arrow

लिम्पयाधुरा सहितको नक्सा जारी गर्ने सरकारको घोषणा, भारतीय सेनाध्यक्ष भन्छन नेपाललाई कसैले उचाल्यो

भारतीय सेनाध्यक्षको इसारा चीनतर्फ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २ शुक्रबार
Gen-MM-Naravane.gif

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापनी क्षेत्र नेपालको भूमि भएको र त्यसलाई प्राप्त गर्न ठोस पहल गर्दै उक्त भूमिलाई समेटेर नेपालको नक्सा जारी गर्ने बताइरहँदा भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवानेले कालापानी क्षेत्रमा भारतले बनाएको सडकबारे नेपालले जनाएको आपत्ति अरू कसैले उचालेर भएको आरोप लगाएका छन्।

भारतीय रक्षा मन्त्रालयअन्तर्गतको थिंक ट्यांक द मनोहर पर्रिकर इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आइडिएसए) ले शुक्रवार गरेको एक कार्यक्रममा बोल्दै सेनाध्यक्ष नरवानेले कालापानी क्षेत्रमा नेपाली पक्षले आपत्ति जनाउनु पर्ने कुनै कारण नभएको बताए। उनले नाम नलिइकन चीनले उचालेर नेपालले विरोध गरेको जिकिर गरेका हुन्।

भारतले बनाएको रोडमा नेपालले जनाएको आपत्तीप्रति उनले आश्चर्य व्यक्त गरे। भारतीय स्थल सेनाध्यक्ष नरवानेले भने, "काली पूर्वको भाग नेपालको हो। रोड काली पश्चिम बनेको छ। यहाँ कुनै विवाद छैन। तर नेपालमा किन विरोध भइरहेको छ।"

विगतमा कुनै समस्या नरहेको उल्लेख गर्दै नरवानेले अहिले कसैले उचालेको भरमा यो बिषयलाई उठाउने काम भइरहेको छ। उनको सोझो इसारा चीनतर्फ थियो। 

भारतका रक्षा मन्त्री राजनाथ सिंहले गत साता धार्चुलाबाट मानसरोवर जोड्ने सडकको ट्र्याकको उद्घाटन गरेका थिए। नेपाली भूमिमा भारतले एक पक्षीय रूपमा सडक बनाएको भन्दै नेपालले कडा आपत्ति जनाएको छ।

परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाई कूटनीतिक नोट दिएको थियो। भारतीय कदमको विरोधमा नेपालमा लकडाउनको अवज्ञा गर्दै देशका विभिन्न भागमा प्रदर्शन भएका छन्।

यसबारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेका छन्। नेपालका सबै दलले भारतले कालापानी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको भन्दै त्यसलाई फिर्ता ल्याउन कूटनीतिक पहल थाल्नुपर्ने सुझाव दिएका छन्। सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गर्ने घोषणा गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ