arrow

त्रिदेशीय नाका छाङरुमा सशस्त्रको भवन निर्माण प्रक्रिया शुरु

logo
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
APF-Darchula-gaga.jpg


दार्चुला । दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाका रूपमा रहेको सामरिक महत्वको छाङरु (गागा) मा स्थापना गरिएको सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी)का लागि भवन निर्माण प्रक्रिया थालिएको छ । सशस्त्र प्रहरी बल नेपालले त्यहाँ भवन निर्माणका लागि बिहीबार बोलपत्र आह्वान गरेसँग भवन निर्माणको प्रक्रिया शुरु भएको हो । सरकारले भावन निर्माणका लागि रु ११ बरोड बजेट छुट्याइसकेको छ । 

उक्त स्थानमा १६० सशस्त्र प्रहरी रहने गरी सशस्त्रको गुल्म नै स्थापना गर्ने गृह मन्त्रालयको योजना छ । गुल्म स्थापना भएमा कालापानी, लिपुलेक, व्यासगुफा, कैलाश मानसरोवरको प्रवेशद्वार तथा अपिनाम्पा संरक्षण क्षेत्रजस्ता सामरिक महत्व बोकेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको सुरक्षा हुनेछ ।

त्यहाँ गुल्म रहेपछि त्यस मातहत कालापानी नजिकैको कौवा र चीनसँगको सीमा तिङ्करमा थप दुई सीमा निगरानी चौकी (बिओपी) स्थापना गरेर सुरक्षा निगरानी बढाइने छ । त्यसका लागि आवश्यक जग्गा लिने प्रक्रियासमेत शुरु भएको मन्त्रालयले जनाएको छ ।

गत वैशाख ३१ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत यहाँ २५ सशस्त्र प्रहरी पुर्‍याएर बिओपी स्थापना गरिएको थियो । उनीहरुका लागि छ महिना पुग्ने राशनसमेत हेलिकोप्टरबाटै लगिएको छ । हाल मासिक रु २५ हजार भाडा तिर्ने गरी स्थानीय जीतबहादुर बोहराको घरमा बिओपी स्थापना भएको छ ।
भारतले महाकाली नदी किनारकिनारै सडक बनाएर गुञ्जीबाट कालापानी, हुँदै लिपुभञ्जाङसम्म पुर्‍याएको छ । मानसरोवर जोड्न नेपाल भूमि हुँदै सडक बनाएर उद्घाटन गरेपछि सरकारले आफ्नो सीमारक्षाका लागि यसरी तत्कालै सशस्त्र प्रहरी सेनाको हेलिकोप्टरमार्फत पुर्‍याएको हो ।

जेठ १ गते भवन निर्माणका लागि सशस्त्र प्रहरीका इञ्जीनियर प्रहरी नायब उपरीक्षक मिलनमान मास्के नेतृत्वको टोलीले भावन निर्माणका लागि जग्गा नापजाँच गरेर आएको थियो । अपिनम्पा संरक्षित क्षेत्रको मातहतमा रहेको कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये तिङ्कर नदीको किनारको १५ रोपनी जग्गा सशस्त्र प्रहरीलाई प्राप्त छ ।

भवन आधुनिक प्रविधियुक्त र यहाँको वातावरण सुहाउँदो बन्नेछ । बाह्रै महिना चिसो हुने र जाडोको समयमा अत्यधिक हिउँ पर्ने भएकाले त्यस अनुकूलको संरचना निर्माण गरिने छ । ३२ कोठे दुईतले भवन ‘सी’ आकारको बन्नेछ । डाइनिङ हललगायत छुट्टै बन्ने छ । स्थानीय स्रोतसाधन प्रयोग गरेर भवन निर्माण हुनेछ । ग्यास हिटिङसहितको भवन निर्माण गरिने छ । सशस्त्र प्रहरीको नं ५० गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्ट गुल्म बसेपछि भने सो क्षेत्रको सुरक्षा मजबुत हुने बताउछन् ।

पछिल्लो समयमा नेपालको विभिन्न सीमा क्षेत्रमा भारतले अतिक्रमण गरेपछि सरकारले सीमा क्षेत्रमा बढीभन्दा बढी सुरक्षाकर्मी पठाउने तयारी थालेको छ । गत मङ्सिर २३ गते सरकारले सीमा क्षेत्रमा थप ११४ निगारनी चौकी स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार विभिन्न क्षेत्रमा अहिलेसम्म १४ वटा थपिसकिएको छ । हाल बिओपीको सङ्ख्या सीमा क्षेत्रमा १२१ पुगेको छ । क्रमशः बिओपी थप्दै लगिने सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले बताए ।

दार्चुला सदरमुकाम खलङ्गाबाट छाङ्रु झण्डै ८० किलोमिटरको दूरीमा छ । छाङरुबाट गुञ्जी दोभान झण्डै १० किलोमिटरको दूरीमा पर्छ । गुञ्जीबाट लिपुलेक १७ किलोमिटर टाढा छ । छाङरुबाट कालापानी १४ किलोमिटरको टाढा पर्छ । त्यसैले यहाँ सुरक्षाकर्मी तैनाथ गर्नु महत्वपूर्ण हो । फौज बढाएर अन्य क्षेत्रमा समेत सुरक्षाकर्मी परिचालन गर्नु जरुरी छ । त्यहाँ अहिलेसम्म सडक बाटो नभएकाले मानिसले भारतको बाटो प्रयोग गरेर पुग्नुपर्छ । सरकारले यहाँको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ ।

तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो । मङ्सिरमा सरकारले ११४ ठाउँमा बिओपी स्थापना गर्ने निर्णयपछि भारतको सीमा क्षेत्रमा १२ र एउटा सङ्खुवासभाको किमाथाङ्कामा राखिसकिएको छ । तत्कालीन समयमा उत्तरी नाकामा सात र बाँकी दक्षिणी सिमानामा बिओपी राख्ने निर्णय भएको थियो ।

अब हुम्लाको हिल्सा, मुस्ताङको कोरला, ताप्लेजुङको ओलाङचुङगोला तथा रसुवा र सिन्धुपाल्चोकको सीमा क्षेत्रमा क्रमशः बिओपी राख्ने तयारी गरिएको छ । भारतमा ५३० बिओपी रहेकाले सरकारले त्यही हाराहारीमा नेपाली सीमा क्षेत्रमा पनि सुरक्षा चौकी स्थापना गर्ने तयारी गरिरहेको छ । त्यसको आवश्यक प्रक्रियासमेत थालिएको छ । यसरी पोष्ट बढाउँदा सशस्त्र प्रहरीको दरबन्दीसमेत बढाउनुपर्ने आवश्यकता छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ