arrow

१५ दिनको अस्पताल बसाइपछि घर फर्किए २८ वर्षीय संक्रमित युवक

logo
प्रकाशित २०७७ असार १ सोमबार
corona-test.jpg

तनहुँ । तनहुँका पहिलो कोरोना संक्रमित सोमबार निको भएर अस्पतालबाट घर फर्किएका छन् । ऋषिङ गाउँपालिका–४ का २८ वर्षीय युवक १५ दिनको अस्पताल बसाइपछि घर फर्किएका हुन् । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत ती युवकलाई केन्द्रका सञ्चालक राम भण्डारी, निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठलगायतले बिदाइ गरे । 

भारतबाट गत जेठ १० गते फर्किएर व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टिनमा बसेका ती युवकलाई जेठ १८ गते कोरोना पुष्टि भएको थियो । सोमबार दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको केन्द्रका निमित्त कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए ।

डा श्रेष्ठका अनुसार ती युवकलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन जिल्ला आयुर्वेद कार्यालयले उपलब्ध गराएको अश्वगन्ध चूर्ण, गुडुची चूर्णलगायत रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि मात्र सेवन गराइएको थियो ।

संक्रमितले आफू अस्पतालमा रहँदा तातोपानी र आयुर्वेदिक औषधि मात्रै सेवन गरेको बताउनुभयो । “आत्मबल बलियो भए कोरोनालाई सहजै जित्न सकिने रहेछ”, उनले भने । अस्पतालबाट घर फर्किएका युवकलाई लिन ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ अस्पताल पुगेका थिए  ।  ती युवकलाई १५ दिनसम्म घरमै सुरक्षित रुपमा बस्न लगाइनेछ । 

यसैबीच जिल्लाको घिरिङ गाउँपालिकाका पाँच जनामा सोमबारै कोरोना पुष्टि भएको छ । उनीहरुको सोही अस्पतालमा राखेर उपचार भइरहेको छ । यसअघि ऋषिङका दुई र घिरिङका एक पुरुषसमेत सोही अस्पतालमा उपचाररत छन् । एक जना निको भएर फर्किएपछि जिल्लामा कोरोना संक्रमित आठ जना छन्। अस्पतालले संक्रमितको उपचारमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी खटाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ