arrow

खोलाको अवैध उत्खनन रोक्न माग गर्दै राजमार्गमा चक्काजाम

logo
प्रकाशित २०७७ असार २ मंगलबार
chakkajam.jpg

सर्लाही । पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको फूलजोरका स्थानीय वासिन्दाले गाउँ नजिकैको खोलामा भइरहेको अवैध उत्खनन रोक्न माग गर्दै मंगलबार राजमार्गमा चक्काजाम गरेका छन् । फूलजोर खोलामा मनपरी किसिमले भइरहेको उत्खननले गर्दा खोलाले धार परिवर्तन गरी फूलजोर बस्ती नै बाढीको जोखिममा परेको भन्दै स्थानीय वासिन्दाले मंगलबार मध्यान्ह राजमार्गमा चक्काजाम गरेका हुन् । 

राजमार्गदेखि उत्तरतर्फ गहिरो पारेर जथाभावी गिट्टी, बालुवा निकाल्दा फूलजोर खोलाको धार गाउँतिर नै सोझिएको स्थानीय मीनकुमार गौतमले जानकारी दिए । अवैध उत्खनन गर्ने सवारी साधन नियन्त्रणमा लिएर प्रहरीमा बुझाउँदा बिना कारवाही छाड्ने गरेपछि सम्वन्धित निकायको ध्यानाकर्षण गराउन बाध्य भएर राजमार्गमा चक्काजाम गर्ने कार्यमा उत्रिएको स्थानीय वासिन्दाले बताएका छन् । 

लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको सीमा भएर बग्ने फूलजोर खोला प्रत्येक वर्ष पालैपालो ठेक्का लगाउने सहमति अनुसार यस वर्ष लालबन्दी नगरपालिकाले ठेक्का लगाएको थियो । 

लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले सम्झौतामा उल्लेख भएको परिमाण अनुसार ठेकेदारले उत्खनन गरिसकेकाले अब थप उत्खनन गर्न नपाउने बताए । उनले असार १ गतेदेखि उत्खनन कार्य बन्द भएको व्यहोराको पत्र ठेकेदार र लालबन्दी तथा ईश्वरपुरका केशरगञ्जलाई पठाइसकिएको जानकारी दिए । 

यस्तै ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले मापदण्ड र सहमति अनुसार खोला उत्खनन गरेको पाइए ठेकेदारले नै जथाभावी खनेको खाल्डो पुर्नु पर्ने बताए । उता फूलजोर खोलाको ठेक्का पाएको गजुरमुखी निर्माण कम्पनिका प्रतिनिधि टीका गजुरेलले सम्झौता अनुसार जेठ मसान्तसम्म मात्रै उत्खनन गरेको र त्यसपछि खोलामा सवारी साधन नलगेको दावी गरेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ