arrow

प्रधानमन्त्रीज्यू, देशको सिमाना मिचिँदा तपाईंलाई थाहा हुनुपर्छ

नविर्सनु राष्ट्रवादको नारा बोकेर तपाईंको पार्टीले चुनाव जितेको

logo
श्रृजु पन्त,
प्रकाशित २०७७ जेठ ५ सोमबार
kp-oli-serious-mood.jpg

भारतले नेपाली भूमि लिपुलेकलाई आफ्नो दाबी गर्दै मानसरोवर जाने बाटो बनायो । उक्त बाटो भारतले उद्घाटन गरेपछि नेपाली मिडियामा समाचार आयो । बेनामे प्रेस विज्ञप्ति निकालेर परराष्ट्र मन्त्रालयले झारा टार्ने प्रयास गर्‍यो । तर, नेपालीले विरोध गरिरहे । सरकारले भारतीय राजदूतलाई प्रेस नोट बुझाएर लाज ढाक्ने प्रयास गर्‍यो । लाज ढाक्न प्रयास गर्दैमा लाज ढाकिँदैन । सरकारले लिम्पियाधुरासहित नेपालको नक्सा जारी गर्ने त बताएको छ, हामी नागरिक आश्वस्त हुन सकेका छैनौँ ।

नेपाली भूमि लिपुलेकमा भारतले बनाएको बाटो आफूलाई थाहा नभएको र कसैले रिपोर्टिङ नगरेको प्रधानमन्त्रीले बताउनुभयो । प्रधानमन्त्रीज्यू, तपाईंको क्याबिनेटका रक्षामन्त्री केही समयअघि सीमा क्षेत्र अवलोकन गर्न हेलिकोप्टरबाट जानुभएको त थियो । क्याबिनेटका मन्त्री त्यसरी अवलोकनमा जाँदा तपाईंलाई कुनै रिपोर्ट आयो की आएन ? कि नागरिकको आँखामा छारो हाल्न हेलिकप्टर भ्रमणको नाटक मञ्चन गरिएको थियो ?

सीमा मिचिनुजस्तो गम्भीर कुरालाई आफूलाई थाहै नभएको भनेर उम्किन खोज्नुभयो तर कसैगरी तपाईं उम्कन सक्नुहुन्न । कृपया एकचोटि ७४ सालमा चुनावअघि गरेको भाषण सम्झनुहोस् । राष्ट्रवादको नारा बोकेर तपाईंको पार्टीले चुनाव जितेको थियो।

विगतमा असमान महाकाली सन्धिको मतियार तपाईं भए पनि गुण्डाहरुको संरक्षण गरेको आरोप लागे पनि भारतले गरेको नाकाबन्दीमा तपाईंले लिएको अडानकै कारण तपाईंले चुनाव जित्नुभएको हो । के त्यतिबेलाको राष्ट्रवादको नारा फगत चुनाव जित्ने एजेण्डा थियो ?

तपाईं बेलाबेला भन्नुहुन्छ ‘यो देशमा लोकतन्त्र र सार्वभौम सत्ताका लागि मैले राजनीति गरेको हुँ । तपाईंलाई यो आफ्नै भनाइले गिज्याउँदैन प्रधानमन्त्रीज्यू ? राष्ट्रको कार्यकारी अधिकार तपाईंमा निहित छ । सरकारी जासुसी संयन्त्रदेखि हरेक संयन्त्र तपाईंको नेतृत्वमा चलिरहेका छन् । तर तपाईं भन्नुहुन्छ, भारतले बाटो बनाएको मलाई थाहा भएन । देशको कार्यकारी नेतृत्व लिएकालाई देशको सिमाना मिचिँदा थाह हुँदैन भने तपाईंलाई के थाहा हुन्छ प्रधानमन्त्रीज्यू ? तपाईंलाई थाहा हुनुपर्छ प्रधानमन्त्रीज्यू ।

तपाईंका संयन्त्रहरुले केही जानकारी दिँदैनन् ? दिँदैनन् भने उनीहरुलाई कारबाही किन गर्नुहुन्न ? देशको सिमाना मिचिँदा पनि देशको कार्यकारी निकायलाई थाहा पत्तो नदिने संयन्त्रका व्यक्तिहरु राष्ट्रघाती हुन् कि हैनन् ? थाहा नदिनेलाई राजद्रोह लाग्छ कि लाग्दैन ? तपाईंले बोल्नकै लागि लिपुलेकमा बाटो बनेको थाहा थिएन भन्नुभएको हो भने तपाईंमा नैतिकता भएन। हामीले परिकल्पना गरेको प्रधानमन्त्री पदको मर्यादा राख्न जान्ने व्यक्ति पठाउन सकेनछौँ भनी हामी नागरिककै गल्ती मान्नेछौं तर तपाईंले आँखामा छारो हाल्ने वक्तव्य दिनुभएको हो भने प्रधानमन्त्री पदको मानमर्दन भएको छ प्रधानमन्त्रीज्यू ।

तपाईंको नैतीकताले त्यो पदमा बसिरहन दिँदैन । हामी नागरिकले त देशको सिमाना रक्षा गर्ने, जस्तोसुकै अवस्थामा आफ्नो नागरिक रहे पनि सुरक्षा प्रदान गर्ने, अमनचयनको व्यवस्थाका लागि काम गर्ने व्यक्तिका लागि त्यो पद सिर्जना गरेका हौँ । केही थाहा नपाउनेका लागि हैन ।

प्रधानमन्त्रीज्यू, कोरोना महामारिले आत्तिएका नेपाली नागरिकहरु र सरकारबीचको सम्बन्ध रैती र राजाको भन्दा केही कम देखिएको छैन । तपाईंको नेतृत्वको हाम्रो सरकारले नेपाली नागरिकलाई बलिको बोकाको जति स्थान पनि दिएको छैन । बलिको बोकाले बलि लाग्ने बेला पानी र रातो टिको पाउँछ । तर, भोका नागरिकले त एक छाक खान समेत पाएका छैनन् । तपाईं त फेरि तपाईंका भारदारले भनेको बाहेक पत्याउनुहुन्न क्यारे, नपत्याए आइसोलेसन बनाइएको नारायणी कोरोना अस्पतालमा गएर हेर्नुस्, खाना नपाएका कोरोना संक्रमित पत्रकारले चाउचाउ खाएको तस्बिर पोष्ट गरेका थिए ।

बोर्डरमा आएर ‘मलाई देश फर्काइदेऊ मेरो आमाको किरियाकर्म गर्नुछ’ भनेर नेपालीहरुको चित्कारको खबर तपाईंलाई थाहा हुन्न । तपाईंलाई आफ्नो विषयभन्दा बाहिरको हुँदै नभएको, अनुसन्धान नै नभएको कसरी थाह हुन्छ ? फ्याटिय र बोसीय तत्त्वबारे तपाईं खुलेआम जनस्वास्थ्यविद् जसरी कुरा गर्नुहुन्छ । प्रधानमन्त्रीज्यू, तपाईं प्रधानमन्त्री हुँदा यही बन्दाबन्दीको समयमा गर्भवती गृहको आदेश नपाएर हेलिकप्टरबाट अस्पताल आउन नपाएर मर्छिन् ।

तपाईं लोकतान्त्रिक देशको पाँच वर्षका लागि शासन  गर्न आएको मान्छे, यिनलाई शासन गर्न जन्मिएको म भन्ने शब्दको प्रयोग गरेर आफू सरहका नागरिकलाई यिनी भनेर सम्बोधन गर्नुहुन्छ ।

७२ वर्षमा ६८ वटा युद्ध गरेर आफ्नो सिमाना पूर्व टिष्टादेखि पश्चिम काँगडासम्म पुर्‍याएको यो देशले प्रजातन्त्र बहाली भएको ७० वर्षमा कहाँसम्म खुम्चिएर रहनुपर्ने हो ? कति सन्धि–सम्झौतामा आफ्नो मुलुकलाई बेचिरहने हो ?

जवाफ चाहियो प्रधानमन्त्रीज्यू ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ