arrow

प्रधानमन्त्री ओली सामु दुई विकल्पः कार्वाही गर नत्र भोग

प्रोपोगण्डा मात्र भए प्रधानमन्त्री ओलीलाई नेकपाले विदा गरोस

logo
अजयबाबु शिवाकोटी,
प्रकाशित २०७७ असार १५ सोमबार
kp-oli-serious-mood.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा वालुवाटारमै आयोजिक एक कार्यक्रममा आफूलाई हटाउन देशभित्र र देश बाहिर षडयन्त्र भइरहेको आरोप लगाए। नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको आफ्नै दलभित्रबाट समेत चर्को आलोचना भइरहेका बेला उनले आफूलाई हटाउन षडयन्त्र भइरहेपनि त्यो सफल नहुने बताए। भारतीय मिडिया त्यहाँका सेमिनार र नेपालस्थित भारतीय दुतावास आफूलाई हटाउन सक्रिय रहेको अभिव्यक्ति प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै दिए।

संसदमा झण्डै दुई तिहाईको प्रचण्ड वहुमतकासाथ केपी ओली सत्तासिन छन्। अरु दलसँगको सहकार्यमा ओली प्रधानमन्त्री बनेका हैनन। उनी आफ्नै दलका सांसदहरुको बलमा प्रधानमन्त्री भएका हुन्। सार्वभौम संसदका निर्वाचित सांसदहरुले विश्वास प्रकट गरेर ओली प्रधानमन्त्री भएका हुन्। संसदको अहिलेको अवस्थालाई हेर्दा उनी जुन प्रक्रियाबाट प्रधानमन्त्री बनेका थिए हट्नुपरे त्यहि प्रक्रियाबाट मात्र सम्भव छ। अर्थात नेकपाकै सांसदहरुले उनलाई जसरी विश्वा प्रकट गरेर प्रधानमन्त्री बनाएका थिए त्यसैगरि विश्वास नगर्दा उनी हट्न सक्छन्। उनलाई विश्वास नगर्दा नेकपाले हटाएर अर्को विकल्प तयार गर्न सक्छ। यो परिस्थिति जान्दा जान्दै प्रधानमन्त्री एक्कासी आफूलाई हटाउन खोज्नेहरुको पर्दाफास गर्ने शैलीमा प्रस्तुत भए। 

प्रधानमन्त्रीले आफूलाई हटाउने षडयन्त्रमा संलग्न भएकाहरुको बारेमा आरोप लगाइरहँदा त्यो आफ्नै पार्टीका नेताहरुको सहभागिता विना सम्भव नहुने कुरा भने बताएनन्। ओली प्रधानमन्त्री भएदेखिनै राष्ट्रिय अनुसन्धान विभाग पनि गृहमन्त्रालयबाट हटाएर प्रधानमन्त्री कार्यालयको मातहत ल्याइएको छ। प्रधानमन्त्रीलाई देशभित्र र देश बाहिरका सूचनाहरु विभागले पुर्‍याँउदो पनि होला। प्रधानमन्त्रीले सूचना पाएरै बोलेकै होलान्। प्रधानमन्त्रीले पाएकै सूचनालाई विश्वास मान्ने हो भने उनलाई हटाउने षडयन्त्रमा नेकपाकै को को नेता र सांसदहरु सहभागी छन् ? को को नेता र सांसदहरु उनलाई हटाउने षडयन्त्रमा भारतीय सरकार र दुतावाससँग मिलेका हुन ? यो आम नेपाली नागरिकले जान्न चाहेका छन्।

भारत र भारतीय दुतावास एवं त्यहाँका मिडियालाई देखाएर आफ्नै दलका नेता र सांसदहरुलाई आरोपित गर्ने ‌ओलीले साच्चिकै सूचना पाएर मात्र बोलेका हुन वा फेरि अर्को स्टन्ट मात्र गर्न खोजे आम नागरिकले जान्न चाहेका छन्। आखिर को हुन ति भारतीय एसेटका रुपमा रहेका नेकपाका सांसद एवं नेताहरु ? अनि को हुन ति भारतीय दुतावासमा अधिकारीहरु प्रधानमन्त्री ओली बिरुद्ध षडयन्त्र गर्ने? अनि आरोप लगाएपछि ति दुतावासका अधिकारीहरु बिरुद्ध के कार्वाही भयो? उनीहरुलाई कुटनीतिक आचरण विपरित काम गरेको आरोपमा देश निकाला गर्ने प्रक्रिया शुरु भयो की भएकव छैन? की यो सबै कुरा गरेर जवर्जस्त देशको ध्यान भड्काउन मात्र गरिएको हो? आमनागरिकका बीचमा यो प्रश्नले जवर्जस्त डेरा जमाएको छ। 

राजनीतिक दल गठन र संवैधानिक परिषद सम्वन्धि अध्यादेश ल्याएका बेला पार्टीभित्रैबाट राजिनामाको दवाव परेपनि चिनियाँ हस्तक्षेप पछि नेकपाको विवाद टालटुल पारिएको थियो। त्यसयता केहि सम्हालिएका देखिएपनि ओलीले आफूलाई पुरानै हैकमवादी शैलीमा प्रस्तुत गर्न थालेपछि उनको पार्टी नेतृत्व तहमा चर्को आलोचना भइरहेकै छ।

ओलीका अगाडी भिजेको मुसो जस्ता देखिने नेकपाका सचिवालयकै सदस्यहरु पनि ओलीले बोल्दा बोल्दै उनलाई रोकेर कुरा काट्ने तहमा पुगेका छन्। स्थायि समितिको वैठकमा नेकपाका नेताहरुले प्रधानमन्त्री ओलीलाई बीचबीचमा प्रतिवाद गरेका छन्। स्वयं अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमा अहंकार बढेको टिप्पणी गरे। आफूले आलोपालो प्रधानमन्त्री हुने सहमति छोडकोमा पछुतो माने। प्रधानमन्त्रीको रुपमा ओलीले देशलाई नेतृत्व दिन नसकिरहेको आरोप लागिरहँदा उनले पार्टी अध्यक्षको रुपमा सिंगो पार्टीलाई समेट्न नसकेको टिप्पणी पनि भयो। यहि बीचमा पार्टीकै विभिन्न तहमा उनको विकल्प खोजी भइरहेको छ। यसैलाई ओलीले आफू बिरुद्धको षडयन्त्र देखिरहेका छन्। र यसबाट बच्न सबैभन्दा सजिलो आरोप भारतसँग आफ्नै पार्टीका नेता तथा सांसदहरुलाई आरोपित गरेका छन्।   

ओलीको विकल्पको कुरा यसअघी उठेको भन्दा स्थायी समितिको वैठकमा जोडदार उठ्ने वाला छ। यो कुराको सुँइको पाएका ओलीले पहिलो दिन आफ्ना कुरा राखे। दोस्रो दिन वालुवाटार परिसरमै राखेको वैठकमा सहभागि भएनन। तेस्रो दिन सिमित कुरा राखेर मंगलवारसम्मलाई वैठक सारिदिए। त्यहि बीचमा उनले आइतवार मदन भण्डारीको जन्मजयन्तीको कार्यक्रममा आफ्ना विरुद्ध लाग्ने सबैलाई परिचालित तत्वका रुपमा परिभाषित गरिदिए र लगाईदिए भारतीयहरुबाट परिचालितको बिल्ला।

केहि बर्षअघीसम्म नेपालको राजनीतिमा भारत माइक्रो मेनेजमेन्टमा रहेको चर्चा हुने गर्थ्यो। अहिले त्यो ठाउँ चीनले लिएको चर्चा हुने गरेको छ। चीनले नेपालको राजनीतिमा प्रभाव समेत राख्ने विश्वास राजनीतिक र कुटनीतिक वृत्तमा छ। दुई कम्युनिष्ट पार्टीको एकिकरण होस वा दुई पार्टी फुटको संघारमा पुगेको भनिएको बेला चीनको अर्थपूर्ण सक्रियता देखिएको थियो। चीनको राष्ट्रपतिसँग नेपाली राष्ट्रपतिको भिडियो संवाददेखि नेपालका लागि चिनियाँ राजदुतले प्रधानमन्त्री सहित वरिष्ठ मन्त्रीहरुसँग नियमित रुपमा गरिरहने भेटले चीनको सक्रियतालाई पुष्टी गर्दछ। नेकपाका नेताहरुलाई चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट प्रशिक्षण गराउनेसम्मका घटनाहरु पनि यहि बीचमा भए।  

नेकपाको स्थायि समिति वैठक चलिरहँदा ओलीको विकल्पको बारेमा यो पटक पहिला भन्दा सघन रुपमा चर्चा हुने देखिएको छ। यो पटक टालटुले पाराले ढाक्न नसकिने भएपछि ओली निकै गलेको देखिएका छन्। दलभित्र समेत प्रचण्ड बुहमतमा रहेका ओलीसँग आँखा जुधाएर कुराकानी समेत गर्न नसक्नेहरु, उनको रापको अगाडी पर्न नसक्नेहरु अहिले उनीसँग मुख लगाएर जोरी खोज्न थालेका छन्। वैठकमा बोल्दा बोल्दै रोकेर प्रश्न गर्न लागेका छन्। दुई तीहाईको प्रचण्ड बहुमतको नेतृत्व गरिरहँदा विगतमा दल एकिकरणको समयको सहमति लत्याएर प्रचण्डलाई आधा समय प्रधानमन्त्री दिने सहमति तोड्दा पनि प्रचण्ड चुपचाप बस्न वाध्य थिए। ओलीले दलभित्रकै नेताहरुसँग जे जस्तो व्यवहार गरे त्यसलाई सहँदै हिड्नु उनीहरुको नियती थियो। तैपनि ओलीले उनीहरुलाई गिजोल्न छोडेनन। फलस्वरुप उनको राजिनामाको विषयले पछिल्ला वैठकहरुमा प्रवेश पाइरहेको छ। 

नेपालको नयाँ नक्सा जारी गर्नु अघी चीनको सद्भावका कारण टुट्नबाट जोगिएको नेकपा र प्रधानमन्त्री पद गुमाउनबाट बचेका प्रधानमन्त्री ओलीलाई फेरि आफ्नै कारणले खड्गो परेको हो। अघिल्लो खड्गो टरेपछि फेरि पुरानै शैलीमा अहंकार देखाउन थालेपछि नेकपाकै नेताहरु समेत आजित भए। सद्भाव राख्ने चीनले पनि हैरान मानेपछि ओली सर्वत्र आलोचितसँगै घेरावन्दीमा परे। सबैतिरबाट एकपछि अर्को प्रहार हुँदा ओली यो पटक पुरै गलेका देखिएका छन्। शारिरिक र राजनीतिक रुपमा पनि गलेका ओलीलाई न टेक्न न समाउनु भएपछि अन्तिम अस्त्रको रुपमा भारतविरोधी भावनालाई प्रयोग गर्न खोजेको देखिएको छ। नाकावन्दीदेखि जोडिदै आएको भारतविरोधी राजनीतिक भावना नयाँ नक्सा सार्वजनिक गर्ने तहसम्म आइपुग्दा अझै थपिएको छ। यसैको फाइदा उठाएर ओलीले नयाँ नक्सा सार्वजनिक गरेको परिणाममस्वरुप आफूलाई  भारतले हटाउन खोजेको स्टन्ट गरे। ओलीले गरेको यो प्रयोग यो पटक उनका खास समर्थक बाहेक आम नेपालीले पत्याएका छैनन। उनको सो अभिव्यक्ति पछि उत्पन्न प्रतिक्रियाले पनि उनको यो प्रयोग नविक्ने देखाएको छ। 

देशको आन्तरिक राजनीतिमा रक्षात्मक अवस्थामा पुग्दा राष्ट्रवादलाई अगाडी सार्ने राजनीतिक प्रयोग धेरै ठाउँमा प्रयोग भएको छ। नाकावन्दीका समयमा ओलीले गरेको यो प्रयोगले उनको उचाई चुलिएको पनि थियो। त्यसपछि झण्डै दुई तिहाईको सरकारको नेतृत्व गरेका उनले आफ्नो त्यो उचाईलाई गिराउँदै आफै स्खलित हुन पुगे। परिणामस्वरुप नेपालको अन्तराष्ट्रिय सम्वन्धहरु इतिहासकै संगिन मोडमा पुगेको छ। कुनै एक देशसँग नजिकिने नाममा भएभरका मित्रराष्ट्रहरुसँग दुश्मनी मोल्ने खालको ओली सरकारको व्यवहार सर्वत्र आलोचित रह्यो। सरकारप्रमुखको हैसियतमा नसुहाउने अभिव्यक्ति र आरोप लगाउने कार्यले नेपालको अन्तराष्ट्रिय सम्वन्ध पनि संकुचित हुने अवस्थामा पुगेको छ। यो बेला अझै पनि नेपाल सरकारको वागडोर ओलीको हातमा दिनु भनेको नेपाललाई थप भड्खालोमा लैजानु हो। त्यसैले नेकपाको जारी स्थायी कमिटिको वैठकले प्रधानमन्त्री ओलीलाई घर फर्काउनु नै अहिलेको लागि उपयुक्त निकास हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ