arrow

७३ जिल्लामा संक्रमण : नाघ्यो ६ हजार संक्रमित

logo
प्रकाशित २०७७ असार १ सोमबार
corona-brefing-mohp.jpg

काठमाडौं । कोभिड– १९ को संक्रमण सोमबार ४५१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४१६ पुरुष र महिला ३५ जनामा संक्रमण देखिएको बताए ।

नयाँ संक्रमितसँगै संक्रमितको सङ्ख्या छ हजार २११ रहेका छन् । तीमध्ये पाँच हजार ७४० पुरुष र ४७१ महिला रहेका छन् । अहिलेसम्म ७३ जिल्लामा संक्रमण देखिएको उनले बताए । 

६७ डिस्चार्ज
कोभिड– १९ को संक्रमणबाट सोमबार ६७ जना निको भएका छन् । प्रवक्ता डा गौतमले विभिन्न अस्पतालमा ६० पुरुष र सात जना डिस्चार्ज भएका छन् । उनका अनुसार कोभिड– १९ अस्पताल जनकपुरबाट २४ पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट तीन महिला र एक जना पुरुष, सशस्त्र प्रहरीको बलम्बुस्थित कोभिड अस्पतालबाट दुई महिला, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट एक महिला र एक पुरुष, कलैया अस्पताल बाराबाट छ पुरुष, शाहीकृष्ण आइसोलेशन सप्तरीबाट १७ पुरुष र कोभिड–१९ अस्पताल बेलझुण्डी दाङबाट एक महिला र ११ पुरुष डिस्चार्ज भएका छन् । 

सोमबार भएका डिस्चार्जसँगै एक हजार ४१ जना डिस्चार्ज भएका छन् । तीमध्ये १०४ महिला र ९३७ पुरुष रहेका छन् । अहिलेसम्म पिसिआर एक लाख ३८ हजार ६८३ र आरडिटी दुई लाख १९ हजार ३३६ जनाको गरिएको छ । देशभरि क्वारेन्टिनमा एक लाख ३३ हजार ८२९ जना छन् । 

यस्तै सोमबारदेखि पोखरामा कोभिड–१९ को पिसिआर मेसिन जडान गरी थप एक प्रयोगशाला स्थापना गरी परीक्षण थालिएको छ । योसँगै पोखरामा दुई पिसिआर विधिबाट प्रयोगशाला स्थापना गरिएको छ । नयाँ प्रयोगशालासँगै मुलुकभर २२ प्रयोगशालाबाट पिसिआर परीक्षण गरिन्छ । 

यसैगरी मन्त्रालयले विभिन्न स्वास्थ्यसंस्थासँग कोभिड– १९ का बिरामीको उपचारमा समन्वय र सहजीकरण गर्न मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा माधवप्रसाद लम्सालको संयोजकत्वमा एक चिकित्सक टोली गठन गरेको प्रवक्ता डा गौतमले बताए । 

यसैगरी कैलालीका लम्की चुहा नगरपालिका–१ मा रहेका क्वारेन्टिनमा एक महिलामाथि भएको बलात्कारमा संलग्न सबैलाई कारवाहीको प्रक्रिया शुरु गरिएको उनले बताए । उनले उक्त घटनाप्रति मन्त्रालयको खेदप्रकट गर्दै घटनामा स्वास्थ्यकर्मीसहित स्थानीय अगुवाको समेत संलग्नता रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ