arrow

महाकवि देवकोटा पुरस्कार २०७६ बाट  मोहन सिटौला सम्मानित

यी हुन् यसपटक विभिन्न विधामा सम्मानित हुनेहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७७ असार २९ सोमबार
mohan-sitaula-guru.jpg

काठमाडौं । महाकवि देवकोटा पुरस्कार २०७६ बाट वरिष्ठ साहित्यकार एवं पूर्व प्राध्यापक मोहन सिटौला सम्मानित भएका छन् । सरकारले नेपाली साहित्यमा योगदान पुर्याउने स्रष्टालाई विभिन्न राष्ट्रिय तथा प्रादेशिक पुरस्कारबाट सम्मान गर्ने क्रममा सिटौलालाई सरकारले सम्मान गरेको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार विभिन्न स्रष्टालाई  सम्मान गर्ने क्रममा सिटौलालाई महाकवि देवकोटा पुरस्कार २०७६ बाट कविता विधा अन्तर्गत सम्मान गरेको हो । 

तेह्रथुमका सिटौला काठमाडौं हुँदै अमेरिकामा बस्दै आएका छन् । सिटौला नेपाल आएका बेलामा आफ्नो पुख्र्यौली थलो हुँदै झापा आइरहँदा लकडाउनका कारण झापामै रहेको पारिवारिक स्रोतले जनाएको छ । 

चार दशक क्याम्पसमा अध्यापन गर्ने क्रममा विभिन्न क्याम्पसको क्याम्पस प्रमुखको जिम्मेवारीसमेत सम्हालेका अंग्रेजीका प्राध्यापक सिटौलाले कविता हुँदै आफ्नो साहित्यिक यात्रालाई निरन्तर अगाडि बढाउने क्रममा एक दर्जन पुस्तक प्रकाशित गरिसकेका छन् । 

बिसं २००० सालमा जन्मेका सिटौलाले पहिलो कविता २०१२ सालमा लेखे । एउटा स्थानीय हस्तलिखित ‘प्रयास’ नामक पत्रिकामा उनको कविता छापिएको थियो । 

‘हामी साना बाला हौं....’ कविताबाट थालेको उनको साहित्यिक यात्रा निवन्धदेखि समालोचना र नियात्रासम्म अगाडि बढिरहेको छ । 

उनका आधा दर्जन भन्दा बढी पुस्तक प्रकाशोन्मुख छन् । उनी लामो समयदेखि अनेसासमा रहेर अमेरिकाबाटै आफ्नो साहित्यिक सेवा गरिरहेका छन् । समय परिस्थितिअनुसार अमेरिका पुगेका सिटौलाले नेपाली भाषा जोगाउन अनेसासमा रहेर काम गरिरहेको दावी गर्छन् । 

अन्य पुरस्कृतहरु निम्न छन्–
 महाकवि देवकोटा पुरस्कारको निबन्ध विधातर्फ दाङका प्रा केशव सुवेदी, गद्याख्यान–नाटकतर्फ काठमाडौँका पद्मावती सिंह, बाल साहित्य–लोक साहित्यतर्फ दैलेखका डा मधुसूदन गिरी र भाषासाहित्यतर्फ भक्तपुरका भैरव रिसाल सम्मानित भएका छन् । 

पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७६, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट विभिन्न स्रष्टा  तथा व्यक्तित्वलाई सम्मान गरिएको हो । 

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६अन्तर्गत संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठ, प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश नं १ बाट भोजपुरका चन्द्रकुमार राई, प्रदेश नं २ बाट धनुषाका डा रामसागर पण्डित, वाग्मती प्रदेशबाट ललितपुरका डा गौतमवीर बज्राचार्य, गण्डकी प्रदेशबाट स्याङ्जाका प्रा ज्ञानबहादुर कार्की, प्रदेश नं ५ बाट कपिलवस्तुका विक्रममणि त्रिपाठी, कर्णाली प्रदेशबाट जुम्लाका वासुदेव उपाध्याय, सुदूरपश्चिमबाट धनगढीका सुरतबहादुर शाह सम्मानित भए ।

भाषा साहित्य विधातर्फ प्रा डा दयाराम श्रेष्ठले राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरे । प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश नं १ बाट खोटाङका सुरेश हाँचेकाली, प्रदेश नं २ बाट बाराका नवराज रिजाल, वाग्मती प्रदेशबाट काभ्रेपलाञ्चोकका गोपी मैनाली, गण्डकी प्रदेशबाट कास्कीका तर्कना शर्मा, प्रदेश नं ५ बाट दाङका श्रीधर पौडेल, कर्णाली प्रदेशबाट जुम्लाका डा ओमप्रकाश आचार्य र सुदूरपश्चिम प्रदेशबाट कैलालीका मिहीलाल उपाध्याय सम्मानित भए ।

ललितकला विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार काठमाडौँका श्यामलाल श्रेष्ठले प्राप्त गरे । प्रादेशिक प्रतिभा पुरस्कार प्रदेश नं १ बाट सुनसरीका जीवनाथ पोखरेल, प्रदेश नं २ बाट धनुषाका सरितादेवी मण्डल, वाग्मती प्रदेशबाट ललितपुरका चन्द्रश्याम डंगोल, गण्डकी प्रदेशबाट स्याङ्जाका महेश आचार्य, प्रदेश नं ५ बाट गुल्मीका सुमित्रा राना, कर्णाली प्रदेशबाट कालीकोटका भीमबहादुर सिंह र सुदूरपश्चिम प्रदेशबाट डोटीका रवीन्द्रबहादुर चन्द सम्मानित भएका छन् ।

सङ्गीत तथा नाट्य विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार सिरहाका सत्यनारायण चौधरीले प्राप्त गरेका छन् । प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश नं १ बाट ताप्लेजुङका भरत गुरुङ, प्रदेश नं २ बाट महोत्तरीका हिराकुमारी दर्लामी, वाग्मती प्रदेशबाट रामेछापका केशर कालीकोटे, गण्डकी प्रदेशबाट तनहुँका मनकुमार श्रेष्ठ, प्रदेश नं ५ बाट पाल्पाका लक्ष्मी न्यौपाने, कर्णाली प्रदेशबाट कालिकोटका कृपाराम शर्मा धमला र सुदूरपश्चिम प्रदेशबाट बैतडीका मनोहरराम दमाईँ सम्मानित भएका छन् । 

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट नाटक विधातर्फ तेह्रथुमका अभि सुवेदी र कविता विधातर्फ धादिङका प्रा घनश्याम उपाध्याय कँडेल सम्मानित भएका छन् । 

पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६ तर्फ राजनीतिक र सैद्धान्तिक विधामा ललितपुरका स्नेहलता गुरुवाचार्य वन श्रेष्ठ, इतिहास विधातर्फ कपिलवस्तुका डा माधवराज पन्थी सम्मानित भएका छन् । साहित्य, संस्कृति र विज्ञानतर्फ काठमाडौँको राष्ट्रिय आविस्कार केन्द्रलाई सम्मानित गरिएको छ ।

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६ कातर्फ समाज सुधार अभियान विधामा जाजरकोटका नवराज विक (मरणोपरान्त), मानव अधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सीप कला, शिक्षा, साहित्य, लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियार सम्मानित भएका छन् । 

यी सबै पुरस्कारको राशि राष्ट्रिय तथा संस्थागततर्फ रु एक लाख र प्रादेशिकतर्फ रु ५० हजार रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्री भट्टराईद्धारा सम्मान–
पर्यटनमन्त्री योगेशकुमार भट्टराईले विभिन्न व्यक्तित्वलाई पुरस्कार समर्पण गरी सम्मान गरेका हुन् । उनले ऋषिमुनिहरुले स्थापित गरेको साहित्य, देशको प्राकृतिक सुन्दरता, भगवान् बुद्धले दिएका सिद्धान्तलगायत विभिन्न महान व्यक्तित्वले छाडेर गएका आदर्श सिद्धान्तका कारण नेपाल साहित्य सिर्जनाको भण्डार भएको बताए ।

मन्त्री भट्टराईले जातजाति, संस्कृति, रीतिरिवाज र  भाषासाहित्यलाई एकै ठाउँमा राख्ने गरी काठमाडौँको कीर्तिपुरमा राष्ट्रिय सङ्ग्रहालय बनाउनेसमेत बताए । उनले नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहदेखि नेपालका विभिन्न लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने नेता, साहित्यकार, स्रष्टालाई , राष्ट्रिय व्यक्तित्वको स्मारकस्थल निर्माण गर्न लागिएको जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ