arrow

वालिङ नगरपालिका जमानी बसेर बैंकमार्फत ऋण दिन शुरु

logo
तोलाकान्त बगाले,
प्रकाशित २०७७ जेठ ३ शनिबार
bank3.jpg

वालिङ। नगरभित्रका कृषि तथा पशुपालन व्यवसायीलाई वालिङ नगरपालिका जमानी बसेर ऋण उपलब्ध गराउन शुरु गरेको छ। आफूले गर्दै आएको व्यवसायमा आर्थिक अभावका कारण व्यवसायबाट विस्थापित हुन नदिने र थप ऊर्जा दिनका लागि स्थानीय सरकारको रूपमा रहेको वालिङ नगरपालिकाले सुरक्षा कवचको रूपमा जमानी बसेर ऋण उपलब्ध गराउने अभियानको थालनी गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए।

नगरभित्रका वडामा तरकारीजन्य उत्पादन तथा पशुपालनसम्बन्धी व्यावसायिक कृषकहरु उत्पादनमा संलग्न हुँदाहुँदै लकडाउनका कारण परेको असर, महामारी, दैवी विपत्ति र अन्य विपद्का कारणले पेशा व्यवसायबाट नै विस्थापित हुन नदिन वालिङस्थित बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी ऋण उपलब्ध गराउने अभियानको थालनी गरेको नगरप्रमुख खाँणले बताए।

“नगरभित्रका व्यवसायीलाई व्यवसाय सञ्चालनलाई आर्थिक अभाव भएमा नगरपालिकाको पशु विकास तथा कृषि विकास शाखामा निवेदन दिनुपर्छ”, नगरप्रमुख खाँणले भने, “सिफारिसका आधारमा वालिङस्थित बैंक तथा वित्तीय संस्थामा वालिङ नगरपालिका धितो जमानी बसेर तत्काल राहतस्वरुप आवश्यक ऋण उपलब्ध गराउँछौँ, यस कार्यको थालनी नगरपालिकाले शुरु गरेसँगै व्यवसायीले ऋण प्राप्त गरिसक्नुभएको छ ।”निश्चित समयका लागि ऋण उपलब्ध गराएको नगरप्रमुख खाँणले बताए।

वालिङ–९ मा अवस्थित जिल्लाकै उत्कृष्ट एवं नमूना बङ्गुरपालन फार्मका रूपमा स्थापित इन्द्रेणी बङ्गुरपालन फार्ममा लकडाउनका कारण बङ्गुरका माउ तथा पाठापाठी बिक्री गर्न नपाउँदा राख्ने ठाउँको अभाव तथा दानापानीको अभाव भएपछि नगरपालिका जमानी बसेर उपकार बचत तथा ऋण सहकारी संस्था वालिङबाट रु १० लाख ऋण उपलब्ध गराएको छ।

नगरपालिकाले उपकार बचत तथा ऋण सहकारी संस्थालाई ऋण उपलब्ध गराइदिन पत्राचार गरेसँगै सहकारीले ‘सरकारी जमानतमा आपतकालीन ऋण लगानी कार्यविधि’ बनाएर सोही कार्यविधिअनुरुप छ महिनाका लागि बिनाधितो रु १० लाख ऋण उपलब्ध गराएको संस्थाका अध्यक्ष भरतप्रसाद बगालेले बताए।

“नाफा कमाउनेभन्दा सेवामुखी हुनुपर्छ भन्ने मान्यता अनुसार अहिलेको कोभिड–१९ को महामारीमा व्यवसायीलाई सहयोग गरी प्रोत्साहन दिने हेतुले सहयोग गरेका हौँ”, अध्यक्ष बगालेले भने। लकडाउनका कारण फार्ममा रहेका बङ्गुरका पाठापाठीहरु बिक्री गर्न समस्या भयो, जसले गर्दा फार्ममा पाठापाठीको सङ्ख्या वृद्धि हुँदै जाँदा पाल्न समस्या भएर नगरपालिकामा सहयोगका लागि अनुरोध गरेको फार्म सञ्चालक भीम लुइँटेलले बताए।

व्यवसायी लुइँटेलले भने, “प्राप्त रकमले बङ्गुरका पाठापाठी राख्नका लागि खोर तथा दानापानीमा खर्च गर्ने तयारीमा छु।” नगरपालिका जमानीमा बसेर व्यवसायीलाई ऋण उपलब्ध गराउनुपूर्व पनि वालिङ नगरपालिकाले कृषकलाई ब्याजबिना नै बीउ पूँजी उपलब्ध गराउँदै आएको छ। 

रकमको अभावमा पेशाबाट विस्थापित हुने अवस्था आउन नदिने र दैनिक विदेशी भूमिमा रोजगारीका लागि जाने युवायुवतीलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले बीउ पुँजीको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ। बीउ पूँजीका लागि न्यूनतम रु ५० हजारदेखि अधिकतम रु पाँच लाखसम्म अवस्था हेरि उपलब्ध गराइने छ।

नगरपालिकाले तरकारी खेती गर्ने किसानका लागि छ महिनादेखि एक वर्ष, पशुपालनका लागि एक वर्ष र फलफूल खेतीका लागि दुई वर्षको अवधि रहने गरी बिनाब्याज बीउ पूँजी उपलब्ध गराउने नगरप्रमुख खाँणले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ