arrow

केपी सरकार नालायक र लम्पसारवादी भएको नेबिसंघको ठहर, आन्दोलनको चेतावनी

logo
प्रकाशित २०७७ वैशाख २७ शनिबार
nsu-rajib.jpg

काठमाडौं। नेबिसंघले वर्तमान केपी ओली नेतृत्वको सरकार नालायक र लम्पसारवादी भएको बताएको छ। अध्यक्ष राजिव ढुंगानाले एक वक्तव्य निकाल्दै नेपालको सीमा रक्षा गर्ने विषयमा गम्भीर भई तदारुकता नदेखाउने वर्तमान नालायक सरकारको लम्पसारवादी प्रवृत्तिको बिरोध गरेका छन्। 

चीनको मानसरोवरसम्म पुग्न नेपाली भू–भाग लिपुलेक हुँदै सडक निर्माण गरि उद्घाटन गरिएको समाचारले स्तब्ध भएका उल्लेख गर्दै ढुंगानाले केही समय अघि नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पीयाधुरा भारतले आफ्नो नक्सामा राखी प्रकाशित गर्नु र अहिले उक्त भू–भागमै भारतीय राजमार्ग निर्माण गरि उद्घाटन समेत हुनु अत्यन्तै खेदजनक कार्य भएको बताएका छन्। 

नेपालको सहमति विना नेपाली भू–भाग प्रयोग गर्न भारत र चीन दुबै सहमत हुनु त्यतिकै खेदजनक कार्य भएको नेविसंघको वक्तव्यमा उल्लेख छ। 

आफ्नो सीमा मिचिँदा पनि थाहा नपाए झैँ गरी चुप लागेर बस्ने वर्तमान सरकारको गतिविधीले थप सशंकित बनाएको जनाउँदै अध्यक्ष ढुंगानाले कतै यही सरकारको साथ र समर्थनमा यस्ता गम्भीर कार्य भइएरहेको त छैन भनि प्रश्न गरेका छन्। 

चुनावको समयमा राष्ट्रियताका ठूला र खोक्रा नारा दिने सरकारका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको लम्पसारवादी प्रवृत्ति, भारतको मिचाह प्रवृत्तिभन्दा पनि खतरनाक रहेको ढुंगानाको वक्तव्यमा उल्लेख छ। 

भारतले नेपाली भूभागमा बनाएको बाटोको बारेमा सरकारले नेपाली जनता समक्ष आफ्नो धारणा तुरुन्त प्रष्ट पार्न माग गर्दै नेविसंघले उच्च स्तरीय कुटनीतिक पहल गरी आफ्नो भूमी फिर्ता लिन आह्वान गरेको छ। 

चुनावका समयमा राष्ट्रियताका उग्र कुरा गरी जनता झुक्याई भोट लिने, सरकारमा पुगेपछि खुल्लम्–खुल्ला सीमा मिचिँदा पनि चुप लागेर बस्ने प्रवृत्तिले सरकारको असली अनुहार जनता सामू प्रष्ट भएको नेविसंघको वक्तव्यमा उल्लेख छ। 

नेविसंघले भारतको मिचाहा प्रवृत्तिको विरुद्धका साथै वर्तमान नालायक सरकारको लम्पसारवादी प्रवृत्ति विरुद्ध पनि कडा सडक आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ। 

हाम्राकुरासँग कुरा गर्दै महामन्त्री युवराज पाण्डेले लकडाउनकै बीचमा पनि नेविसंघले सामाजिक दुरी कायम गर्दै बिरोधका कार्यक्रम देशैभरि गर्ने तयारी गरेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ