arrow

बङ्गालको खाडीमा बनेको अंपुन चक्रवातले नेपालमा हल्कादेखि मध्यम वर्षा 

logo
प्रकाशित २०७७ जेठ ८ बिहिबार
cyclone-chakrawat.jpg

काठमाडौं । अंपुन चक्रवातको प्रभावले बिहीबार देशभर बदली रही काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

बङ्गालको खाडीमा बनेको चक्रवात जमीनमा प्रवेश गरिसकेकाले यसको प्रभाव अझै दुई दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

चक्रवात अंपुनको अप्रत्क्ष प्रभावले आज देशको पूर्वी भूभागमा पूर्ण बदली रही केही स्थान र पश्चिमी तथा मध्यका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए । 

चक्रवात वेस्त बङ्गाल र बङ्गलादेशको तटीय क्षेत्र पार गरी लगाातार उत्तरपूर्वतर्फ अगाडि बढिरहेको छ । त्यसपछि यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तर–पूर्वी दिशातर्फ मोडिने सम्भावना रहेको जनाइए छ । 

मौसमविद्का अनुसार चक्रवातको प्रत्यक्ष प्रभाव नरहे पनि यसको अप्रत्यक्ष प्रभावबाट देशको खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थान प्रभावित भई आगामी दुई दिनसम्म केही स्थानमा वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने तथा पूर्व र मध्यक्षेत्रमा खोलानालामा जलप्रवाहमा बढोत्तरी हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

राति देशको पूर्वी भूभागमा पूर्ण बदली रही बाँकी भूभाग बदली भई पूर्वी भूभागका केही स्थान र मध्य भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।  

देशको पूर्वी भूभाग तथा मध्य पहाडी भूभागमा शुक्रबार सामान्य बदली रही पूर्वी भूभागका केही स्थान साथै मध्य र पश्चिमी पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शनिबार देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थान र पश्चिमी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

महाशाखाको पछिल्लो विवरणानुसार बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० दशमलव तीन डिग्री सेल्सियस रहेको छ । 

बिहीबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम छ दशमलव चार डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ