arrow

भारतले कोरोना संक्रमणमा फेरि तोड्योे सबै रेकर्ड, निको हुनेको संख्या पनि बढ्दो

logo
प्रकाशित २०७७ जेठ १९ सोमबार
corona-india-slum.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमण र मृत्युले गएको २४ घण्टामा ले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार बिहानसम्म गएको २४ घण्टामा ८ हजार ७५० जना नयाँ संक्रमित फेला परेका छन् । 

जुन २४ घण्टामा भएको अहिलेसम्मकै बढी संख्या हो । आइतबार बिहान २४ घण्टामा त्यो दिनसम्मकै बढी ८ हजार ३३२ जना फेला परेका थिए । यसअघि शनिबार बिहान ८ हजार १०५ जना थपिएका थिए । तर ती सबै रेकर्ड सोमबार तोडिएको हो । 

त्यस्तै मृतक शनिबार सबैभन्दा बढी २६९ जना बढेका थिए । त्यो संख्या पनि अहिलेसम्मकै बढी हो । आइतबार मृतक भने २०५ जना पुगेका थिए । सोमबार २२३ जनाको मृत्यु भएको थियो । 

संक्रमित अहिलेसम्म १ लाख ९० हजार ६०९ पुगेका छन् । ९१ हजार ८५२ लाई निको भएको छ । २४ घण्टामा ४ हजार ९१८ लाई निको भएको छ । यो संख्या गएको २४ घण्टामा एकै पटक निको भएको सबैभन्दा बढी हो । 

यो आंकडाले देखाउँछ कि संक्रमित हुने जति बढेका छन् त्यति नै मात्रामा निको हुनेको संख्या पनि बढ्दै गएको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २४ घण्टामा २ हजार ४८७ जना संक्रमित बढ्दा ६७ हजार ६५५ पुगेका छन् । त्यस्तै मृतक ८९ बढेर २ हजार २८६ पुगेका छन् । 

तमिलनाडुमा २२ हजार ३३३ जना संक्रमित हुँदा मृतक १७६, दिल्लीमा १९ हजार ८४४ जना संक्रमित हुँदा मृतक ४७३, गुजरातमा १६ हजार ७९४ जना संक्रमित हुँदा १ हजार ३८ मृतक भएका छन् । 

संक्रमित बढ्दा लकडाउन खुकुलो 
यसैबीच भारतमा सोमबारबाट लकडाउनमा परिवर्तन गरि अनलक शुरु गर्ने भएको छ। भारतको गृह मन्त्रालयले अनलक नाम दिएर सोमबारबाट तीन चरणमा लकडाउन खुल्ने निर्णय गरेको हो ।

अनलक १ जुन १ देखि ३० सम्म हुनेछ । जसमा रातको कर्फ्यु कायमै रहनेछ । कर्फ्यु समय साँझ ७ देखि विहान ७ बजेको ठाउँमा अब साँझ ९ देखि विहान ५ बजेसम्म मात्र रहनेछ ।

पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थलहरु मन्दिर, मस्जिद र चर्चहरु खुल्ने भएका हुन् । होटल, रेष्टुरेन्ट, सेवाका क्षेत्र, सपिङ मलहरु पनि खोल्ने अनुमति दिइने भएको छ ।

दोस्रो चरणमा स्कुल, कलेज, शैक्षिक संस्थाहरु खुल्नेछन् । यसमा राज्य सरकारहरुसँग परामर्श गरी गरिने जनाइएको छ । 

कतिपय राज्यहरुमा १३ जुनबाट विद्यालय खुल्ने भनिएको छ । जुलाईमा भने सबै राज्यहरुमा विद्यालय खुल्ने निर्णय लिइने भएको छ ।

तेस्रो चरणमा अन्तर्राष्ट्रिय हवाई यात्रा, मेट्रो रेल, सिनेमा हल, पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार, एसेम्ब्ली हल खोल्न दिइनेछ । यसका लागि निश्चित नियम बनाइनेछ ।

भारतमा लकडाउन खुलेपनि नेपालमा जेठभर लकडाउन कायमै राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ