमा यो समय उपयोग गर्ने र आफूमा निखार ल्याउनुपर्छ । समाजमा लकडाउन पालनालाई सहयोग गर्नु कर्तव्य हुनेछ । शिक्षकले सिकाईलाई प्रविधिसँग जोड्न सके व्यावहारिक एवं सरल समेत हुनेहुदा प्रविधीमैत्री हुने अवसर यो समयमा चुकाउनुहुदैन । प्रविधिलाई सदुपयोग गर्न सकियो भने यसले जीवनलाई सरल, सभ्य र संस्कारी समेत बनाउदछ।

संघीय सरकारको भूमिका

आर्थिक सर्वेक्षणअनुसार देशका जम्मा ७७.८प्रतिशत नागरिक विद्युतको पहुँचमा छन्  भने कूल जनसंख्यामध्ये ५८ प्रतिशत जनतामा मात्र इन्टरनेट सुविधा पुगेको छ । त्यसैगरी देशका २९ हजार ६ सय ७  सामुदायिक विद्यालयमध्ये कम्प्युटर सुविधा भएको विद्यालयको संख्या जम्मा ८ हजार ३ सय ६६ मात्र छ । यस अवस्थामा संघ सरकार मातहतको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सौजन्यमा एनटिभि प्लसबाट एसइई लक्षित भर्चुवल कक्षा  संचालन भएतापनि आगामी दिनमा सबै कक्षाका सबै विषयका भर्चुअल पाठहरू उत्पादन गरी सबै केन्द्रिय रेडियो र टेलीभिजनबाट सहकार्य र समन्वय गरी प्रसारण गर्ने व्यवस्था मिलाउनुपर्छ। 

फेरी पनि जब उही कक्षामा पढ्ने विद्यार्थीमध्ये एउटाको घरमा सम्पूर्ण सुविधा छ र उसले लगातार शिक्षकसँग सम्पर्क गर्न सकिरहेको छ भने अर्कासँग यी कुनै पहुँच नभएका कारण शिक्षा लिनबाट वञ्चित भइरहेको छ भने कसरी सबै बालबालिकाले अनलाइन शिक्षाबाट लाभ लिन सक्छन् ?यस पक्षमा पनि ध्यान पुर्‍याउन आवश्यक छ । यसर्थ संघीयताको सन्दर्भमा जनताका आकांक्षा झन् चुलिएका छन् अनेक इच्छाका विच इन्टरनेटको पहुँच वृद्धि गर्नु पनि सरकारको एक प्रमुख जिम्मेवारी हो । त्यसैगरी अवका दिनमा कोरोना जस्ता महामारी विपद परेको बेला इन्टरनेट र विद्धुत पहुच वृद्धि गरी विद्यालयबाट संचालन हुने शिक्षण सिकाई क्रियाकलाप (टिएलए) र मुल्यांकन प्रणालीलाई अनलाइन कोर्स पढाई र परीक्षा प्रणाली विकास गरी विद्यालयलाई विद्यार्थीको घर-घरमा पुर्याउनु पर्दछ। यसको लागि तहगत सरकारको बिचमा समन्वय र सहकार्यका आयामहरू, संरचनाहरू, क्रियाकलापहरू पहिचान गरी शिक्षा विकासमा ध्यान दिनुपर्नेछ ।

प्रदेश सरकारको भूमिका

अहिलेको कोरोना कालमा प्रदेश सरकारहरुले नेपालको शिक्षाको क्षेत्रमा औपचारिकता मात्र खोजी कार्यमा सिमित नराखी विद्यालयहरुको लागि अनलाइन कक्षा, डिजिटल कक्षा, भर्चुअल कक्षा, श्रव्य-दृश्य कक्षा जस्ता विभिन्न प्रविधिहरुको प्रयोग गरी सिकाई अगाडी बढाउन प्रोत्साहन र समन्वय गर्नुपर्दछ । त्यसैगरी प्रत्येक विद्यालयमा स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गर्ने विषयमा सोच्नुपर्ने देखिन्छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले प्रदेश अन्तर्गतको जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाई (इडिसियू)हरुसँग समन्वय गरी सिकाईको प्याकेज, अनलाइन कोर्सको निर्माण गरी शैक्षिक कार्यक्रम संचालन गर्न गराउन आवश्यक पहलकदमी चाल्नुपर्छ।

स्थानीय सरकारको भूमिका

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइएको हुँदा स्थानीय तहहरुले विद्यालयसँग समन्वय गरी स्थानीय रेडियो, एफएम, टिभिबाट 'घर घरमा सिकाई' कार्यक्रमको संचालन गर्ने । त्यसप्रकारका सुन्ने र देख्ने साधनको पहुँच नभएकोमा अनुदानवाट दिने व्यवस्था मिलाउने । त्यसैगरी नियमीत रुपमा विद्यालय अनुगमन गर्ने व्यवस्था मिलाउने । शिक्षा क्षेत्रमा देखिएको राजनीतिकरणलाई निरुत्साहन गर्नुपर्छ । स्थानीय पाठ्यक्रम तयार गरी आफ्नो ठाँउको जानकारी आम विदयार्थीसम्म पुर्याउने काम पनि स्थानीय निकायको नै हो । अन्तमा उत्पादनका साधनमध्येको मानव पूँजी र श्रम नै एकमात्र गतिशील साधन भएकोले उत्पादनमुलक र रोजगारमूलक मात्र हैन स्वस्थ, सकारात्मक सोच र अनुशासित नागरिक निर्माण गर्न शिक्षामा लगानी गर्न आवश्यक छ ।

(अर्याल नेपाल सरकारका उपसचिव हुन्)

नयाँ