arrow

बन्दाबन्दी खोल्ने योजनामा विवेकशील नेपाली दलको नीतिगत सुझाव

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १९ सोमबार
bibekshil4.jpg

पृष्ठभूमि: कोभिड - १९ को संक्रमणको वृद्धिदरलाई नियन्त्रण गर्नको लागि संसारका प्रायः जसो सबै मुलुकमा कुनै न कुनै स्वरूपमा लागु गरिएको बन्दाबन्दीले रोग नियन्त्रणमा विभिन्न तहको सफलता हासिल गरेको छ। तर त्यस व्यवस्थाको आर्थिक असर भने गम्भीर रूपमा परेको छ। नेपालमा पनि हरेक तहका व्यक्तिहरूलाई त्यसले नकारात्मक असर पारेको छ। त्यसको सबैभन्दा बढी भार चाहिँ अति विपन्न वर्गलाई परेको छ। रोजगारीको अभावमा आम्दानी रोकिएपछि हातमुख जोर्न नै समस्या भएका कुराहरू आउन सक्ने देखिएर नै सहयोग चाहिनेहरूलाई सबै तहका सरकारले स्थानीय तह मार्फत राहत वितरण गर्ने योजना केही हदसम्म सफल भएको थियो। तर विभिन्न नीतिगत सीमाका कारण सबै सहयोगापेक्षीहरूले सहयोग पाउन सक्ने अवस्था थिएन। भोककै कारणले नै केही नागरिकहरूको मृत्यु भएको हुन सक्ने समाचारहरू पनि आएका छन्। 

बन्दाबन्दीले उपलब्ध गराएको समयमा पनि सरकारले प्रभावकारी रुपमा संक्रमणको नियन्त्रणको लागि काम गर्न सकेन। कोभिड - १९ को संक्रमण पनि निकट भविष्यमा समाधान होला जस्तो पनि देखिँदैन र विश्व स्वास्थ्य संगठनले पनि त्यो सम्भावनातर्फ संकेत गरेको छ। त्यसैले अबको आवश्यकता अर्थतन्त्रलाई सम्भव भएसम्म चलायमान बनाउने र संक्रमणलाई व्यवहारिक रूपमा सम्भव भएसम्म नियन्त्रण गर्ने हो। उक्त लक्ष्य हासिल गर्न अर्थतन्त्रलाई नियमन गर्दै चरणबद्ध रूपमा सुरक्षित तवरले खोल्नुपर्छ र संक्रमण नियन्त्रणको लागि गर्नुपर्ने कामहरूलाई पनि नियमित हिसाबले जारी राख्नुपर्छ। 

बन्दाबन्दी खोल्नको लागि आवश्यक कुराहरु:

  • पर्याप्त मात्रामा परीक्षणको लागि आवश्यक पर्ने साधनहरूको मौज्दात र बिकेन्द्रित रूपमा परीक्षण गरिने आरटी पीसीआर मेसिन र आवश्यक तालिम प्राप्त जनशक्ति
  • संक्रमितले प्राथमिक रूपमा सम्पर्क गरेका व्यक्तिहरुको पहिचान गर्नको लागि स्थानीय तहमा परिचालन गर्न सकिने पर्याप्त टोलीहरू 
  • देशभित्र भित्रिने व्यक्तिहरूको लागि न्यूनतम सुविधा उपलब्ध पर्याप्त क्वारेन्टिन क्षमता 
  • लक्षण देखिएका संक्रमितहरूको लागि एकान्तबासमा राख्न मिल्ने स्थानहरू
  • संक्रमित/संक्रमणको आशंका गरिएकाहरूको उपचार/व्यवस्थापनमा खटिनेहरूको लागि पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा सामग्रीहरू
  • सुचारु हुने प्रतिष्ठान/व्यवसाय/सेवालाई सुरक्षित तवरले सञ्चालन गर्नको लागि आवश्यक पर्ने स्यानिटाइजर, साबुन पानी, पेपर टावेल जस्ता सामग्रीहरू

यी अवस्थाहरूको बारेमा हामी उपयुक्त तहमा सन्तुष्ट भएपछि र भविष्यको लागि चाहिने पक्षहरुको बारेमा पहल तत्कालै  हामीले बन्दाबन्दी खोल्ने बारेमा थप निर्णय लिनुपर्छ। 

अहिलेको अवस्थामा नै अर्थतन्त्रलाई खोल्नको लागि पहिलो चरणमा जान सक्छौं। यदि संक्रमणको दरमा कमी आएमा क्रमिक रूपमा दोस्रो/तेस्रो चरणमा जान सकिन्छ। मानिसहरूबीचको सम्पर्कमा भएको वृद्धिले अहिलेको दर बढ्न गएमा खुलेका केही व्यवसायहरूलाई पुनः बन्द गर्न वा निश्चित समयको लागि खोल्न सकिन्छ। 

विदेशबाट ल्याइएका/आएकाको हकमा: 
विदेशबाट आउनेको हकमा सबैलाई क्वारेन्टिनमा राख्ने। यदि पीसीआर परीक्षण नगरी ल्याइएको/आएको भए ल्याउने/आउने बित्तिकै पीसीआर परीक्षण गर्ने। पीसीआरको नतिजा आएपछि यदि संक्रमण नभएको पाइएमा पुन: परीक्षण गर्ने। यी कामहरू एक हप्ताभित्र सकिन्छ। यदि दुवै नतिजामा संक्रमण नदेखिएमा घर पठाउने। 

यदि संक्रमित भएको पाइएमा रोगको लक्षण देखिएकाको हकमा एकान्तबासमा राख्ने र नदेखिएकाको हकमा नियमन गरिएको क्वारेन्टिनमा राख्ने। 

पहिलो चरणमा खोलिने प्रदेश/जिल्ला:
एकदमै कम देखिएका प्रदेश/जिल्ला/स्थानीय तहहरू 

दोस्रो चरणमा खोलिने प्रदेश/जिल्ला:
संक्रमण कम देखिएका प्रदेश/जिल्ला/स्थानीय तहहरू 

तेस्रो चरणमा खोलिने प्रदेश/जिल्ला:
संक्रमण अलि बढी देखिएका प्रदेश/जिल्ला/स्थानीय तहहरू

एकै जिल्लामा पनि विभिन्न स्थानीय तहमा फरक ढंगको संक्रमणको अवस्था भएमा सोही बमोजिम बन्दाबन्दी खोलाउने मात्रा निर्धारण गर्न सकिन्छ। संक्रमितको प्राथमिक सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गर्दा एउटै क्षेत्रमा संक्रमितहरूको समूह देखिएमा त्यस वरपर बन्दाबन्दीलाई सीमित समयको लागि कडाइ गर्नुपर्छ । 

पहिलो चरणमा खोल्ने प्रतिष्ठान/सेवाहरू:

पहिलो चरणमा (क) अत्यावश्यक सेवा प्रदान गर्ने व्यवसाय तथा प्रतिष्ठानहरू (ख) थोक तथा खुद्रा सामाग्री बेच्ने व्यवसायहरू (ग) सरकारी/गैर सरकारी/निजी कार्यालयहरू (घ) ट्याक्सी जस्ता थोरै यात्रु बोक्ने सवारी साधनहरु (ङ) भौतिक दूरी कायम गरी सञ्चालन गरिने स्थल/हवाइ मार्गमा चल्ने सवारी साधनहरू (च) निजी सवारी साधनहरू (छ) भौतिक दूरी कायम गरी सञ्चालन गरिने रेस्टुरेन्ट (ज) पर्याप्त दूरी कायम गरी सञ्चालन गरिने कलकारखाना (झ) होटलहरू 

दोस्रो चरणमा खोल्ने प्रतिष्ठान/व्यवसाय/सेवाहरू: 
(क) एउटा कोठामा एकैपटक ५० जनासम्म भेला हुने व्यवसाय तथा प्रतिष्ठानहरू (ख) भौतिक दूरी कम राखी सञ्चालन गरिने सवारी साधनहरू (ग) ठूला कलकारखानाहरू 

तेस्रो चरणमा खोल्ने प्रतिष्ठान/व्यवसाय/सेवाहरू: 
(क) विद्यालय/क्याम्पस (ख) बार/पब लगायतका सोही प्रकृतिका सेवाहरू (ग) ५० जना भन्दा बढी व्यक्तिहरू एकै ठाउँमा जम्मा हुने व्यवसाय 

सार्वजनिक स्थलमा लागु गर्ने मापदण्डहरू:

  • सबैले अनिवार्य रुपमा एक आपसमा २ मिटरको दूरी कायम राख्नुपर्ने।
  • सार्वजनिक ठाउँ जहाँ मान्छेहरु एक आपसबीच २ मिटर दूरी कायम गर्न सक्दैनन् (अस्पताल, खाद्य स्टोर, विद्यालय, अफिस, सार्वजनिक यातायात आदि) त्यहाँ नाक मुख ढाकिने कपडा (मास्क वा छोप्ने कपडा) अनिवार्य प्रयोग गर्ने। त्यस्ता ठाउँमा जानु अगाडि वा गएर आएपछि साबुन पानीले हात धुने वा स्यानिटाइजरले हातलाई जीवाणु रहित बनाउने।  
  • स्थानीय तह र समुदाय मार्फत ठाउँ ठाउँमा स्यानिटाइजर वा साबुन पानीको व्यवस्था गर्ने
  • विद्यालय (हरेक विद्यालयले आफ्नो आवश्यकता अनुसार थप मापदण्ड तोक्ने)
  • रेस्टुरेन्ट, पार्टी प्यालेस जस्ता मानिसहरु जम्मा हुने ठाउँमा जम्मा भएका व्यक्तिहरूको सम्पर्क विवरण संकलन गरी सुरक्षित राख्ने जसलाई आवश्यक पर्दा संक्रमितले प्राथमिक रूपमा सम्पर्क गरेका व्यक्तिहरूलाई पत्ता लगाउन प्रयोग गर्न सकिन्छ।  
  • स्थानीय तहले प्रशिक्षण दिने
  • सकेसम्म ईसेवा, खल्ती जस्ता सुविधा प्रयोग गरी नगदरहित कारोबार गर्ने
  • खोलिएका प्रतिष्ठानहरूको कीटाणु नाशक सामग्रीहरूले बारम्बार सरसफाइ गरिरहने 
  • व्यवसायहरूले आफ्नोमा काम गर्ने व्यक्तिहरूलाई उचित सरसफाइ तथा सुरक्षाका अन्य सामग्रीहरू उपलब्ध गराई सम्भव भएसम्म जोखिमलाई न्यूनीकरण गराई काम गराउने। साथै उनीहरू बिरामी हुने अवस्थालाई पनि ध्यान दिई योजना बनाउने ‌
  • घरबाटै काम गर्न सक्ने/मिल्नेलाई त्यस्तो व्यवस्था गराई, काममा विभिन्न समयावधि मिलाई कर्मचारी परिचालन गर्ने
  • बढी जोखिम हुने गर्भवती, अन्य रोग भएकाहरूलाई कम जोखिम भएका ठाउँमा परिचालन गर्ने 
  • सम्भव भए/सेवाको प्रकृति बमोजिम उपयुक्त भए कार्यालय खुल्ने समयलाई लामो बनाउने तथा कर्मचारीलाई एकभन्दा बढी समूहमा बाँडी कुनै एक समूहले अगाडिको समयांशमा र अर्कोले पछाडिको समयांशमा सेवा प्रदान गर्ने ।

अझै गर्न नहुने कामहरु:

भोज भतेर जस्ता ठूलो समूहको भेला हुने कार्यक्रमहरु
अनावश्यक यात्रा वा हिँड्डुल

सरकारले व्यवस्था गर्नु पर्ने विषयहरु:

  • विदेशमा भएका नेपाल आउन चाहने नेपालीहरुको तुरुन्त लगत संकलन गर्न सम्बन्धित देशका राजदूताबासलाई परिचालन गरेर, नेपालमा ल्याउने व्यवस्था मिलाउन परराष्ट्र, श्रम, गृह तथा स्वास्थ्य मन्त्रालयले अबिलम्ब एउटा संयुक्त कार्यदल बनाएर काम गर्ने।  
  • कोरोना संक्रमण भइ मृत्यु भएमा, उक्त शवको संक्रमण फैलिन नदिने गरि व्यवस्थापन गर्न कार्यविधि बनाउने, आवस्यक ट्रेनिंगको व्यवस्था गर्ने।  
  • भारतसँगको खुला सीमानालाई नियमित आवतजावतको लागि बन्दै राख्ने। 
  • पार्टी प्यालेस लगायत सभा सम्मेलन गर्न मिल्ने ठाउको ठूलो भेला नगरी उचित उपयोग जस्तै क्वारानटाईनको लागि व्यवस्था गर्ने योजना बनाउने।  
  • जनतामा कोरोनालाई लिएर अनावश्यक अफवाह फैलिन नदिन त्यस्तो कार्य गर्नेलाई दण्ड-जरिवानाको व्यवस्था गर्ने।  
  • विदेशबाट आएकालाई क्वारेन्टिनमा राख्न निजको बासस्थानसम्म सुरक्षित पुर्याउने व्यवस्था मिलाउने। निजको वडाले, त्यस्ता विदेशबाट आएका व्यक्तिहरुको लगत राखी, निजहरुले घरमै बसी १४ दिने क्वारनटेन पालन गरे-नगरेको तथा उनीहरुको स्वास्थ्य स्थितिको बारेमा सम्बधित निकाय (जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय) मा अद्यावधिक गराउने। जिल्ला प्रशासन कार्यालय तथा जिल्ला स्वास्थ्य कार्यालले प्रदेश तथा संघीय गृह तथा स्वास्थ्य मन्त्रालयमा उक्त्त जानकारीलाई अद्यावधिक गराउने।  
  • कुनै ठाउमा कोरोना-प्रकोप देखिएको भएमा त्यस्तो ठाउँहरुलाई रेड-जोन मानी, नियमित पत्रकार सम्मेलन मार्फत त्यस्ता ठाउँहरुको बारेमा जनतालाई सुसुचित गर्ने। २४ सै घण्टा इन्टरनेटमा हेर्न मिल्ने गरी सो लगायत अन्य जानकारी वेबसाइटमा अद्यावधिक गर्ने।
  • कोरोनाले गर्दा विदेशबाट जागिर बिमुख भएर फर्किने नेपालीको रोजगारीको लागि योजना बनाउने।  उनीहरुको सीपको सदुपयोग गर्न साना उद्योग खोल्न विना-धितो थोरै सहयोग गर्ने । 

सल्लाह, सुझाव तथा प्रतिक्रियाको लागि bibeksheelnepali@gmail.com मा इमेल गर्नुहोला । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ