arrow

सरकारले खर्चको बिश्वसनीय आधार दिन सकेनः महत

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ३२ आइतबार
dr-ramsharan-mahat-nuwakot.jpg

बिदुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले कोरोना रोकथामका लागि अर्बौ रकम खर्च भएको बताईएपनि ती खर्चहरुप्रति बिश्वस्त हुन सकिने कुनै आधार सरकारले दिन नसकेको बताएका छन् । कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा सरकारले चालेका कदमहरु प्रभावकारी नहुँदा मुलुक संक्रमणको चपेटामा परेको र अब्यवस्थित क्वारेन्टाईनहरुका कारण जोखिम बढ्दै गएको डाक्टर महतको भनाई छ।

शनिवार जिल्ला समन्वय समिति नुवाकोटमा आयोजित स्थानीय तहहरुलाई स्वास्थ्य सुरक्षा सामग्री बितरण कार्यक्रममा कांग्रेस नेता डाक्टर महतले कोरोना रोकथामका लागि राज्य लकडाउनमा रहँदा आर्थिक क्षेत्र तहसनहस बन्दै गएकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अपनाएर आर्थिक क्षेत्रलाई चलायमान बनाउन सरकारले स्पष्ट खाका ल्याउनुपर्ने बताए ।

बिदेशबाट आएर क्वारेन्टाईनमा बसेकाहरुको अव्यवस्थित बसाईले कोरोना संक्रमण फैलाउने काम गरिरहेकाले क्वारेन्टाईनहरुको प्रभावकारी ब्यवस्थापन र सबैको पिसिआर परीक्षण गरी जोखिम कम गर्नेतर्फ राज्यको ध्यान जानुपर्ने समेत डाक्टर महतले उल्लेख गरे ।

नुवाकोटको निर्वाचन क्षेत्र नम्वर २ मा पर्ने बिदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका र किस्पाङ गाउँपालिकालाई थर्मल गन, सर्जिकल मास्क, सर्जिकल ग्लोब्स, फेस वास, स्यानिटाईजर लगायतका स्वास्थ्य सुरक्षा सामग्रीहरु बितरण गर्दै काँग्रेस नेता महतले जिल्लाका सबै क्वारेन्टाईनहरुलाई ब्यवस्थित गर्न र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने काम गर्न स्थानीय तहहरुलाई आग्रह गरेका थिए । 

त्यसक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, तारेकश्वर गाउँपालिकाका प्रमुख रमेश वस्ती, किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामा, म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तमाङ, स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरे, त्रिशूली अस्पतालका प्रमुख डाक्टर रेमकुमार राई, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की र नेपाल ट्रेड युनियन काँगेस नुवाकोटका अध्यक्ष शिव देबकोटाले कोरोना संक्रमण रोकथाम  र नियन्त्रणमा भईरहेका प्रयास, समस्या र चुनौतीहरुका बारेमा आआफ्नो धारणा राखेका थिए । 

यसैगरी शनिवार नै कांग्रेस नेता डाक्टर महतले ककनी गाउँपालिका र त्यहाँ क्रियाशिल सिर्जनशील युवा क्लवलाई रानिपौवामा आयोजित एक कार्यक्रमका बिच स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएका छन्। त्यसक्रममा काँग्रेस नेता डाक्टर महत, कांग्रेस महासमिति सदस्य रमेशकुमार महत र ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सबै पक्षको ऐक्यबद्ध प्रयत्न आवश्यक रहेकोमा जोड दिएका थिए।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ