arrow

राती ढुङ्गा खसेको देखेपछि परिवारका सबै भागे, पहिराले घरगोठ बगायो

logo
प्रकाशित २०७७ असार १४ आइतबार
gulmi-pahiro.jpg

गुल्मी । गुल्मीमा पहिराले घरगोठ बगाउँदा रु २५ लाख बराबरको क्षति भएको छ । गएराति गुल्मी दरबार गाउँपालिका–१ बलिथुम पीपलपोखरास्थित ६५ वर्षीय लोकबहादुर सोनारीको घरगोठ बगाउँदा उक्त क्षति भएको स्थानीयवासीले बताएका छन् ।

 अविरल वर्षाले सोनारीको घरभन्दा करिब २० मिटरमाथिबाट गएको पहिराले उनको घरगोठसहित खेती गर्दै आएको जग्गासमेत बगाएको छ । 

रातिको समयमा सोनारीका छोरा बाहिर निस्केका बेला ढुङ्गा खसेको देखेपछि परिवारका सबै सदस्यलाई उठाएर भाग्न सफल भएका थिए । मानवीय क्षति नभए पनि घरगोठ र खेती गर्दै आएको जग्गा पूर्णरुपमा पहिराले बगाएर नष्ट गरेको स्थानीय मणिराम अर्यालले जानकारी दिए। 

गोठमा रहेका एउटा भैँसी, एउटा दुहँुनो गाई, चार वटा बाख्रा, दुई वटा ब्याउने सँुगुर, एउटा बोकालगायत सबै गाईबस्तु मरेका छन् भने घरमा रहेको केही नगदसहित खाद्यान्न र एक तोला सुन पुरिएको छ । 

विस्थापित सोनारीको पाँच जनाको परिवारलाई अहिले जनज्योति प्राथमिक विद्यालयमा व्यवस्थापन गरिएको छ । पहिरा प्रभावित परिवारलाई बलिथुम युवा क्लबले एक सेट पकाउने भाँडा दिएको छ ।

 रेडक्रस र गाउँपालिकाबाट पनि सहयोग जुटाउने प्रयास भइरहेको ज्ञवालीले जानकारी दिए । सोनारीको घर नजिकै रहेका तीन घर पनि पहिराको उच्च जोखिममा रहेकाले उहाँहरुलाई पनि विद्यालयमै व्यवस्थापन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ