arrow

राखेपले भन्यो, ‘मुद्दा फिर्ता लिनुस्, एउटै क्रिकेटसंघ बनाऔंं’

logo
प्रकाशित २०७३ वैशाख २० सोमबार
CAN-&-CORT.jpg.jpeg
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको निलम्बनमा परेको नेपाल क्रिकेट संघ क्यानमा एउटै स्वतन्त्र समिति बनाउनेबारे राष्ट्रिय खेलकुद परिषद् राखेपले नयाँ प्रस्ताव गरेको छ । 
 
राखेप सदस्य–सचिव केशवकुमार विष्टले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै क्यानको निर्वाचित समितिका लागि शून्यबाट प्रक्रिया सुरु गर्न आफुहरु तयार रहेको भन्दै प्रस्ताव अघि सारेका हुन् । उनले क्यानको निर्वाचित समितिले सर्वोच्चमा दायर गरेको मुद्दा फिर्ता लिन आग्रह गर्दै मुद्दा फिर्ता भए आफुहरुले गठन गरेको तदर्थ समिति विघटन गरेर शून्यबाट सुरुवात गर्न तयार रहेको सुनाए । 
 
चतुरबहादुर चन्द नेतृत्वको निर्वाचित क्यानले राखेपले हस्तक्षेप परी तदर्थ समिति गठन गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेको थियो । मुद्दा अहिले विचाराधिन छ । 
 
मुद्दा अदालतमा यथास्थितिमा रहेकाको अवस्थामा राखेपले गठन गरेको तदर्थ समिति भंग गर्न नमिल्ने बताउँदै सदस्यसचिव विष्टले निर्वाचित समितिले मुद्दा फिर्ता लिएको खण्डमा तदर्थ समिति विघटन गरी राखेप नयाँ क्यान गठन गर्न तयार रहेको बताए । दुवै पक्ष सहमत भए एउटा निर्वाचन कमिटी बनाएर अघि बढ्न सकिने सदस्यसचिवको भनाई छ ।    
 
क्यान निलम्बनमा राखेपको कुनै दोष नरहेको जिकिर गर्दै विष्टले प्रक्रिया पूरा नभएकाले निर्वाचित समिति वैध मान्न नसकिएको हो । यसअघि, उनले नामिवियाको क्रिकेट घरेलु मैदानमा हुन नसक्ने चर्चाकाबीच मुद्दा फिर्ता लिन आग्रह गरेका थिए । 
 
राजधानीको होटल राजघरानामा भएको साधारण सभाबाट गएको पुस १ गते चतुरबहादुर चन्दको नेतृत्वमा क्यानको निर्वाचित समिति गठन भएको थियो । निर्वाचन नगर्न भनेकामा नवरजस्ती गरेको भन्दै राखेपले चन्द नेतृत्वको क्यानलाई अवैधानिक भन्दै पुस १८ मा रमेश सिलवालको संयोजकत्वमा तदर्थ समिति गठन गरिदियो । 
 
तदर्थ समिति गठन पश्चात चन्द पक्षले सर्वोच्चमा मुद्दा दायर गरेको हो । रमेश सिलवालले दुई पटक तदर्थ समितिको मुद्दा खेपेका छन् । पहिले तत्कालिन खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले गठन गरेको तीन सदस्यीय तदर्थ समतिमा सिलवाल महासचिव थिए । विनय पाण्डे त्यसको संयोजक थिए । त्यतिवेला समेत सर्वोच्चमा मुद्दा परेको थियो । 
 
प्रेस विज्ञप्ति
 
 
आदरणीय पत्रकार मित्रहरु,
 
                नेपाली क्रिकेटको वर्तमान अवस्थाबारे धारणा सार्वजनिक गर्ने उद्देश्यसाथ राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको आजको यस पत्रकार सम्मेलनमा उपस्थित पत्रकार मित्रहरुलाई सर्वप्रथम कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु ।
पत्रकार मित्रहरु,
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको खबरले सबैलाई दुखी तुल्याएको छ । राष्ट्रिय खेलकुद परिषद्ले पनि यस घटनालाई गम्भीर रुपमा लिएको छ । तथापी आईसीसीले क्यान निलम्बनको औपचारिक जानकारी राष्ट्रिय खेलकुद परिषद्लाई गराएको छैन । सार्वजनिक माध्यममा आएअनुसार आईसीसीले अदालतमा परेको मुद्दा तथा निष्पक्ष र स्वतन्त्र निर्वाचनलाई मुख्य आधार बनाएर क्यान निलम्बन गरेको छ । उसले सरकारको हस्तक्षेप स्वीकार्य नहुने पनि भनेको छ ।
 
हाल आईसीसीले औपचारिक रुपमा क्यान निलम्बन गर्ने निर्णय लिएपनि करिब दूई वर्ष अघिदेखि नै क्यान अघोषित रुपमा निलम्बन सरहको अवस्थामा रहेको कुरा सबैलाई जानकारी भएकै हो । क्यान भित्रको अपरादर्शिता, कानुन र विधि मिच्ने जस्ता गैरजिम्मेवारीपन क्रियाकलापका कारण आईसीसीले करिब दुई वर्षदेखि नै क्यानलाई दिने अनुदान रोक्का गर्दै आएको छ ।अबको सन्दर्भमा क्रिकेटको भविष्यका निम्ति आपसी विवाद र व्यक्तिगत महत्वकांक्षा त्यागेर अगाडि बढ्नुपर्ने अवस्था सिर्जना भएको छ । क्रिकेटको विकासका लागि सबै पक्षलाई एकै स्थानमा ल्याएर विवाद समाधान गर्नका लागि राष्ट्रिय खेलकुद परिषद्ले पहल सुरु गरिसकेको छ ।
 
राखेप जहिले पनि संघ पारदर्शी, विधिसम्मत र संस्थागत रुपमा संचालन भएको हेर्न चाहन्छ । यसको पालना सबै पक्षबाट हुनुपर्छ । आइसीसीको निर्णयबाट सबै पक्षले ज्ञान लिँदै हातेमालो गरेर अगाडि बढ्नुपर्ने कुरामा म जोड दिन चाहन्छु र सम्बन्धित सबै पक्षलाई समस्या समाधानका लागि भूमिका निर्वाह गर्न आग्रह समेत गर्दछु । क्यानसम्बन्धी अदालतमा मुद्दा विचाराधिन छ । अदालतमा विचाराधिन रहेको मुद्दालाई हामीले चाहेर पनि केही गर्न सक्ने अवस्था रहँदैन ।
 
त्यस कारण तत्काल समस्या समाधानका लागि सम्बन्धित पक्षले अदालतबाट मुद्दा फिर्ता लिएर विवाद मिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । साथै सम्पूर्ण खेलाडी, क्रिकेट प्रेमीमा उत्साह बढ्ने गरी एकताबद्ध भई अगाडि बढ्नका लागि समेत आग्रह गर्न चाहन्छु ।
सबै पक्षले तिक्ततालाई त्यागेर संघलाई नयाँ शिराबाट शुरु गर्नका लागि यो अवसर पनि हो । हिजोका गल्ती कमजोरीबाट पाठ सिक्दै आ–आफै आत्मसमीक्षा गरेर क्रिकेट खेलको विकासका लागि सहकार्य र सहमतिको बाटो अवलम्बन गर्नुको विकल्प छैन । त्यसका लागि सबैले आफ्नो हठ त्याग गर्दै हातेमालो गर्नका लागि राखेप अनुरोध समेत गर्दछ  । धन्यवाद ।
 
केशवकुमार विष्ट
सदस्य–सचिव
राष्ट्रिय खेलकुद परिषद्
मिति २०७३ साल बैशाख २० गते ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ