arrow

तरकारीमा आत्मनिर्भर बनाउन प्रत्येक घर–घरमा टनेल 

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७७ जेठ १० शनिबार
tarkari2.jpg

गुल्मी । पछिल्लो समय कृषि पेशा नै उपयुक्त मानिँदै आएको छ । व्यवसायिक कृषिबाट राम्रो आम्दानी हुन थालेपछि यो अन्य पेशाभन्दा उपयुक्त मानिन थालेको हो । 

स्थानीय सरकारहरुले पनि आम नागरिकहरुलाई कृषिमा आत्मनिर्भर बनाई सहज रुपमा जीवनयापन गराउने उद्देश्य अनुरुप कृषिमा अनुदान दिई प्रोत्साहन गर्दै आएका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका २ धागिथुमले पनि कृषकहरुलाई तरकारीमा आत्मनिर्भर गराउने गरी कार्यक्रमहरु अगाडि बढाएको छ । एक घर एक धारा कार्यक्रम सम्पन्न गरिसकेको वडाले आर्थिक वर्ष २०७६–०७७ को कार्यक्रम अनुसार एक घर एक टनेल कार्यक्रमलाई अगाडि बढाएको हो । 

टनेलका लागि वडाले निवेदन आव्हान गरी निवेदनका अधारमा ४३ जनालाई प्लास्टिक टनेल वितरण गरेको छ । वडालाई तरकारीमा आत्मनिर्भर गराउने गरी यस वर्षमा ४३ घरधुरीलाई निःशुल्क प्लाष्टिक टनेल वितरण गरिएको वडाअध्यक्ष उदयबहादुर थापाले बताए । 

आगामी आर्थिक वर्ष पनि अन्य कृषकहरुलाई वितरण गरिने उनले जानकारी दिए । यतिबेला सबैका टनेलमा वडाले वितरण गरेका टमाटर, बन्दा गोपी, काक्रा, भिन्डी, खुर्सानी, लगायतका तरकारी लगाईएको छ । 

कृषकहरुको सहजताका लागि वडाले नै तरकारीका विरुवा उपलब्ध गराएर तरकारी खेतीका लागि प्रोत्साहन गरेको वडाअध्यक्ष थापाले बताए । प्लाष्टिक टनेल ५ मिटर चौडाई र १० मिटर लम्बाई रहेको बनाउन आफुहरुले आग्रह गरेको उनले बताए । 

अध्यक्ष थापाले भने ‘वडालाई तरकारीमा आत्मनिर्भर बनाउने तर्फ आफुहरु लागिपरेको र धेरै उत्पादन गर्ने कृषको उपजको बजार प्रबन्धका लागि समेत वडा कार्यालयले जिम्मा लिने छ ।’ वडाले तरकारीका विरुवा उत्पादनका लागि स्थानीय चेनतशिल कृषि समूहलाई जिम्मा दिएको छ ।

विरुवा उत्पादनका लागि वडाले ५० हजार अनुदान समेत दिने गरेको छ । समयानुल नर्सरी व्यवस्थापन र मौसम अनुसारका विरुवा उत्पादनका लागि समूहका सदस्यहरुलाई तालिम समेत प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । 

उनीलाई निःशुल्क रुपमा तालिम सहजीकरण गरिएको प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजना कार्यान्वयन इकाई गुल्मीका वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले बताए । तालिमबाट बिउका दाना लगाउने तरीका, माटोको प्रयोगका विषयमा जानकारी पाएको चेतनशिल कृषि समूहकी अध्यक्ष पुष्पा पन्थीले बताइन् ।

 ‘तालिमबाट हामी गोठमै वनस्पति विषादी बनाउने तरिका पनि जानकारी पायौँ’ अध्यक्ष पन्थीले भनिन् । ‘तिते पाति, असुरो, निम, खुर्सानी, लसुन, गाईको गहत, असुरो, केतुके लगायतको प्रयोग गरी घरमै पनि वनस्पति विषादी बनाउन सकिने रैछ ।’ तालिमबाट आफुहरुलाई तरकारी खेती गर्नका लागि धेरै जानकारी प्राप्त भएको उनको भनाई छ । 

समूहले धागीथुममै दुई रोपनी जग्गा भाडामा लिई नर्सरी स्थापना गरेको छ । नर्सरीमा टमाटर, भान्टा, खुर्सानी, तितो कलेरो, लौका लगायतका १५ भन्दा बढी जातका तरकारीका विरुवा उत्पादन गरेको पन्थीले जानकारी दिइन् । नर्सरीमा ५० वटा कृषि टनेललाई पुग्ने गरी तरकारीका विरुवा उत्पादन गरी वितरण गरिसकिएको अध्यक्ष पन्थीको भनाई छ । 

कार्यक्रम शुरु गर्दा पनि वडामा सर्वपक्षिय छलफलबाट सञ्चालन गरिएको स्थानीय हिमाल कुवँरले बताए । ‘वडामा सर्वपक्षिय छलफलबाटै यस कार्यक्रमलाई सञ्चालन भएको हो’ कुवँरले भने । स्थानीय हिराबहादुर थापाले वडाले टनेलमा विभिन्न किसिमका मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न सकिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ