arrow

शक्तिशाली चक्रवातको विकास, सचेत रहन आग्रह

logo
प्रकाशित २०७७ जेठ ६ मंगलबार
weather11.JPG

काठमाडौं । चक्रवात अंपुनको प्रभावले आगामी तीन दिन देशभरि बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दक्षिण बङ्गालको खाडीको मध्यभागमा अंपुन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातका रूपमा विकसित भइसकेको छ । उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा आजदेखि पूर्वी नेपालको मौसम बदली हुने जनाएको छ ।
 
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि अंपुन चक्रवातको प्रभावले देशैभरि बदली भइ केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपातसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
 
उक्त प्रणालीको प्रभावले बुधबारदेखि देशैभरि बदली भइ मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । “शुक्रबारसम्म देशभर सो प्रणालीको प्रभावले वर्षा हुने र वर्षा प्रिमनसुनको जस्तो भइ निरन्तर भइरहने छ”, मौसमविद् मानन्धरले भनिन् ।
 
हाल देशको पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ । दिउँसो देशको पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानमा आंशिक बदली रही मध्य तथा पूर्वी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

बुधबार देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रही मध्य र पूर्वी भूभागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । बिहीबार देशको मध्य तथा पूर्वी भूभागमा पूर्ण बदली भई मध्य र पूर्वी केही स्थान तथा पश्चिमका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम नौ दशमलव दुई डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ