arrow

‘घर’भित्र कमजोर भएपछि ‘छिमेकी’ गुहार्दै ओली

logo
श‌ंकर खैराली
प्रकाशित २०७७ असार २१ आइतबार
kp-oli-serious-mood.jpg

काठमाडौं । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली ‘घर’ अर्थात पार्टीभित्र कमजोर बनेपछि छिमेकी अर्थात प्रतिपक्षी दललाई समेत गुहार्न वाध्य बनेका छन् ।

सरकारको नेतृत्व गरिरहँदा आफ्नै कार्यशैली, स्वभाव र हठ अनि पछिल्लोपटक ‘भारतले आफूलाई पदबाट हटाउन खोजेको’ अभिव्यक्तिपछि प्रधानमन्त्री ओली सरकारमा मात्र होइन पार्टी भित्रै कमजोर बनेका हुन ।

दुईतिहाइसहितको सरकारको प्रधानमन्त्री हुँदा उनले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आधा आधा कार्यकाल सत्ता सम्हाल्ने भनी गरेको सम्झौता अनेकन तिकडम गरेर टारेपछि एवं पार्टीमा पनि आफै हावी हुने मनोविज्ञान देखाएपछि दाहाल भित्रभित्रै असन्तुष्ट बनेका थिए ।

देशमा कोरोना महामारीले चरम रुप लिदा पनि ओली सरकार जनताको बचाउ भन्दा अनेकन अप्रासंगिक विधेयक ल्याउन सक्रिय भएपछि दाहालको मात्र होइन तमामौं लोकतन्त्र पक्षधरलाई समेत ससंकित बनाएको थियो ।

ओलीको कार्यशैली, हठ र गैह्रलोकतान्त्रिक क्रियाकलाप तथा कुटनीतिक मर्यादा विपरितको अभिव्यक्तिपछि भने दाहाल खुलेरै ओलीलाई बहिर्गमन गराउन लागेका हुन । दाहालसहित नेकपाका शीर्ष नेता माधवकुमार नेपाल,  झलनाथ खनाल,  बामदेव गौतमलगायत दर्जनौं नेताले उनको राजीनामाको मत बनाउनु र स्थायीदेखि केन्द्रिय कमिटीमा समेत ओलीको पल्ला हलुका भएपछि उनी यतिबेला विभिन्न पक्ष र पार्टी गुहार्नमा जुटेको देखिएको छ ।

‘पछिल्लोपटक ओली आफू कसरी जोगिने भन्नेमा दिन रात नभनी लागेका छन्’, नेकपा निकटकै एक नेताले भने, ‘उहाँमा पार्टीभन्दा पनि माथि हुँ भन्ने अहं देखियो । तर आफूअनुकूल वातावरण बनाउन उहाँ कानुन व्यवसायी भेट्ने, राष्ट्रपति भेट्ने, सडकमा आफ्ना पक्षमा मान्छे उतार्ने मात्र होइन यतिबेला उहाँ प्रतिपक्षी दलको समेत शरणमा परिरहनु भएको छ ।’

पछिल्लोपटक आइतबार दिउँसो आफू नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग वार्तामा बसे पनि ओलीले प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटन आफ्नो दूतको रुपमा पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङलाई बुढानिलकण्ठ पठाएका थिए ।

आफू बुढानिलकण्ठ गएको कुरा पूर्व सभामुख नेम्वाङले हाम्राकुरासँग बताए पनि कुन विषयमा कुरा भयो भन्ने विषयमा भने खुलाएनन । उनले सामान्य भेटघाटका लागि गएको र प्रधानमन्त्रीले ‘हेलो भनिदिनु’ भन्ने सन्देश मात्रै सुनाएको बताए ।

पार्टीभित्रै कमजोर र पदबाट राजीनामाको उच्च दवाव परिरहेका बेला ओलीले प्रतिपक्षी दलका नेता भेटन दूत पठाउनुलाई भने सामान्य रुपमा हेर्न नसकिने चर्चा राजनीतिक वृत्तमा छ । ओलीले आफू अप्ठेरोमा पर्नसक्ने संकेत पाएलगत्तै संसदको वर्षे अधिवेशन अन्त्यको सिफारिस गर्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

पार्टीको स्थायी कमिटी बैठकमा उपस्थित नहुने तर हुल्लडहरुको निर्देशन नमान्ने भन्दै अभिव्यक्ति दिने, शितल निवासको सम्पर्कमा बारम्बार रहने र शनिबार बेलुकी मन्त्रीहरुलाई बोलाएर ‘जुनसुकै कदम चाल्नुपर्ने अवस्था आउन सक्छ, तपाईहरु कुन कित्तामा उभिने मनस्थिति बनाउनु’ भन्दै निर्देशन दिने तथा कानुनव्यवसायीदेखि प्रतिपक्षी दलका नेतालाई भेट्न दूत पठाउनुले उनी कुनै निकै सकसको अवस्थामा भएको अनुमान गर्न भने गाह्रो छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ