arrow

लकडाउनको वास्ता नगरि बराहपोखरी पदयात्रा जाने बढे

logo
जनक श्रेष्ठ, रासस
प्रकाशित २०७७ वैशाख २५ बिहिबार
Barahapokhari_Gaunpalika.png

लमजुङ। वरिपरि सेताम्य हिमाल । हरियो खर्क र समथर मैदान । वनभरी फुलेका विभिन्न रङ्गका लालीगुराँसले बराहपोखरी तालको सौन्दर्य बढाएको छ ।

लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका र दोर्दी गाउँपालिकाको सिमानामा पर्ने बराहपोखरीबाट अन्नपूर्ण र मनास्लु हिमशृङ्खला अन्तर्गतका दर्जनौ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको बेवास्ता गर्दै भक्तजनहरु यतिखेर प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बराहपोखरी पुग्ने गरेका छन् ।

भगवान विष्णुको वासस्थान एवं थकाई मेटेको कथासँग जोडिएको धार्मिक, ऐतिहासिक बराहपोखरीमा केही दिनयतादेखि जिल्लाको विभिन्न स्थानबाट भक्तजन पुग्ने गरेका छन् । सो पोखरीमा आज वैशाख पूर्णिमा (बुद्ध पूर्णिमा)मा अन्य दिनभन्दा बढी भीडभाड भएको छ ।

वर्षेनी वैशाख पूर्णिमाको दिन भक्तजनको ठूलो भीडभाड लाग्ने गरेको छ । यस पोखरीमा नुहाउँदा वर्षौंदेखिको रोग निको हुने, सन्तान नहुनेहरुको सन्तान हुने, मुख नबोल्नेहरु बोल्ने र मनको कामना पूरा हुने जनविश्वास रहेको छ । यही जनविश्वास कायम राख्दै लकडानउनको समेत बेवास्ता गर्दै भक्तजनहरु त्यहाँ पुगेका छन् ।

केही दिनअघिसम्म दैनिक ५०-६० जना आन्तरिक पर्यटक बराहपोखरी पुग्ने गरेको भएपनि आज भने तीन-चार सयजना भक्तजन त्यहाँ पुगेका छन् । यसरी भीडभाड हुँदा कोरोना सङ्क्रमणको समेत उच्च जोखिम हुने चिकित्सकको भनाइ छ ।

मस्र्याङ्दी गाउँपालिकाका होमलाल तामाङले भने, “सरकारले लागू गरेको लकडाउनका बेला भए पनि यस गाउँपालिका हुँदै समूह समूहमा मानिसहरु बराहपोखरी जाने गरेका छन् ।” वैशाख महिना लागेदेखि दैनिक १०-१५ जनाको दुई-तीन वटा समूह त्यहाँ जाने गरेको उनको भनाइ छ ।

समुन्द्री सतहबाट तीनहजार ६ सय ५० मिटर उचाइमा रहेको बराहपोखरी मस्र्याङ्दी गाउँपालिकाको खुदी, भुलभुलेबाट भुष्मेहुँदै  जान सकिन्छ । त्यस्तै बेंसीसहरबाट चिति माझगाउँ, पुरानो दुबार हुँदै त्यहाँ जान सकिन्छ भने छिनखोला, दुबारबाट पनि एकै दिनमा बराहपोखरी पुग्न सकिन्छ ।

गाउँपालिकाबाट रोक

वैशाख ७ गते मस्र्याङ्दी गाउँपालिकाको गाउँ कार्यपालिका बैठकले बराहपोखरी नजानलाई नागरिकलाई अनुरोध गर्ने निर्णय र त्यहाँ जान लागेकालाई नाका नाकाबाट फिर्ता पठाउने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन गर्नका लागि पालिकाका वडाध्यक्षहरुले भक्तजन तथा तीर्थालुलाई रोक लगाउने काम भइरहेको गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताए ।

उनले भने, “हामीले त्यहाँ जानलाई रोक लगाए पनि केही दिनअघिबाट फटाफट मानिस भने जाने गरेको पाइएको छ ।” केही दिनअघि बराहपोखरी पुगेर फर्किईएका मस्र्याङ्दी गाउँपालिकाका सोभित पोख्रेलले भने, “हामी २१ जनाको समूहमा बराहपोखरी पुगेर आयौँ । वैशाख पूर्णिमाको दिन बढी भीडभाड हुने र कोरोना भाइरस सङ्क्रमणको जोखिम भएकाले केही दिनअघि गए पनि त्यहाँ विभिन्न स्थानबाट समूह समूहमा मानिस आएका थिए । घुम्न र धार्मिक आस्थाका साथ पुगेर आएको उनीहरुको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ