arrow

भारतमा कोरोना संक्रमित दुई लाख नजिक, २४ घण्टामा सबैभन्दा बढी मृत्युमा तेस्रो 

logo
प्रकाशित २०७७ जेठ २० मंगलबार
corona-india-lockdown-open.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख नजिक पुगेको छ । तीव्र गतिमा भइरहेको संक्रमणका कारण भारतमा दुई लाख नजिक संक्रमित पुगेका छन् । 

विश्वको संक्रमितमा सातौं मुलुक रहेको भारतमा १ लाख ९८ हजार ३७० जना संक्रमित रहेका छन् । 

गएको २४ घण्टामा ७ हजार ७२२ जना नयाँ संक्रमित थपिएका छन् । यसअघि सोमबार बिहानसम्म गएको २४ घण्टामा ८ हजार ७५० जना नयाँ संक्रमित फेला परेका थिए । त्यो संख्या सबैभन्दा बढी रहेको थियो ।  

त्यस्तै मृतक २४ घण्टामा २०१ जना थपिएका छन् । यो विश्वकै २४ घण्टाको तेस्रो बढी हो । 

पहिलो स्थानमा रहेको अमेरिकामा ७२८ र दोस्रो ब्रजिलमा ७३२ जनाको ज्यान गएको थियो । 

शनिबार सबैभन्दा बढी २६९ जना बढेका थिए । त्यो संख्या पनि अहिलेसम्मकै बढी थियो । आइतबार मृतक भने २०५ जना पुगेका थिए । सोमबार २२३ जनाको मृत्यु भएको थियो । 

मृतकको संख्या ५ हजार ६०८ पुगेका छन् । 

९५ हजार ७५४ जनालाई निको भएको छ । २४ घण्टामा ३ हजार ८९२ जनालाई निको भएको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २४ घण्टामा २ हजार ३५८ जना संक्रमित बढ्दा ७० हजार १३ पुगेका छन् । त्यस्तै मृतक ७६ बढेर २ हजार ३६२ पुगेका छन् । 

तमिलनाडुमा २३ हजार ४९५ जना संक्रमित हुँदा मृतक १८७, दिल्लीमा २० हजार ८३४ जना संक्रमित हुँदा मृतक ५२३, गुजरातमा १७ हजार २१७ जना संक्रमित हुँदा १ हजार ६३ मृतक भएका छन् । 

संक्रमित बढ्दा लकडाउन खुकुलो 
यसैबीच भारतमा सोमबारबाट लकडाउनमा परिवर्तन गरि अनलक शुरु गर्ने भएको छ। भारतको गृह मन्त्रालयले अनलक नाम दिएर सोमबारबाट तीन चरणमा लकडाउन खुल्ने निर्णय गरेको हो ।

अनलक १ जुन १ देखि ३० सम्म हुनेछ । जसमा रातको कर्फ्यु कायमै रहनेछ । कर्फ्यु समय साँझ ७ देखि विहान ७ बजेको ठाउँमा अब साँझ ९ देखि विहान ५ बजेसम्म मात्र रहनेछ ।

पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थलहरु मन्दिर, मस्जिद र चर्चहरु खुल्ने भएका हुन् । होटल, रेष्टुरेन्ट, सेवाका क्षेत्र, सपिङ मलहरु पनि खोल्ने अनुमति दिइने भएको छ ।

दोस्रो चरणमा स्कुल, कलेज, शैक्षिक संस्थाहरु खुल्नेछन् । यसमा राज्य सरकारहरुसँग परामर्श गरी गरिने जनाइएको छ । 

कतिपय राज्यहरुमा १३ जुनबाट विद्यालय खुल्ने भनिएको छ । जुलाईमा भने सबै राज्यहरुमा विद्यालय खुल्ने निर्णय लिइने भएको छ ।

तेस्रो चरणमा अन्तर्राष्ट्रिय हवाई यात्रा, मेट्रो रेल, सिनेमा हल, पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार, एसेम्ब्ली हल खोल्न दिइनेछ । यसका लागि निश्चित नियम बनाइनेछ ।

भारतमा लकडाउन खुलेपनि नेपालमा जेठभर लकडाउन कायमै राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ