arrow

कोरोना पोजेटीभ म 

logo
दुसवि भट्टराई,
प्रकाशित २०७७ जेठ १९ सोमबार
dusabi-sharma1.jpg

अबुधावि। रातको करिब एक बजेको थियो। लकडाउनले गर्दा सुत्ने उठ्ने धेरै कुराको तालिका फेरिएको छ। सुत्ने तर्खरमै थिए अचानक एउटा फोन आयो। कस्ले गर्‍यो होला यो राती सोच्दै फोन उठाएँ।उताबाट मेरो बारेमा जानकारी सोधियो । कहा बस्ने ? कोठामा कतिजना ? कुन देशको नागरिक ?

सोधेका सबैको फटाफट जवाफ दिएपछि ओके भन्दै फोन राखे । म अलमल्ल परे। तीन दिन अघि मात्र कोरोना जाँच गरेर आएको आज यसरी फोन आउदा शंका लाग्यो ।

फेरी केहिछिनमा आफुले काम गर्ने कार्यालयबाट फोन आयो दुसवि के छ ? म आरामै थिए, ठिक छ भने । अनि जानकारी गराइयो कि मेरो रिपोर्टमा कोरोना पोजेटीभ देखिएको छ । सुरक्षित रहने जानकारी गराईयो । बाँकी उपचार र बसाईको लागि फेरि फोन गर्ने भन्दै फोन काटियो ।

एकैछिन त छक्क परे । कोठामा नै बसेको करिब २२ दिन भएको थियो । रमादानको समय एक महिनालाई बिदा थियो । तरकारी लिन बाहेक बाहिर कतै गएको पनि थिइन । अचानक यस्तो खबर आएपछि नआत्तिने कुरै भएन । र आत्तिएर समस्याको समाधान हुने पनि थिएन । कोठामा सानी छोरी, आमा, साथै हामी दुई गरी चारजनाको बसाई छ। कोठामा आफु सुरक्षित रहेर परिवार सुरक्षित राख्न मुस्किल थियो । 

आफूलाई कोरोनाको पोजेटीभ आएको थाहा पाएपछि एउटै फ्ल्याटमा बस्नेहरुलाई पनि जानकारी गराउन उपयुक्त लागेर भनियो। सबै नेपालीहरु बस्ने सो फ्ल्याटमा तर नसोचेको प्रतिक्रिया पाए।  

कतिले सोधे पुलिसले कहिले लान्छ रे ? कतिले त हामीलाई जानकारी गराउनुस त किन बाहिर नलगेको रे भनेर सोधे । यतिमात्र होइन हाम्रो पनि सानो बच्चाहरु छन् बाहिर लगे त सर्ने थिएन की पनि भने।

संकटको बेला यो सोच्दा रहेनछन कि मानबताको सम्म भएपनि ब्यवहार गर्नुपर्छ भनेर । अरु बेलामा मेरै फ्ल्याटमा आफन्त भेटघाटको संगमस्थल बनाउनेहरु आज यस्तो प्रतिक्रियाहरु दिइरहेका थिएमानौ उनीहरुले मलाई कहिल्यै चिन्दैन र कुनै साइनो छैन। कोरोना पोजेटीभ भएको खबरले भन्दा पनि उनीहरुको व्यवहारले पीडा दियो। 
 
फ्ल्याटमा बस्नेहरु नेपालीहरु नै थिए तर उनीहरु एकाएक परिबर्तित भए । मान्छेको मानसिकता न हो देखाए भन्दै आफूलाई सम्झाए । रोगबाट जोगिनु पर्छ र जोगाउनु पर्छ थाहा छ। तरपनि रोग लागेका मानिसलाई गरिएको घृणाको व्यवहार मैले सोच्नै सकिन। म जस्तै युएईको अबुधाविमा सोहि फ्ल्याटमा सँगै बस्दै आएका अर्कोलाई पनि यस्तै भएको भए म पनि यस्तै व्यवहार देखाउँथेकी भनेर आफैलाई सम्झाए। सबै नेपाली मात्र भएको फ्लाटमा दुखको बेलामा ढाडस समेत नदिइ नराम्रो ब्यबहार गर्दाचाहि अनुभुती नराम्रो हुनु स्वभािकै थियो। तर पनि मन बुझाउनु थियो बुझाए। सानी छोरीसँगै बसेको म आफै कति सचेत हुनुपर्ने भनेर सावधान भइरहेको थिए। यो बुझने क्षमता नराख्नेहरुको माझमा कोरोना लागेर बिताएका दिनले धेरै कुरा सिकायो । 

एउटै कोठामा बसेर आफ्नी सानी छोरीलाई छुन, माया गर्न नपाउदा पिडा अवश्य भयो मलाइ। ममा भन्दै मेरो साथ छोरी आउदा नआउ छोरी ममालाई जी भएको छ भन्दै कतिदिन टाढिएपनि । 

रातमा फेरी फोन आयो मलाई बाहिर आइसुलेसनमा राख्ने भनेर । मैले २ दिन अगाडिमात्र दोस्रो पटक कोरोना जाँच गराएको जानकारी गराए । सो कुरा सुनेपछि त्यसको रिपोर्ट आएपछि फेरी फोन गर्ने भनेर फोन राखियो ।

फोन राखेदेखि रिपोर्ट नआउञ्जेलको समय फेरी मनमा अनेक कुरा खेल्न थाल्यो। नराम्रो लाग्यो। आजसम्म एक रात टाढा नभएकी छोरीसँग कहिलेसम्म टाढिनुपर्ने भनेर चिन्ता लागिरह्यो। 

बिहानपख फोन आयो तपाईको रिपोर्ट नेगेटिभ आएछ । आइसुलेसनमा बस्नु पर्दैन तर तेस्रो रिपोर्ट पोजेटिभ देखिएमा हामी रिसिभ गर्नेछौ । यो रिपोर्ट आएपछि मन सन्तुष्ट भयो । कार्यालयले परिवारमा सबैको कोरोना चेकअपको व्यवस्था गर्याे । सबैको रिपोर्ट पनि नेगेटिभ नै आयो । 

केही दिन छोरीबाट एउटै कोठामा पनि टाढा बसेर  परिवारबाट जोगिएर आज सबैसँग साथमा छु। सँगै छु ।परिवारको सहयोग साथ माया र विश्वासले यो समयमा महत्वपुर्ण भुमिका खेल्यो । 

यसबिचमा म आफुले दिनको चार पटकसम्म तातो पानीको बाफ लिए । अदुवा, मरिच, बेसार, कालोजिरा, कागती, मह राखेर दिनमा ४ पटकसम्म तातोपानी पिएँ । अन्य समयमा पानी पिउदा तातोपानी मात्र पिए । 
म लगायत कोठामा बस्ने सबैले यसैगरि आफ्नो स्वास्थ्यको ख्याल गर्यौ । 

कोरोना पोजेटीभ देखिएकाहरुमा एउटै कुरा भन्न चाहन्छु कि आत्मबल बलियो बनाउनुस । तातो पानी, कागतीपानी पिउन अल्छी नगर्नुस । कमजोर मानसिकता भएकाहरुले गरेको घृणाको पछि नलाग्नुस । साथ दिने सल्लाह दिनेहरुबाट नभाग्नुस । आफूलाई केही साह्रो परेमा नलुकाउनुस । कति मान्छेको कोरोनाको कारण मृत्यु भएको छ मलाईपनि केही हुन्छ की भनेर नसोच्नुस, कयौं निको भएर सामान्य जीबन जिउँदै छन् भन्ने सोच्नुस ।

रोग लागेकालाई घृणा गर्छन भनेर आफुमा भएको अप्ठेरो लुकाउने कसैले पनि नगर्नुहोला । परिवारको साथले जस्तोसुकै दुखमा पनि हौसला दिन्छ । परिवारमा पनि सबैले सकेसम्म आफै सचेत रहेर बसेमा डराउनु पर्ने अवस्था छैन । 

कोरोना पोजेटीभ भएमा डराएर होइन हिम्मतका साथ आफनो स्वास्थ्यको ख्याल गर्नुस । कमजोरी खोज्ने भाइरसलाई आत्मबल र बच्ने उपायले भगाउन मद्दत गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ