arrow

क्वारेन्टाइन् बसेका भन्छन् : हिरासतबाट छुटेको झैँ भयो !

logo
प्रकाशित २०७७ जेठ १० शनिबार
rampur-quran.jpg

जाजरकोट । करिब २१ दिन हिँडेर जाजरकोट सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पसको क्वारेन्टाइन्मा शुक्रबार बसेका लोकेन्द्र सिंहमा खुशीको सीमा छैन । भारत हुँदै देशका विभिन्न ठाउँबाट कठिनपूर्ण यात्राका बीच शनिबार जाजरकोट पाइला टेकेका सिंहलाई अहिले घर पुगेझै भएको छ ।

हुन त उहाँको घर पूर्वी जाजरकोट अर्थात् सदरमुकामबाट २२ कोष टाढा रहेको छ । भारतीय हेपाहा व्यवहारबाट भारी पीडा खेपेको बताउने सिंहले भन्नुभयो, “यस्तै खालको आफ्नै भूमिमा क्वारेन्टाइन्मा बस्न पाएको भए जति दिन पनि बस्न सकिथ्यो ? उता भारतमा तल्लोस्तरको व्यवहार गर्दा आक्रोश पैदा भए पनि सहेर बस्नुपरेको थियो ।”
 
जब नेपालमा पाइला टेकियो, हाम्रो छाती गर्वले उँचो भएको थियो । भारतमा दुई महिनाअघि ६१ केजी तौल भएको बताउने सिंह अहिले ४१ केजीमा झरेको समेत बताउँछन् । पैसा हालेर पानी किन्न खोज्दासमेत नपाएको उहाँको गुनासो छ । भेरी ज्ञानोदय क्याम्पसमा उहाँसँगै करिब १०० बढी सर्वसाधारण क्वारेन्टाइन्मा बसेका छन् ।

स्थानीय सरकारसँगको सहकार्यमा अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतको संयोजकत्वको टिमले अहिले क्वारेन्टाइन् निर्माणदेखि सबै समस्या हल गरिरहेको छ । क्वारेन्टाइन्मा बसेका अहिले आफ्नै भूमिमा पुगेको भन्दै परिवारसँग फोन सम्पर्क गरी कुनै चिन्ता नलिनसमेत आग्रह गरिरहेका छन् ।

अर्काको भूमिमा पीडाका साथ बसेको भन्दै बारेकोट गाउँपालिका–८ का रमेश विकले अब बाँच्ने ठाउँमा आएको बताउनुभयो । उहाँले खुशीका आँसु झार्दै भन्नुभयो, “कम्तीमा एक दिन नजिकको क्षेत्रमा पुगिएको छ, हामीलाई उद्धार गरेर ल्याउने स्थानीय सरकार र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई धन्यावाद दिन चाहन्छु ।”
 
पहिले भारतीयहरुले नेपालीलाई खासै वास्ता नगरे पनि सीमा विवाद बढेसँगै निकै हेप्ने गरेको विकले बताउनुभयो । कोरोना त्रासभन्दा भारतीयको हेपाहा प्रवृत्ति सबैभन्दा खतरा भएको  नलगाड नगरपालिका–७ का लक्ष्य कामीले बताउनुभयो । भारतको क्वारेन्टाइन् भनेको जेलजस्तै भएको उहाँको भनाइ छ । जाजरकोटको क्वारेन्टाइन् भनेको महलमा बसेझैँ भएको भन्दै उहाँले भन्नुभयो, “समय–समयमा जनप्रतिनिधि, पत्रकार, कर्मचारी र स्वास्थ्यकर्मी आएर के–कस्तो छ भनेर सोध्नुहुन्छ । हामीले पनि भएका समस्या भन्छौँ, एकापसमा पीर, मर्का साटासाट भएको छ ।”
 
भेरी ज्ञानोदय क्याम्पसमा कोठाको आकारअनुसारको व्यवस्थापन गरिएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो । क्वारेन्टाइन्मा बसेका कसैलाई पनि केही समस्या हुन नदिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले क्वारेन्टाइन्मा बसेका नागरिकलाई घरपरिवारमा बसेझैँ गरेर व्यवस्थापन गर्न खोजिरहेका छौँ । जसका कारण उहाँहरुलाई कुनै पीडा नहोस् र रोगसँग लड्ने क्षमता बढोस् ।”
 
स्वास्थ्य सेवा कार्यालयको मातहतमा रहेको जाजरकोट अस्पतालको २०० मिटरको दूरीमा क्वारेन्टाइन् निर्माण गरी बाहिरबाट आएका सर्वसाधारणलाई राखिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । बिरामी हुँदा होस् वा अन्य केही समस्या भएमा छिटोछरितो कामकारवाही गर्न स्वास्थ्य संस्थाको नजिक राखिएको उहाँको भनाइ छ । प्रत्येक पालिकाबाट एक व्यवस्थापक र एक स्वास्थ्यकर्मी क्वारेन्टाइन्मा रहेका नागरिकको व्यवस्थापनका साथै स्वास्थ्य जाँचका लागि परिचालन गरिएको छ । त्रिभुवन मावि खलङ्गामा भेरी नगरपालिकाका र भेरी ज्ञानोदय क्याम्पसमा नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र कुशे गाउँपालिका स्थानीयवासीलाई राखिएको छ । ३०० भन्दा बढी मानिस आउने आँकलनका साथ यहाँ व्यवस्थापन गरिएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक योग्य बस्नेतले बताउनुभयो ।

क्वारेन्टाइन्को सुरक्षाका लागि नेपाली सेनालाई खटाएको छ । अन्य व्यवस्थापन सूचना सङ्कलन, संरचना निर्माणको काममा सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएको छ । क्वारेन्टाइन्मा खानेपानी र विद्युत्को समस्या हुँदा चुनौती भएको छ । स्थानीय तह आफैँले किट किनेर आफ्ना नागरिकलाई कोरोना परीक्षण गराउने तयारीसमेत भएको छ ।
 
क्वारेन्टाइन् बस्नेलाई भत्ता
पश्चिमरुकुमको चौरजहारी नगरपालिकाको क्वारेन्टाइन्मा बस्नेलाई दैनिक रु १७८ दिने निर्णय भएको छ । यसअघि क्वारेन्टाइन्मा बसेकालाई नगरपालिका आफँैले खाने व्यवस्था गरेकामा अब नगद दिने निर्णय गरेको हो । नगरपालिकाका अनुसार भारत तथा अन्य ठाउँबाट आउनेलाई १४वटै वडाका क्वारेन्टाइन्मा राखिनेछ । क्वारेन्टाइन् बसेका व्यक्तिले  खानाका लागि हरेक क्वारेन्टाइन्मा पकाउने भाँडाको व्यवस्था गरिएको छ । आफूले खाने थाल, कचौरा, गिलास र ओढ्ने–ओछ्याउने कपडा सम्बन्धित व्यक्तिले ल्याउनुपर्ने नियम बनाइएको छ ।
 
क्वारेन्टाइन्मा नगरपालिकाले मास्क, स्यानिटाइजर, साबुन, खानेपानीका लागि ड्रम, फिल्टर र शौचालय सफाइका सामग्री प्रदान गरेको छ । दाउराको समस्या हुने वडामा ग्यास र चुलाको व्यवस्था पनि गरिने नगरप्रमुख विशाल शर्माले बताउनुभयो  । भत्ता दिने व्यवस्थासँगै अब बिहान र दिउँसोको नास्ता तथा साँझ–बिहानको खानाको व्यवस्था क्वारेन्टाइन्मा बस्नेले आफैँ गर्नुपर्ने छ । चौरजहारी नगरपालिकाबाट तीन हजार २४४ जना भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका छन् । उनीहरु घर फर्कन शुरु गरेको र शुक्रबार मात्र ३४ जना भित्रिएको नगरपालिकाले जनाएको छ । उनीहरुलाई सम्बन्धित वडामा पठाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ