arrow

चिनियाँहरुले सुरक्षाकर्मीको रगत बगाउँदा तीन करोड नेपालीको रगत उम्लिएको छ

एउटा छिमेकीका नागरिक राजधानीमै आएर प्रहरी कुट्ने अर्को छिमेकी सीमा मिच्ने

logo
गोपालजंग थापा,
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
chinese-beat-nepalpolice.gif

आफ्नो देश जान पाउनु पर्ने माग राख्दै केहि थान चिनियाँहरु शुक्रबार नेपाल प्रहरी माथि नै जाइलागे । त्यो पनि देशको प्रशासनिक केन्द्रमा सिंहदरबार अगाडी।

अर्काको देशमा आएकाहरुले उल्टै त्यहि देशको सुरक्षाकर्मीमाथि आक्रमण गर्नु कति सम्मको अन्याय, अत्याचार र हेपाई हो ? असल छिमेकी मानिदै आएको चीनका नागरिकले सुरक्षाकर्मीलाई नै हमला गर्ने साहस कसरी गरे ? यो घटनाले चीनप्रतिको नेपालको छवी पनि नराम्मरी भत्केको छ। चीनलाई भयंकर मित्र मान्दै गर्दा चिनियाँ नागरिकको व्यवहारले आज आम नेपालीलाई आफ्नै देशभित्र लज्जित बनाएको छ। एक आम नेपाली आज अत्यन्तै निरिह महशुस गरिरहेको छ।

उसो त हाम्रा छिमेकी देशले नेपाल माथि थिचोमिचो गर्दै आएका ईतिहास आजको हैन लामो छ । यो कुरा फुर्सदमा गरौला । सिमा क्षेत्रमा विवाद, झडप हुनुलाई स्वभाविक पनि मान्न सकिएला । तर मुलुकको संघीय राजधानी काठमाडौंमा आएर नै सुरक्षाकर्मीलाई आक्रमण गर्नेहरुले अरु सामान्य सर्वसाधारणलाई झन के सोच्लान ?

आफ्नो देशको उकुसमुकुस  हटाउने ठाउँ चिनियाँहरुले नेपालको भूमिलाई ठान्ने भूल गरेका छन्। यो भूलको सजायँ उनीहरुले पाउनै पर्छ। यो बारेमा चीनको आधिकारीक धारणा के हो सरकारले सोध्नुपर्छ। हामी नागरिक त्यति आँट सरकारले गरोस भन्ने पनि चाहन्छौ। तर उसैको कृपामा थेगिएको सरकारले त्यो प्रश्न गर्ने आँट गर्ला गम्भिर प्रश्न अगाडी छ।  

के ति चिनियाँहरुले नेपाल प्रहरीलाई आक्रमण गरे पछि मात्र आफ्नो देश जान पाउथे होला र ? यसको गम्भीर रुपमा छानविन गरी दोषी माथि हदैसम्मको कार्वाहि गर्ने आँट नेपाल सरकारले गर्छ की गर्दैन होला ?

खुट्टी हेर्दै चाल पाए भने झै सरकारले कार्वाहीको क पनि उच्चारण गर्ने हिम्मत राख्छ भन्नेमा शंका छ।निषेधित क्षेत्रमा लकडाउनको अवज्ञा गर्दै चिनियाँहरुले हाम्रा सुरक्षाकर्मीलाई आएर मुक्का हानी सकेको समाचारमा आइसकेको छ। छैन भने गृहमन्त्रीज्यू सीसीटीभीको फुटेज मगाएर हेरे हुन्छ। तर कहि पनि कार्वाहीको लागि खुट्टा कमाउन स्विकार्य छैन। सत्ता र पदको लालचमा एक आपसमा गुटबन्दी र कुर्ची तानातानमा फुर्सद मिलेको भए सरकारले आफ्ना सुरक्षाकर्मी कुटिएको थाहा नपाए झै नगरोस। कुटाई प्रहरीले खाएका छन् । रगत तिनको वगेको छ तर रगत तीन करोड जनताको उम्लेको छ त्यो दृश्य देख्दा। 

यता चिनियाँबाट सुरक्षाकर्मी नै असुरक्षित रहेर कुटाइ खाएका बेला हाम्रो नेपाली भूमि लिपुलेकमा भारतले कैलाश मानसरोवार जाने सडक बनाएर उद्घाटन गरिसक्यो । संयोग नै मान्नुपर्छ एउटा छिमेकीले अन्तराष्ट्रिय सिमा सन्धी र सम्झौताको धज्जी उडाउदै सडक उद्घाटन गरेकै दिन अर्को छिमेकी देशका नागरिकले देशको संघीय राजधानीमा सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए ।  

सरकार, यी दुई घट्नाले आज सिंगो नेपालीको रगत झन तातेको छ । सकिन्छ उच्चस्तरीय संयन्त्र मार्फत सिमा विवाद छिटो टुंग्याऊ । सकिदैन भने सिमाको छिनोफानो कसरी गर्ने त्यो जिम्मेवारी नेपाली जनतालाई देऊ ।

सक्छौ भने हाम्रा सुरक्षाकर्मीमाथि मुक्का हानेर रगत निकाल्ने चिनियाँहरुलाई कार्वाही गर । त्यो पनि सक्दैन भने देशको सपुतलाई हात उठाउनेसँग बदला कसरी लिनुपर्छ नेपाली जनतालाई राम्रोसँग थाहा छ । देशको सिमाना मिचिदै गर्दा, आफ्नो देशको प्रहरी माथि आक्रमण हुँदा हामी कसरी सहेर बस्न सक्छौ ? जवाफ चाहियो सरकार । हामी कसैको अन्याय र अत्याचार सहन सक्दैनौ । हामी कसैको दास होइनौ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ