arrow

नेपालमा कोरोना : दुईको मृत्यु, २८ जिल्लामा संक्रमण

logo
प्रकाशित २०७७ जेठ ४ आइतबार
neoal.PNG

काठमाडौं । नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । आज बाँकेका २५ वर्षीय पुरुषको मृत्यु भएसँगै कोभिडका कारण मृत्यु हुनेको संख्या दुई पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिडबाट नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको जानकारी दिए । नरैनापुर–५ बाँकेका ती पुरुष गत वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बस्नुभएको थियो । 

गएराति ज्वरो, पखालालगायत स्वास्थ्य समस्या आएको थियो । आइतबार बिहान ६:४० बजे उनको मृत्यु भयो । उनको पिसिआर परीक्षणका लागि स्वाबको परीक्षण रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले बताए । यसबारे थप विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि शनिबार सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको पनि कोभिडबाटै मृत्युको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । ती महिला गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई २४ वैशाख गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् । सुत्केरीपछि ती महिलालाई २५ गते घर पठाइएको थियो । घरमा गएपछि ज्वरो, श्वासप्रश्वास जस्ता समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गराएकी महिलाको स्थिति जटिल बन्दै जाँदा धुलिखेल अस्पताल आउँदै गर्दा मृत्यु भएको मन्त्रालयले जनाएको थियो । 

अठ्ठाइस जिल्लामा संक्रमण फैलियो 
नेपालमा कोभिड–१९ का सङ्क्रमित पछिल्ला दिनमा ह्वात्तै बढेको छ । नेपालमा हालसम्म कोभिडबाट सङ्क्रमित २९१ जना छन् तीमध्ये २३६ महिला र ५५ पुरुष रहेको मन्त्रालयले जनाएको छ । हाल देशका २८ जिल्लामा कोभिडको संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । उहाँका अनुसार प्रदेश नं १ मा ३६, प्रदेश नं २ मा १२१, वाग्मती प्रदेशमा १७ (एकको मृत्युसहित), गण्डकी प्रदेशमा तीन, प्रदेश नं ५ मा १०९ र सुदूरपश्चिम प्रदेशका पाँचजना रहेका छन् । 

कोभिडका सङ्क्रमितमध्ये हालसम्म ३६ जना उपचारपछि घर फर्केको पनि मन्त्रालयले उल्लेख गरेको छ । नेपालमा विसं २०७६ माघ ९ गते पहिलोपटक एक पुरुषमा कोभिडको संक्रमण देखिएको थियो । त्यसपछि चैत १० गते विदेशबाट आएकी एक महिलामा कोभिडको संक्रमण देखिएको थियो ।

अठ्ठाइस  हजारभन्दा बढीको पिसिआर विधिबाट परीक्षण
मुलुकमा हालसम्म २८ हजार १६० जना कोभिडका सङ्क्रमितको रियल टाइम पोलिमरेज चेञ्ज रियाक्शन (पिसिआर) विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार पिसिआर विधिबाट २८ हजार १६० र आरडिटी विधिबाट ६७ हजार ७६९ जनामा परीक्षण गरिएको छ । बितेको  २४ घण्टामा एक हजार ४६९ पिसिआर विधिबाट र आरडिटी विधिबाट दुई हजार २० परीक्षण भएको छ ।

हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या १८ हजार ३५७ रहेको छ । अहिलेसम्म आइसोलेशनमा ३४६ रहेका छन् । यीमध्ये उपत्यकाभित्र ३५ र उपत्यकाबाहिर ३११ छन् । प्राप्त तथ्याङ्कअनुसार रेडजोनमा पर्नेको संख्या ३८२ रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । त्यसैगरी स्वमूल्याङ्न फारम भर्नेको संख्या ३९ हजार ५९८ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ६४१ जनाले आफ्नो स्वास्थ्यका बारेमा विवरण भरेको मन्त्रालयले जनाएको छ ।

अब निजी तथा सामुदायिक अस्पताललले कोभिड परीक्षण गर्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पतालबाट आरडिटी विधिबाट गरिने स्वास्थ्य  स्वास्थ्य परीक्षणका लागि निर्देशिका जारी गरेको छ । यो निदेर्शिका जारी भएपछि निजी तथा सामुदायिक अस्पतालले कोभिडको आरडिटी विधिबाट परीक्षणका लागि अनुमति लिनसक्ने मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।

सो अनुमति लिनका लागि सम्बन्धित अस्पताल नियमअनुसार दर्ता भएको हुनुपर्नेछ । अस्पतालले आरडिटी परीक्षणका लागि उपत्यकाभित्र स्वास्थ्य सेवा विभाग र बाहिरका अस्पतालले सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्नेछ । आरडिटी परीक्षण गर्न चाहने अस्पतालले जनस्वास्थ्य प्रयोगशालाले तोकिएको सूचीमा उल्लेख गरिएका आरडिटीको मात्रै परीक्षण गर्नसक्नेछन् । आरडिटीको परीक्षण प्रतिवेदन दैनिक रुपमा राष्ट्रिय प्रयोगशालमा अनिवार्य पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ । आरडिटी परीक्षणका लागि शुल्क अस्पतालले खरिद गरेको मूल्यको बढीमा २० प्रतिशत मात्रै शुल्क लिन पाउनेछन् ।

कोभिड–१९ को परीक्षणलाई सहज बनाउन निर्देशिका जारी गरिएको प्रवक्ता देवकोटाले बताए । मन्त्रालयले शनिबार मुत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलासँगको संसर्गमा रहेकाको पहिचान गर्ने कार्य शुरु गरिसकेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखको संयोजकत्वमा कन्ट्याक ट्रेसिङको काम शुरु भइसकेको प्रवक्ता देवकोटाले बताए । सम्पर्क व्यक्तिको आजदेखि नमूना सङ्कलन भइसकेको छ । गोङगबु, माछापोखरीलगायत क्षेत्रबाट ४०० भन्दा बढीको परीक्षण गर्ने योजना छ । उनीहरुमध्ये १५० को पिसिआर र २५० को आरडिटी विधिबाट परीक्षण गरिनेछ ।

मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल गिर्नेगरी कतिपय स्वयम्सेवकले गतिविधि गरेकामा निन्दा गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोभिडको नियन्त्रण र उपचारमा खटिएका चिकित्सकमाथि त्यस किसिमका घटना भएको भन्दै त्यस्ता व्यवहार नदोहो¥याउन मन्त्रालयले आग्रह गरेको छ । उच्च रक्तचावको नियन्त्रणका लागि नियमित रुपमा रक्तचाप परीक्षण गर्न अनुरोध गरेको छ । कोभिडसँग जोडिएकाले उक्त रक्तचापका बिरामी बढी जोखिममा हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ