arrow

करिब सात हजार भारतीय नागरिक सीमामा रोकिए

logo
प्रकाशित २०७७ जेठ २० मंगलबार
nepali-boarder-alapatra.gif

रुपन्देही । रुपन्देहीको अल्फा इँटाभट्टामा विगत चार बर्षदेखि काम गर्दै आएका भारतीय नागरिक नुरमोहमद बेलहियाको सडकमा तीन दिनदेखि घर फर्किने बाटो कुरेर बसिरहनुभएको छ । दुई भाइ र दुई बहिनीसँगै सो भट्टामा काम गर्ने उहाँ भारतको बरेली जिल्लाको सजानपुरका स्थायी बासिन्दा हुनुहुन्छ ।

बन्दाबन्दीका कारण भट्टा सञ्चालकले सबै मजदुरलाई घर फर्कन भनेपछि एकैसाथ परिवारसहित पैदलै घरतर्फ फर्कने क्रममा सीमामै रोकिनुभएको छ ।े नेपालको सीमा क्षेत्रमा रोकिएका आफ्ना नागरिकलाई भारतले सीमा प्रवेशमा अझैसम्म अनुमति दिएको छैन । कोरोना भाइरसको जोखिमका कारण स्वदेश फर्किन चाहने भारतीय नागरिक करिब सात हजारभन्दा बढी सीमावारि नेपालतर्फ रोकिएका छन् ।

भारत फरिदपुरका रौनक तीन वर्षे बालक, पाँच वर्षे बालिका र श्रीमतीसहित तीन दिनदेखि सडकमा घर फर्कने बाटो कुरेर बस्दै आउनुभएको छ । उहाँ पनि इँटाभट्टाका मजदुर हुनुहुन्छ । मजदुर रौनकले भन्नुभयो, “यहाँ खानालाई समस्या छैन । यतै नेपाली दाजुभाइले सडकमै खाना नास्ता खुवाइरहनुभएको छ । तर बस्नचाहिँ यही सडकमै बसेका छौँ ।”

उहाँ जत्तिसक्दो छिट्टै घर जान पाए हुने भन्दै चिन्तासमेत व्यक्त गर्नुहुन्छ । “भट्टाबाट यहाँसम्म त आइयो, दिनदिनै  नेपालीहरु आइरहेका छन् । तर, हामीलाइ भारतीय सरकारले अझै लिन आएको छैन”– उहाँले भन्नुभयो–“यता काम नपाएझै सडकमै दिनरात बस्नु परेको छ । उता घरमा खेतिपाति गर्ने कोहि छैन ।”दुखः पर्दा सबैलाइ जन्मथलो प्यारो हुने बेलहिया सडकमा भेट्टिएका भारतको पीपिगन्ज निवासी ५२ बर्षिय वकिल मुसलमानले भन्नुभयो–“भारतबाट नेपालीहरु जन्मथलो आइरहेका छन् । हामी नेपालबाट आफ्नै जन्मथलो फर्किनबाटो कुरेर सडकमा बसिरहेका छौ ।”

भारत कताराका संतराज पनि दुई भाइसंगै घरजाने क्रममा सीमामा रोकिएको तीन दिन भयो । पत्रकारहरुलाई देख्नासाथ उहाँले भन्नुभयो– “हाम्रो कुरा भारत सरकारलाई पुराईदिनुप¥यो, हामी कहिलेसम्म बोर्डरमा बस्ने हो । के हामीलाई आफ्नो देश जान अनुमति छैन ?”

स्वदेश फर्कन नेपालतर्फ सीमा क्षेत्रमा बस्दै आएका भारतीय नागरिकलाई सीमा क्षेत्रका नेपालीले उद्धारको काम गरिरहेको बेलहियाका स्थानीय रामबहादुर बस्नेतले जानकारी दिनुभयो । उहांले भन्नुभयो–“हामी दिनदिनै सीमामै स्वयंसेवकको रुपमा खटिएका छौं । भारतबाट नेपाल आउने नेपालीहरु दैनिक १२,१३ सय आइरहेका छन् । तर यताबाट पारी जानेहरु बढीमा दैनिक ८ सय जति गईरहेका छन् ।”

देशैभरका नागरिकहरु हुलहुल आउदा भैरहवामा व्यवस्थापनमा समस्या भएको लुम्बिनी इट्टा उद्योगी व्यवसायी संघका अजय गुप्ताले बताउनुभयो । उहांले देशैभरका भट्टामा कामगर्ने भारतको उत्तरप्रदेशका नागरिकहरु एकै साथ आउदा समस्या भइरहेको बताउनुहुन्छ । 

यहाँ रहेका भारतीय नागरिक पारी नजादासम्म केही समय भट्टामा नै मजदुरहरुको व्यवस्थापन गर्न प्रशासनले भूमिका निर्वाह गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
प्रदेश ५ का बिभिन्न जिल्लामा मात्रै २ सय १० भट्टा रहेका छन् । ती भट्टामा काम गर्ने अधिकांश मजदुर भारतीय रहेका छन् । एउटा उद्योगमा सय भन्दा बढि मजदुर काम गर्ने गर्दछन् ।  दसैतिहार पछि आएर बैशाखको दोस्रो सातादेखि घर जाने मजदुरहरु खेतिपातिको लागि घर फर्किन थालेका हुन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले भारत तर्फको प्रक्रियागत ढिलाइका कारणले मजदूरहरु रोकिइराखेको बताउनुभयो । भारत सरकारले उत्तर प्रदेशका नागरिकहरुलाई मुख्यरुपमा बेलहिया नाकाबाट स्वदेश प्रवेशको अनुमति दिएकाले उत्तर प्रदेशबाट आएर नेपालका बिभिन्न जिल्लामा मजदूरी गरि बसेका भारतिय नागरिकहरको केही भीड देखिएको बताउनुभयो । उहाँले भन्नुभयो– “दैनिक १ हजार भन्दा बढीलाई भारतले स्वदेश भित्राएको छ अरु करिव ८ हजार जति सीमानाकामा रोकिएकापनि स्वदेश फर्किने प्रक्रियामै रहेका छन् ।” 

सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले नेपालमा कामगर्ने भारतीय मजदुरहरुको व्यवस्थापनमा नगरपालिकाले विभिन्न सामाजिक संघसंस्थासंग समन्वय उद्धार गर्दै आएको बताउनुहुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ