arrow

बुहारीलाई ७ बर्षपछि नागरिकता दिने व्यवस्थाको विरोधमा प्रदर्शन

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ असार ८ सोमबार
nagarikta-birodh.jpg

नवलपरासी पश्चिम । बुहारीलाई ७ बर्षपछि मात्र नागरिकता दिने व्यवस्थाप्रति असन्तुष्टी जनाउदै जनता समाजवादी पार्टी नवलपरासी पश्चिमले विरोध प्रदर्शन गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पास गरेको उक्त व्यवस्था मधेशी जनताको हकमा नरहेको भन्दै उक्त व्यवस्था हटाउन माग गर्दै पार्टीले जिल्लामा विरोध प्रदर्शन गरेको हो ।

नेपाली पुरुषसंग विवाह गर्ने विदेशी महिलाले ७ बर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्थालाई नेकपाको सचिवालय समितिले समेत समर्थन निर्णय गरिसकेको र राज्य व्यवस्था तथा शुसासन समितिबाट उक्त नागरिकता विधेयक बहुमतले पास समेत भैसकेको अवस्था छ। जसपा नवलपरासी पश्चिमले सोको विरुद्धमा विरोध प्रदर्शन गर्दै उक्त निर्णयलाई तत्काल सच्चाई पुरानै व्यवस्था कायम गर्न जोडदार माग गरेको छ ।

पार्टीका जिल्ला नेता मुकुरजी गिरीको नेतृत्वमा लोकतान्त्रिक चोकदेखि निक्लेको विरोध र्याली बुद्धचोक हुदै जिल्ला प्रशासन कार्यालय पुगेर पुनः बुद्धचोकस्थित कोणसभामा परिणत भएको थियो । र्‍यालीमा विभिन्न नारासहित प्लेकार्ड बोकी सरकार तथा नेकपा विरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरिएको थियोे । युवाहरुले भारत तथा तेस्रो मुलुकबाट विवाह गरेर ल्याउने महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान हटाई तत्काल नागरिकता दिने व्यवस्था लागु गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको जिल्लाका युवा नेता नगेन्द्र अग्रहरीले बताए ।

सामाजिक साँस्कृतिक रीतिअनुसार विवाह गरेर ल्याइएकी महिलामाथि अन्याय गर्न लागिएको उनको भनाइ छ। ‘महिलामाथि विभेद र अत्याचार गर्न पाइँदैन’, ‘रोटी बेटीको सम्बन्ध बिगार्न पाइँदैन’, ‘नागरिकता ऐन संसोधन विद्येयक फिर्ता गर’ महिलामाथि अत्याचार बन्द गर लगायतका नारा लेखिएको प्लेकार्डसहित पार्टीका नेता कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । कोणसभामा जसपका केन्द्रिय नेता तथा पुर्व सांसद गोविन्द चौधरी, पुर्व सांसद चिनक कुर्मी, जिल्ला नेता धरेन्द्र यादव, पुरन चौधरी, मुन्ना गुप्ता, सत्रजित यादव, अमिरुल्लाह मिँया, चन्द्रभुषण पाठक, युवा नेता नगेन्द्र अग्रहरी सुनिता काफ्ले लगायतले मन्तब्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ