arrow

भारतबाट उद्धार गरिएका नागरिक होल्डिङ एरियामा

logo
प्रकाशित २०७७ जेठ २० मंगलबार
humla-airport-passengers.gif

भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा भारतबाट उद्धार गरिएका नागरिकलाई राख्न होल्डिङ एरिया निर्माण गरिएको छ । नेपालका विभिन्न जिल्ला र भारतका विभिन्न ठाउँबाट सीमामा आएका भोजपुरवासीलाई उद्धार गरी ल्याएर बस्तीभन्दा केही पर निर्माण गरिएका होल्डिङ एरियामा सुरक्षासहित राख्ने व्यवस्था मिलाइएको छ । सो एरियाभित्र ११५ श्ययाको क्वारेन्टिन पनि निर्माण गरिएको अरुण गाउँपालिकाले जनाएको छ । 
 
पहिलो चरणमा सुनौली नाकाबाट आएका साल्पासिलिछो गाउँपालिकाका सात, षडानन्द नगरपालिकाका छ, झापाको काँकाडभिट्टा नाकाबाट पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका, आमचोक गाउँपालिकाकालगायतका ४० जनालाई ल्याएर अरुण गाउँपालिकाको रानीटारमा रहेको होल्डिङ एरियाको क्वारेन्टिनमा राखिएको हो । उद्धार गरिएका नागरिकलाई होल्डिङ एरियामा राखेर स्वाब सङ्कलन परीक्षण गरेपश्चात रिपोर्ट नेगेटिभ आए सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा पठाइने तथा पोजेटिभ आएमा उपचारका लागि धरान अथवा विराटनगरको कोराना विषेश अस्पताल पठाइने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

उनीहरुको उद्धार नगरिँदा लुकेर आउने भएकाले तथ्याङ्क सङ्कलनसमेत गर्न समस्या हुन थालेसँगै संक्रमण झनै बढ्ने सम्भावनालाई ध्यान राखेर ल्याउने तयारी भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । उद्धार गरिने नागरिकमा कोरोना संक्रमणको बढी जोखिम हुने भएकाले जिल्लाका सबै नाका बन्द गरी सकडको मुख्य नाका भोजपुर र धनकुटाको सीमा रहेको लेगुवाघाटबाट मात्र ल्याएर होल्डिङ एरियामा राखिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए । उनले भने, “उद्धार गरिएका नागरिकलाई सुरक्षित तवरले होल्डिङ एरियामा राखेका छौँ, क्वारेन्टिनमा राखेर स्वास्थ्य परीक्षण गरेपश्चात मात्र उनीहरुको विषयमा थप कदम अगाडि बढ्छ, उनीहरु अहिले स्वास्थ्यकर्मीको निगरानीमा छन् ।”

अरुण गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले अलपत्र नागरिकको उद्धार गरेर राख्नु राम्रो काम भए पनि स्थानीय नागरिकमा भने केही त्रास बढेको जानकारी दिए । उनले भने, “अन्य स्थानीय तहका नागरिकलाई उद्धार गरेर हाम्रो पालिकामा राखेका छाँै, जसका कारण स्थानीयवासीले संक्रमण बढ्ने भन्दै त्रास व्यक्त गर्ने गरेका छन्, तर हामीले उनीहरुलाई बुझाउने गरेका छाँै, सामूहिक काम भएकाले अन्य स्थानीय तहका साथीहरुले पनि हामीलाई सहयोग गर्दै हुनुहुन्छ ।”

क्वारेन्टिनसहितको होल्डिङ एरिया निर्माण गर्न जिल्लाका सात गाउँपालिकाले रु तीन-तीन लाख र दुई नगरपालिकाले रु चार लाख ५० हजारका दर रकम विनियोजन गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ