arrow

नेपालमा कोरोना : थपिए सात संक्रमित, ६८२ पुग्यो

logo
प्रकाशित २०७७ जेठ १२ सोमबार
covid-test-corona.jpg

काठमाडौं । कोभिड–१९ को संक्रमण सोमबार थप सात जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले अछाम, बर्दिया, काठमाडौँ र पर्सामा गरी नयाँ सात जना संक्रमण देखिएको बताए । 

उनका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशला, भेरी अस्पतालको प्रयोगशाला र नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती नयाँ संक्रमित फेला परेका हुन् । नयाँ संक्रमितमा अछाम मेललेक गाउँपालिकाका ३२ वर्षीय पुरुष, बर्दिया गुलरिया नगरपालिका–२ र १० क्रमश ः १८, २२ र २४ वर्षीय पुरुष तथा पर्सा जिराभवानी गाउँपालिकाका–४ का १८ वर्षीय पुरुष तथा काठमाडौँ महानगरपालिका–१५ घर भएका बाराको कलैयामा काम गर्ने २८ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सोमबार थप एक जनाको मृत्यु भएको पुष्टि भएपछि मृत्यु हुनको सङ्ख्या नेपालमा चार पुगेको छ । बारा जिल्ला कलैया नगरपालिका–७ का ती व्यक्तिको कोभिड–१९ को संक्रमणबाट नेशनल मेडिकल कलेज वीरगञ्जमा गत जेठ ४ गते नै निधन भएको हो । यसअघि सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक-एक जनाको निधन भएको थियो । 

संक्रमितको सङ्ख्या ६८२ जना 
कोभिड–१९ बाट सोमबारसम्म संक्रमितको सङ्ख्या ६८२ जना पुगेको छ । संक्रमितमध्ये पुरुष ६०२ जना र महिला ८० जना रहेका छन् । संक्रमितमध्ये प्रदेश नं १ मा ८६ जना, प्रदेश नं २ मा २३५ जना, वाग्मती प्रदेशमा ३८, गण्डकी प्रदेशमा पाँच जनाा, प्रदेश नं ५ मा २९२ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना रहेका छन् । 

सोमबारै २५ जना ‘डिस्चार्ज’
यसैगरी सोमबार २५ जना कोभिड–१९ जितेर घर फर्किएका छन् । सोमबार डिस्चार्ज भएका २५ जनासँगै घर फर्कनेको सङ्ख्या ११२ जना पुगेको छ । नारायणी अस्पताल वीरगञ्जमा उपचार गराइरहेका १८ जना डिस्चार्ज भई घर फर्किएका मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । 

ती डिस्चार्ज हुनेमा चार महिने शिशुदेखि ६६ वर्षीय पुरुष रहेका छन् । उनीहरुको डिस्चार्जको अवधि नौ देखि १० दिन रहेको बताइएको छ । यसैगरी पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, ललितपुरमा उपचार गराइरहेका धनुषा, धादिङ, दाङ्, बर्दिया र काठमाडौँका एक-एक जना डिस्चार्ज भएका छन् । 

 शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालबाट सर्लाही घर भएका एक जना र रुपन्देहीको तौलिहवावाट एक जना डिस्चार्ज भएका छन् । तौलिहवाका डिस्चार्ज हुनेमा स्वास्थ्यकर्मी रहेको उनले बताए । 

पाँच हजार संक्रमित अनुमान गरेर स्वास्थ्य सामग्रीको व्यवस्था
सरकारले पाँच हजार संक्रमितलाई लक्षित गरेर औषधिको व्यवस्थापन गरेको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य विभागको व्यवस्थापन महाशाख निर्देशक डा भोगेन्द्रराज डोटेल पाँच हजारलाई लक्षित गरेर औषधि व्यवस्थापन गरिएको जानकारी दिए । उनले शुरुमा एक हजार ५०० संक्रमित हुने अनुमानलाई आधारमा मानेर औषधि व्यवस्थापन गरेपनि संक्रमित सङ्ख्या दिनहँु बढेकाले पाँच हजार संक्रमितलाई आधारमा मानेर औषधि व्यवस्थापन गरेको बताए । उनका अनुसार सरकारले अहिलेसम्म ९२ करोडको स्वास्थ्य सामग्री ल्याइसकेको र थप ६६ करोडको सामग्री ल्याउने प्रक्रियामा रहेको छ । 

उनले हालसम्म एक लाख भिटिएम प्राप्त गरेको र ती भिटिएम विभिन्न जिल्ला र प्रदेशलाई ८८ हजार वितरण गरिसकेको जानकारी दिए । दुई लाख पाँच हजार भिटिएम खरिद गर्ने प्रक्रिया अगाडि बढाएको उनले बताए । 

 विभागले पिसिआर किट एक लाख २८ हजार प्राप्त गरेकामा ७८ हजार विभिन्न ठाउँमा पठाएको छ । उनले थप एक लाख ७५ हजार पिसिआर किट खरिद प्रक्रिया अगाडि बढाएको  बताए । 

यसैगरी एक लाख ७५ हजार आरडिटीमा ८० हजार विभिन्न ठाउँमा पठाइएको र थप एक लाख २१ हजार आरडिटी खरिद गर्ने प्रक्रियामा रहेको जानकारी दिए । एक लाख ४६ हजार व्यक्तिगत सुरक्षा कवच (पिपिई) मा ५४ हजार विभिन्न जिल्ला र प्रदेशलाई वितरण गरिएको छ । 

यस्तै एन–९५ मास्क एक लाख ८० हजार, पञ्जा दुई लाख ७८ हजार महाशाखासँगै मौज्दात रहेको उनले बताए । उनका अनुसार १० हजार वोटल स्यानिटाइजर विभिन्न ठाउँमा पठाएको छ । अन्तरराष्ट्रिय दातृ संस्थाले दिएका स्वास्थ्य सामग्रीलाई विभिन्न ठाउँमा पठाइएको महाशाखाका निर्देशक डोटेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ