arrow

जनता समाजवादीमा कम्युनिस्ट आर्दश मान्ने कि लोकतान्त्रिक आर्दश मान्नेमा नेताहरू विभाजित

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
janata-samajwadi-party.jpg

काठमाडौं। नव गठित समाजवादी पार्टीमा कम्युनिष्ट आइडोलोजी (सिद्धान्त)लाई स्विकार गर्ने कि लोकतान्त्रिक आइडोलोजी स्विकार गर्ने भन्नेमा पार्टीका शिर्ष नेताहरूवीच विवाद देखिएको छ।

४ दिन अघि विधान मस्यौदा समितिले बनाएको विधान र घोषणा पत्रको मस्यौदालाई जनता समाजवादीका नेता महन्थ ठाकुर, शरतसिंह भण्डारी, राजकिशोर यादव लगायतका नेताहरूले आपत्ति जनाए पछि फेरि नयाँ मस्यौदा बनाउन लगाइएको छ ।

मस्यौदा समितिमा राजेन्द्र श्रेष्ठ, नवराज सुवेदी, सर्बेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन्। यी मध्ये श्रेष्ठ पूर्व एमाले हुन भने सुवेदी पूर्व नयाँ शक्तिका नेता हुन्।

स्रोतका अनुसार मस्यौदामा कम्युनिष्ट विचारबाट प्रभावित शब्दहरू राखिए पछि ठाकुर लगायतका नेताहरूले आपत्ति जनाएका हुन् । जनता समाजवादी पार्टी लोकतान्त्रिक विचार र आर्दशबाट प्रभावित हुनुपर्ने ठाकुर लगायतका नेताहरुको अडान छ । लोकतान्त्रिक आदर्शबाट निर्देशित भइ सोही अनुसार विधान र घोषणा पत्रमा लोकतान्त्रिक समाजवादीको शब्द राख्नु पर्ने उनीहरूको भनाइ रहेको स्रोतको भनाइ छ । 

स्रोत भन्छ, तर विधान र घोषणा पत्रमा मदन भण्डारीले बहुदलीय जनवादमा प्रयोग गरेका केही शब्दहरु समेत राखिए पछि जनता समाजवादीका नेताहरू एक मत हुन नसकेका हुन् । विधानमा कम्युनिज्म शब्द राख्नुमा श्रेष्ठको भुमिका महत्वपूर्ण रहेको ठाकुर लगायतका नेताहरूको बुझाई छ । 

पूर्व राजपाका एक नेता भन्छन, 'एकीकृत पार्टी लोकतान्त्रिक आइडोलोजिबाट गाइडेड हुनु पर्छ हामी सबैको भनाइ हो तर विधान कम्युनिष्ट विचारलाई प्राथमिकता दिए पछि हाम्रो आपत्ति रहेको हो।’

जनता समाजवादी पार्टीका शिर्ष नेताहरू फरक फरक विचार समुह र स्कूलिङबाट आएका छन् । कुनै नेताको पृष्ठभूमि नेपाली कांग्रेससँग सम्बन्धित छ भने कसैको पूर्व एमालेको छ । कुनै नेताको पुष्ठभूमि पूर्व माओवादीको छ । अशोक राई लगायतका नेताहरूले यसअघि तत्कालिन एमालेबाट विभाजित भइ जनजाती पार्टी गठन गरेका थिए । ‘ पार्टीका नेताहरू फरक फरक धरातल र स्कूलिङबाट आएकोले घोषणा पत्र र मस्यौदामा सबैको एउटै सिद्धान्त र एउटै विचार बनाउन मस्यौदा समितिलाई किनै कठिनाइ भएको छ ।’ स्रोतले भन्यो । 

यता, पार्टीको मयार्दाक्रमको विषयमा पनि विवाद टुंगिएको छैन । पार्टीको नेतृत्व मण्डल कस्तो बनाउने भन्ने विषयमा पार्टीका शिर्ष नेताहरु अझै एक ठाउँमा पुग्न सकेका छैनन ।

वैशाख १० गते राती भएको सहमतिमा एकीकृत पार्टीको पहिलो अध्यक्षमा महन्थ ठाकुर दोश्रो अध्यक्षमा बाबुराम भट्टराईलाइ राख्ने मात्र सहमति भएको थियो । त्यसपछि अरू विषयमा सहमति भएन ।

तेश्रो मयार्दाक्रममा उपेन्द्र यादवलाई राख्ने सम्भावना रहेको स्रोतको भनाइ छ । चौथौ मयार्दामा राजेन्द्र महतोलाई राख्ने कि अशोक राईलाई राख्ने भन्नेमा सहमति भएको छैन । यसैगरी पार्टीको कार्यकारिणी अधिकार ठाकुर, भट्टराई र यादव मध्ये कसलाई दिने भन्नेमा अझै टुंगो लागेको छैन।

पूर्व राजपाका नेताहरूलाई पहिलो मर्यादामा ठाकुरलाई राखे पछि कार्यकारी अधिकार पनि ठाकुरलाई दिनु पर्ने अडान राखेका छन भने पूर्व नयाँ शक्तिका नेताहरूलाई ठाकुरलाई मानार्थ अध्यक्ष र भट्टराइलाई कार्यकारी अध्यक्ष दिनुपर्ने तर्क राखेका छन् ।

यादव निकट नेताहरूले उपेन्द्रलाई कार्यकारिणी समितिको अध्यक्ष बनाउनु पर्ने सुझाव राख्दै आएका छन्।तत्कालिन समाजवादी पार्टीमा भट्टराई राष्ट्रिय परिषदका अध्यक्ष तथा यादव कार्यकारिणी समितिका अध्यक्ष थिए। तत्कालिन समाजवादी पार्टी झै उपेन्द्रलाई कार्यकारिणी समितिको अध्यक्ष बनाउनु पर्ने अडान तत्कालिन यादव निकट नेताहरूको छ । 

यसैगरी,सुरुदेखि नै असन्तुष्टि जनाएका अनिल र राजकिशोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि नव गठित जनता समाजवादी पार्टीमा अर्को चुनौती थपिएको छ । 

यसैगरी एकीकृत पार्टीका नेताहरूले नव गठित पार्टीको केन्द्रीय समितिको आकार कस्तो बनाउने भन्ने विषयमा पनि गृहकार्य सुरु गरेका छन् ।

दुवै पार्टीका केन्द्रीय सदस्यहरूलाई एकीकृत पार्टीको केन्द्रीय सदस्य बनाउँदा नव गठित पार्टीमा केन्द्रीय सदस्यको संख्या मात्र करिब १३ सयको हाराहारीमा बनाउनु पर्ने हुन्छ । यती ठूलो संख्यामा केन्द्रीय समिति बनाउन नहुनेमा दुवै पार्टीका नेताहरूले सहमति जनाएको स्रोतको भनाइ छ । वैशाख १० गते मध्यरातमा तत्कालिन राजपा र समाजवादीवीच एकीकरण भइ जनता समाजवादी पार्टी गठन गरिएको थियो ।  

कानुन अनुसार पार्टी एकीकरण गर्ने सहमतिलाई दुवै पार्टीको केन्द्रीय समितिको बैठकबाट अनमोदन गराउनु पर्छ । निर्वाचन आयोगमा निबेदन दिएको ४५ दिनभित्र सबै कागजातहरू आयोगमा बुझाउनु पर्ने कानुनी व्यवस्था छ ।

उक्त व्यवस्था अनुसार अहिले  दुवै पार्टीले आफ्ना केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गर्न सुरु गरेका छन् । यसकोलागि दुवै पार्टीका नेताहरूले जिल्ला जिल्लामा खाली कागज पठाएका छन् ।

खाली कागजमा केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरी काठमाडौं बुझाउन मातहतका समितिहरुलाई अह्राइएको छ । राजपामा करिब साँढे सात सय र समाजवादीमा करिब साढे ४ सय केन्द्रीय सदस्य छन् । ती मध्ये धेरै जसो अहिले काठमाडौं बाहिर छन् ।

लक डाउनका बेला केन्द्रीय समितिको बैठक बोलाउन सम्भव नभए पछि जिल्ला जिल्लाबाट हस्ताक्षर संकलन गर्न सुरु गरिएको पार्टीका नेताहरूले जनाएका छन् ।

पार्टीको विधान, घोषणा पत्र, तथा संगठनात्मक संरचनामा टुंगो नलागेकोले आयोगमा डकुमेण्ट बुझाउन नसकिएको पार्टी एक नेताले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ