arrow

मदन आश्रित स्मृती दिवसः प्रश्नको घेरामा विद्या भण्डारी र केपी ओली

logo
लोकेश ढकाल,
प्रकाशित २०७७ जेठ ३ शनिबार
lokesh-dhakal.gif

आज जेष्ठ ३ गते । आजैका दिन २७ वर्ष अगाडी मदन भण्डारी र जीवराज आश्रितको चितवनको दासढुंगामा संकास्पद सडक दुर्घटनामा निधन भएको थियो । वितेको यी २७ वर्षमा मदन भण्डारी र जीवराज आश्रित डुवेको नारायणी नदिमा कति पानी वग्यो !  देशको राजनीतिमा कति उलटपुलट भयो त्यसको कुनै लेखाजोखा छैन। तर नेकमा मदन भण्डारीको विचार र उनको लास माथि राजनीति गर्ने क्रम अहिलेसम्म रोकिएको छैन ।

मदन र आश्रित यी दुई वामपन्थी नेताले नेतृत्व गरेको, जीवन विताएको कम्युनिस्ट पार्टी तत्कालिन एमाले सरकारमा कति पटक पुग्यो ? खण्ड-खातिरले आज मदन-आश्रित कै कार्यकर्ता क. केपी शर्मा ओली देशको शक्तिशाली प्रधानमन्त्री छन्, मदनकै विधवा पत्नी क. विद्या भण्डारी देशको राष्ट्रपति छिन् तर यी कसैलाई मदन भण्डारी र आश्रितको मृत्युको रहस्य पत्ता लगाउनेतर्फ कुनै चासो देखिंदैन । काँग्रेसले वीपीको विचार र चिन्तनलाई पुरै छोडेर, उनलाई विर्सेर केवल वर्षको एकाध दिन केवल फुल चढाएर सम्झिए जस्तै आज कोरोना महामारीको लक-डाउनका बीच नेकपा नेताहरू नक्कली आँसु झार्दै कतै मदन-आश्रितको स्मृतिमा अलिकति फुल चढाउँदै होलान् ।

एमालेका संगठन विभाग प्रमुख चर्चित नेता जीवराज आश्रितलाई मैले नचिन्ने त कुरा भएन तर उनीसंग व्यक्तिगत रूपमा भने मेरो कहिल्यै भेट भएन । मदन भण्डारीसंग भने मेरो भेटघाट निकै भए । मदन भण्डारीको खुल्ला सक्रिय राजनीतिको तीन वर्षको छोटो अवधिमा रोचक भेटका प्रसंग निकै रहे । म तत्कालिन काठमाडौं क्षेत्र नं १ कै मतदाता मात्र हैन, काँग्रेसको चिनिएको एक कार्यकर्ता नै भएको नाताले पनि विभिन्न सामाजिक एवम् राजनीतिक प्रसंगमा मदन भण्डारीसंग भेट भैरहनु स्वभाविक प्रसंग थियो ।

मदन भण्डारी तत्कालिन मालेको महासचिव र ०४७ सालमा माले र मार्क्सवादी एकिकरण भएर वनेको एमालेको पनि महासचिव भएर भन्दा पनि तत्कालिन काठमाडौं क्षेत्र नं १ बाट नेपाली काँग्रेसका सभापति एवम् अन्तरिम सरकारका लोकप्रिय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई चुनावमा हराएका कारण नै ज्यादै लोकप्रिय वनेका थिए । चुनाव प्रचारकै क्रममा चावहिल पशुपति मित्र माविको कम्पाउण्डमा उनले राजा बीरेन्द्रलाई श्रीपेच फुकालेर चुनाव लड्न आउन ललकारेको प्रसंगले पनि उनलाई त्यस वेला चर्चाको शिखरमा पुर्याएको थियो । 

०४६ साल अगाडीको उनको भूमिगत राजनीति आम जनताको जानकारीमा रहने कुरा भएन, त्यो प्रसंग मेरा लागि पनि जानकारीमा थिएन। ०४६ सालको चैत्र २६ गते बहुदलीय व्यवस्था पुनस्थापना भए पछि नै आम मानिसले जस्तै मैले पनि नेकपा (मालेको) महासचिवको रूपमा मदन भण्डारीको नाम सुनेको हुँ । ०४७ देखि ०४९ सम्मको तीन वर्षको खुल्ला राजनीतिबाट नै उनले आफ्नो परिचय जनताका बीचमा छोड्न सफल भए ।

०४९ मा नेपालगंजमा भएको एमालेको ५ औं महाधिवेशनबाट आफ्नो विचार ‘जनताको बहुदलीय जनवाद’ को कार्यक्रम सहित महासचिव पदमा निर्वाचित भएर आएका बखत यो पंतिकार उनी सांसद रहेको काठ्माडौं क्षेत्र नं. १ मा काँग्रेसको ०४८ माघमा सम्पन्न महाधिवेशनबाट क्षेत्रीय सभापति निर्वाचित भएर आइसकेको थियो । यी यस्तो प्रसंगका कारणले उनीसंग मेरो भेटघाट हुने र परिचित हुने अवसर जुटेको थियो। 

कांग्रेससंग जोडिएर ०४६ अगाडीको पार्टी प्रतिबन्धित रहेको अवस्थादेखि नै देशको प्रजातान्त्रिक आन्दोलनसंगै विभिन्न पत्रपत्रिकासंग पनि जोडिंदै आएको थिंए । ०४६ को परिवर्तन पछि आफ्नै पत्रिका निकाल्ने सोचले साथीभाईहरूको साथमा मेरो संपादकत्वमा फोर्टनाइटली (१५ दिनमा प्रकाशित हुने) रंगीन म्याग्याजिन पत्रिका ‘कान्तिपुरी’ प्रकाशन शुरू गरेका थियौं । मंसीरको पहिलो हप्ताबाट प्रकासन शुरू भएको थियो । त्यस वेलासम्म ‘कान्तिपुर दैनिक’ को प्रकासन शुरू भैसकेको थिएन । लगभग हाम्रै पत्रिकाको नक्कल गरे जस्तै भयो भनेर साथीहरूले मुद्धा हालौं पनि भनेका थिए । कान्तिपुरीको इकार मात्र झिकेर कान्तिपुर नामको पत्रिका दर्ता गरिएको थियो । हामीले कान्तिपुरीलाई नियमित प्रकासन गर्न नसकेर केही अंक प्रकाशित गरेर वन्द नै गरेको अवस्थामा त्यता तिर लागिएन । 

सो कान्तिपुरीको विमोचन समारोह दरवारमार्गस्थित तत्कालिन शेर्पा होटलमा गरेका थियौं । कार्यक्रमको प्रमुख अतिथिका रूपमा तोकिएको मितिमा संविधान जारी गरी आँफु हारेर पनि समयमा निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरेर राष्ट्रीय स्तरमा मात्र होइन अन्तराष्ट्रीय स्तरमा नै लोकप्रियताको उचाईमा पुग्नु भएका नेपाली काँग्रेसका सभापति कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो । ०४६ को जनआन्दोलनका कमाण्डर सर्वमान्य नेता गणेशमान सिंह, एमालेका अध्यक्ष मनमोहन अधिकारी, चर्चित महासचिव मदन भण्डारी, सीपी मैनाली, सहना प्रधान सहित प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला वाहेक काँग्रेस र वाम कित्ताका प्रायश: सबै चर्चित नेताहरूको उपस्थिति थियो । 

सो कार्यक्रममा मदन भण्डारी पनि वक्ताको रूपमा थिए । उनले राष्ट्रीय राजनीतिको अतिरिक्त प्रजातान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको विषयमा राम्रो वोलेका कुरा अहिलेसम्म सम्झना छ । उनको अभिव्यक्ति केही गरेर पनि कम्युनिस्ट नेताको जस्तो लाग्दैन थियो । प्रखर वक्ता भण्डारीको विचार प्रवाह प्रजातान्त्रिक नेताको जस्तै लाग्थ्यो । कार्यक्रमको सभापतित्व तत्कालिन संचार राज्यमन्त्री विजयकुमार गच्छदारलाई गर्न लगाएका थियौं । कार्यक्रमको सन्चालन एवम् स्वागत मन्तव्य यो पंतिकार आँफैले गरेको थियो ।

विमोचनको औपचारिक कार्यक्रम सकिए पछि ककटेल-डिनर कार्यक्रम थियो । किसुनजी, गणेशमान सिंह, मनमोहन अधिकारी लगायतका नेताहरू डिनर लिएर छिटै जानु भयो तर मदन भण्डारी हल्का लिएर निकै वेरसम्म हामी बीच वस्नु भयो, निकै खुलेर गफिनु भएको थियो । कार्यक्रममा मैले स्वागत मन्तव्य प्रकट गर्ने क्रममा ‘यो पत्रिका स्वतन्त्र हुनेछ र विचारको लागि सबैको साझा मंच हुनेछ भनेको’ प्रसंग कोट्याउँदै ‘तपाईँ काँग्रेसको नेता अनि यो पत्रिकाको पनि सम्पादक, अनि कसरी पत्रिका स्वतन्त्र हुन सक्छ भनेर जिज्ञासा राखेका थिए । आम मानिसका बीच त्यति सहज रूपमा प्रस्तुत हुने हाम्रा प्रजातन्त्रवादी नेता भनाउँदाहरू भन्दा पनि खुल्ला स्वभावका व्यक्ति मदन भण्डारी कसरी कम्युनिस्ट भए भन्ने लागेको थियो तिनताका।

०४६ सालको राजनीतिक परिवर्तन पछि माले जस्तो कट्टर कम्युनिस्ट पार्टीको महासचिव छन्, मार्क्सवादी जस्तो अलि कमजोर र सफ्ट खालको कम्युनिस्ट पार्टीसंग एकिकरण गर्ने र बहुदलीय जनवादको रंग दिएर प्रजातन्त्रिक पार्टीका रूपमा पार्टीलाई रूपान्तरित गर्ने शाहसिक काम गरे । जबज कुनै राजनीतिक सिद्धान्त थिएन न कुनै मौलिक विचार नै तथापि जनवादी क्रान्ति गरेर देशमा कम्युनिस्ट सत्ता स्थापना गर्ने भनेर गठन भएको कट्टर कम्युनिस्ट पार्टीको महासचिवको रूपमा मदन भण्डारीको त्यो जबजको वैचारिक छलांग निकै ठुलो शाहसिक कदम थियो । 

निश्चय: नै एमालेले मदन भण्डारी र जीवराज आश्रितको लास र मदन भण्डारीले पार्टीलाई रूपान्तरण गर्न विकसित गरेको जनताको बहुदलीय जनवाद माथि टेकेर विगत झण्डै तीन दशक देखि निकै राजनीति गर्यो । लामो समय सत्तामा वस्यो, प्रमुख प्रतिपक्षी वेन्चमा पनि वस्यो । यही जबजको आसनमा वसेर मदन भण्डारीको नेता मनमोहन अधिकारी सहित उनको सहपाठी झलनाथ,  माधव र ओली देशको प्रधानमन्त्री भए । त्यसै शिरानी हालेर अहिले ओली प्रधानमन्त्री पदको दोस्रो असफल इनिंग खेल्दैछन् । मदन भण्डारी वाँचिरहेको भए विद्या घरगृहस्ती समाल्न मै व्यस्त रहन्थिन कि राजनीतिमा हुन्थिन हुन्नथिन त्यो त भन्न सकिन्न तर यति चाँही भन्न सकिन्छ राष्ट्रपति वन्ने थिइनन् । आज मदन भण्डारीकै विधवा पत्नी भएकै नाताले सेतो साडीमा सहानुभुतिको भिक्षा बटुलेर, ओलीजी महान कृपा साथ पाएर मदन पत्नी देशको राष्ट्रपति छिन् । तर यी दुवैले मदन भण्डारी र जीवराज आश्रितको राजनीतिक मूल्यलाई न सम्मान गर्न सके न उनीहरूको सडक दुर्घटनाबाट भएको रहस्यमय मृत्यको सत्य तथ्य उजागर गर्न कहिल्यै चासो देखाए। देशकै र सरकारकै नेतृत्व गर्दा आफ्ना प्रिय पति र प्रिय नेताको हत्यारा पत्ता लगाउने अवसर हुँदा पनि चुपचाप रहनुले उनीहरुनै प्रश्नको घेरामा पनि परेका छन् । 

मदन-आश्रितको सड़क दुर्घटनामा मृत्य भए पछि एमालेले काठ्माडौंको सडकमा उत्पात नै मच्चाए, यी कथित क्रान्तिकारीहरूले मदन-आश्रितका नाममा कति रेलिंग तोडे, कति टेलिफोनका वुथ जलाए । संसदमा त्यति नै हंगामा गरे । त्यस वेला देखि कै अलि दुच्छर स्वभावका ओलीले मदन भण्डारी र जीवराज आश्रितको हत्यारा यसै संसद भित्र छ भन्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाप्रति औंला ठड्याउँदै संसदमा वेपर्वाहसंग कुर्लेको तस्वीर यो पंतिकारको स्मृतिमा अहिले पनि ताजै छ । 

मदन र जीवराजको सडक दुर्घटना होइन हत्या हो भनेर कयौं दिनसम्म आन्दोलन भए, नेपाल बन्द, तोड़फोड़ र आगजनीका घटना घटित भए, उनीहरूका नाममा झण्डै एक दर्जन मानिस शहीद भए । स्थिति विकराल वन्दै गए पछि सरकार वाध्य भएर सर्वोच्च अदालतका अवकाश प्राप्त न्यायधिश प्रचण्डराज अलिनको अध्यक्षतामा आयोग गठन भयो । वहालवाला न्यायधिस त्रिलोकप्रताप राणाको अध्यक्षतामा पनि आयोग वन्यो, सवारी लापरवाहीले दुर्घटना भएको रिपोर्ट आयो । ती रिपोर्टलाई क्रान्तिकारी पार्टी एमाले स्वीकार गर्ने कुरै थिएन किन कि उनै नेताको लासमाथि राजनीति गरेर नै राजनीतिक सफलता पाउनु थियो । जो त्यही गरे । यी लास माथि राजनीति गरेर लाभ लिन निकै खप्पिस मानिन्छन् । पछि ०५६ को संसदीय निर्वाचन ताका प्रचार कै क्रममा पार्टी अध्यक्ष मनमोहन अधिकारीको गोठाटारको चुनावी सभामा नै लडेर वेहोस भए । उपचार कै क्रममा उनको टिचिंग अस्पातालमा मृत्यु भयो तर एमाले नामको दलले राजनीतिक लाभको जोडघटाउ हिसाव गरेर मृत्युको घोषणा गरिहालेन, निकै दिन भेण्टिलेटर राखेर जोखाना हेरेर मात्र मृत्यु भएको घोषणा गरेको थियो । मदन-आश्रितको सडक दुर्घटनामा भएको मृत्युका सम्वन्धमा सरकारी आयोगहरूको रिपोर्ट अस्वीकार गर्दै जनस्तरको आयोगका नाममा पार्टीका मानिस राखेर गठन भएको आयोग आदिले विना तथ्य र प्रमाण सड्यन्त्रको आसंका गरिएको रिपोर्ट दिए । आगोमा घिउ थप्ने काम गरे । एमाले भन्ने दलले भद्दा गैह्र ज़िम्मेवार भूमिका खेल्दै तीनै कुतर्कलाई काधमा वोकेर अराजक राजनीति गरिरह्यो ।

अध्ययन - अनुसन्धान केही गर्नै परेन ।एमालेले यो दुर्घटना हैन, हत्या हो भनेर ठोकिदिए पछि सिद्धिगो। त्यस वेला एमालेले अहिलेका प्रधानमन्त्रीजी यीनै ओलीको संयोजकत्वमा त्यो जीप दुर्घटनाको सत्य-तथ्य पत्ता लगाउन पार्टीगत आयोग पनि वनायो तर ओलीले सत्य तथ्य पत्ता लगाउने कुनै काम गरेनन् । सुनिएको थियो मेरो हाल पनि मदन-आश्रितको जस्तै हुन्छ भन्ने डरले कुनै अध्ययन अनुसन्धान गर्दै गरेनन्, केवल राजनीतिक लाभका लागि वितण्डा मच्चाउने काम मात्रै गरे ।

जिप चालक एमालेका कार्यकर्ता एवम् मदन भण्डारीका सवारी चालक अमर लामाले यो कुनै षड्यन्त्र होइन, दुर्घटना नै हो भन्दै आए, जो घटनाको एक मात्र चस्मदित थिए । त्यो दुर्घटनालाई षड्यन्त्र भनेर मदन भण्डारी र आश्रितको लास माथि एमालेले राजनीति गरेको कुरा अमर लामालाई कत्ति पनि चित्त बुझेको थिएन । पछि एमालेको रवैया देखेर दिक्क भएर उनले एमाले पार्टी नै परित्याग गरेर काँग्रेस निकट हुन आइपुगे । 

एमाले परित्याग गरेर काँग्रेस निकट हुन पुगेका अमर लामा यो पंतिकारको चावहिलस्थित घरमा पनि वरोवर आइरहन्थे । ०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा कतिपय जिल्लाको चुनावी सभामा काँग्रेसले एमाले विरूद्ध उनलाई प्रयोग पनि गरेको हो । कतिपय जिल्लामा मैले उनलाई लिएर पनि गएको सम्झना छ । यो पंतिकारले मदन-आश्रित दुर्घटनाको विषयमा जिज्ञासा राख्दा उनले सदा विशुद्ध दुर्घटना हो भनिरहे । 

त्यो दासढुंगा काण्डको एउटा जीवित साक्षी अमर लामा पनि कीर्तिपुरमा मारिए। माओवादी द्वन्दकाल भएको वेला मारिएको कारण अमर लामा मारिएको दोष माओवादी कै शीरमा हालियो तर त्यसको छानविन भएन । यथार्थ के हो कहिल्यै वाहिर आउन सकेन । दासढुंगा काण्ड, नारायणहिटी राजदरवार नरसंहार प्रकरण जस्तै अमर लामाको हत्या पनि कहिल्यै नसुल्झिने पहलु वनेर वस्ने देखिन्छ । अमर लामा काँग्रेसमा गएको र एमालेको भण्डाफोर गर्दै हिडेको एमालेलाई मन पर्ने कुरा नै थिएन । अमर लामालाई माओवादीले नभै एमाले नै मारेको हुनसक्छ भनेर अनुमान गर्न गाह्रो छैन । 

०५६ सालको आम निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ उमेद्वार एमालेका अध्यक्ष, नेपाली वामपन्थी आन्दोलनका एक इमान्दार एवम् भद्र नेता मनमोहन अधिकारीको निधन पछि काठमाडौं १ को निर्वाचन स्थगित भएको थियो । किसुनजीले केही दिन मलाई पनि पर्साको चुनाबमा हिड् भन्नु भयो, म त्यता पनि लागें । सिन्धुपाल्चोक क्षेत्र नं. ३ मा काँग्रेसका उमेद्वार कान्छा लामा थिए । उनले मेलम्ची माथि तारामारांग, ग्याल्थुम क्षेत्रमा हुन लागेको चुनावी सभामा मलाई वक्ताको रूपमा निम्त्याएका थिए । त्यहाँ अमर लामालाई पनि निम्त्याएको रहेछ । हामी दुईलाई काठमाडौंबाट ग्याल्थुमसम्म जान आउनका लागि एउटै गाडीको व्यवस्था गरिया थियो, संगै गयौं । फर्कँदा अमर लामालाई जोगाएर काठमाडौं ल्याउन निकै गाह्रो भयो। एमालेका कार्यकर्ताले ठाउँ ठाउँमा आक्रमण गरेका थिए । तिनताकाको एमाले कार्यकर्ता भनेको द्वन्द कालका माओवादीकै भाई जस्तै थिए ।

मैले छोटो अवधीमा भेटेको, उनको विचार र गतिविधि अनि स्वभावलाई विश्लेषण गरेर हेर्दा नेकपा (एमाले)लाई बहुदलीय जनवादको जामा लगाइदिएर प्रजातान्त्रिक बाटोमा ल्याउने मदन भण्डारी अहिलेसम्म बाँचिरहेका भए यो पार्टीले जबजलाई उहिल्यै परित्याग गरिसकेको हुने थियो । हँसिया र हथौडा अंकित लाल झण्डा र कम्युनिस्ट पार्टी नाम पनि परित्याग गरी विशुद्ध सोसियल डेमोक्रेटिक पार्टीको रूपमा रूपान्तरण भैसकेको हुने थियो र नेपाली काँग्रेसको विकल्पमा अर्को सशक्त प्रजातान्त्रित पार्टीको रुपमा विकसित भैसकेको हुने थियो । यो विचार एमालेको ७ औं महाधिवेशनदेखि विधिवत रूपमा प्रवेश गरिसकेको पनि थियो । जुन कुरा देशको प्रजातान्त्रिक आन्दोलन र राजनीतिक स्थायित्वका लागि र देश हितको लागि निकै नै शाहसिक र उचित कदम मानिने थियो । तर दुर्भाग्य मदन भण्डारीका कथित उत्तराधिकारीहरूले मदन भण्डारी र उनको विचारलाई सत्ताको लागि भजाउने काम वाहेक केही पनि गरेनन् । पार्टीलाई प्रजातान्त्रिक मार्गमा रूपान्तरण गराउन तत्परता नै देखाएनन् । केवल पार्टी र सत्ता कव्जा गर्ने सिद्धान्तहिन खेलमा मात्र लागिरहे ।

पछिल्लो पटक ओलीलाई प्रधानमन्त्री वनाउन, मदन भण्डारीकी विधवा पत्नीलाई राष्ट्रपति वनाउने उद्देश्य मुताबिक दुई वर्ष अगाडी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको अहिलेसम्म नसुल्झिएको नटुंगिएको एकता पछि यतिका वर्षसम्म भजाएर खाएको मदन भण्डारीको त्यही जबजको राजनीतिक सुत्र पनि अहिले सस्पेण्डमा परेको छ । त्यो सुत्रलाई पूर्व माओवादी खेमाले अहिलेसम्म स्वीकार गरिसकेको छैन । यी दुई पार्टी वीचको स्पष्ट वैचारिक मार्ग चित्र लगभग सिजिंगपिंग विचारधारा भैसकेको अवस्थामा जबज विचार धारा त्यसै पनि संकटमा परिसकेको देखिन्छ । 

ओलीको सत्तालाई टिकाउन मदन भण्डारीकी विधवा पत्नी विद्या भण्डारी राष्ट्रपतिका हैसियतमा चाइनिज राष्ट्रपति सिजिपिंगलाई गुहार्न पुग्ने र अहिले चिनिया पक्षबाट सगरमाथा चीनको मात्रै भएको दावी गर्ने प्रयास र सामरिक महत्वबाट सगरमाथाको उचाई चाइनिज पक्षले नेपाललाई कुनै पर्वाह नराखी भाइभ (5G) जी जडान गरेर यस क्षेत्रको सुचना संकलन गर्न गरिरहेको दुस्प्रयासको कुनै विरोध नगर्ने सरकारी एवम् नेकपा रवैयाले आम नेपाली झस्कनु पर्ने स्थिति पैदा भएको छ । सरकार र नेकपा न लिपुलेकको विवाद सल्ट्याएर देश हितको रक्षा गर्न न चीनको वलमिच्याईंबाट देशको स्वार्थ रक्षा गर्नेतर्फ भूमिका खेल्न प्रयत्नशील छ । नेतृत्व केवल सत्ता रक्षा र पार्टीको आन्तरिक द्वन्द्व टार्नका लागि पनि विदेशी शक्तिलाई गुहारेर देशको अस्मितामाथि खेलबाड गरिरहेका छन् । देश यस्तो गंभीर राजनीतिक अवस्थामा पुगेका वेला कठै मदन भण्डारी भनेर वस्नु वाहेक कोरोनाको यो कहरमा देशको प्रमुख प्रतिपक्ष सहित अन्य राजनीतिक शक्ति र आम जनता निरिह वनेर वस्न विवस् छन् ।

- हार्दिक श्रद्धांजली मदन भण्डारी एवम् जीवराज आश्रित !
(लेखक ढकाल नेपाली कांग्रेसका नेता हुन्)



नयाँ