arrow

विदेशी औषधी कम्पनीको स्वार्थमा स्वास्थ्यमन्त्री ढकाल, औषधी व्यवसायी निरन्तर सडकमा

logo
प्रकाशित २०७७ साउन १ बिहिबार
bhanubhakta-medicine-produc.jpg

काठमाडौं । नेपाली औषधी उद्योगहरुको प्रबर्द्धन विरुद्ध सरकारले लिएका निर्णयहरु विरुद्ध नेपाल औषधी उत्पादक संघ  निरन्तर प्रदर्शनमा उत्रिएको छ। सरकारले विदेशी औषधी कम्पनीहरुलाई पोस्ने निर्णय गरेको आरोप लगाउँदै संघ सडकमा उत्रिएको हो । 

संघले औषधी ब्यबस्था विभागमा शान्तिपूर्ण धर्ना कार्यक्रम जारी राखेको छ। संघले बिहीबार पनि धर्ना जारी राख्दै पत्रकार सम्मेलन समेत गर्ने भएको छ। संघले सरकारले नेपाली औषधी उद्योगलाई आत्मनिर्भर बनाउने कार्य नगर्ने र यो वा त्यो बहानामा नेपाली उद्योगहरुको प्रबर्दनका विरुद्धमा गरिएका निर्णय तत्काल फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताएको छ।

नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले स्वदेशी उद्योगमैत्री नीति नबनाउँदा स्वदेशी उद्योगहरु पलायन हुनेभएपछि आफूहरु सडकमा आउनु परेको बताए । 

स्वास्थ्यमन्त्री ढकालले औषधी परामर्श परिषदको बैठक राखी तत्काल कार्वान्वयन गर्ने बचन दिए विपरित एक्कासि स्यानेटाइजरको दर्ता समय थपले आन्दोलनमा आउनु परेको अधिकारीले बताए । मन्त्रिस्तरिय निर्णयले मिति २०७७ असार २२ गते स्यानेटाइजरको दर्ताको लागि थप ३ महिना समयावधी दिने निर्णयको संघले बिरोध गरेको छ। 

उत्पादक संघका अनुसार दर्ता समय थपिनु भनेको बिना दर्ता र बिना गुणस्तर परीक्षण थप ३ महिना बजारमा स्यानेटाइजर बिकी गर्न दिनु जनताको स्वास्थ्य माथिको खेलबाड हो । यो वा त्यो बहानामा नेपाली उद्योगहरुको प्रबर्दन विरुध्दमा गरिएका निर्णय तत्काल फिर्ता लिन संघले सडकमै उत्रेर माग गर्दै आएको छ। 

संघले स्यानेटाइजरमा नेपाली औषधी उद्योग आत्मनिर्भर भईसकेको हुँदा बिना दर्ता र गुणस्तर परिक्षण बिक्री गर्न दिने निर्णय फिर्ता लिनुपर्ने, जेठ १७ गते स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने एवं औषधीमा आत्मनिर्भर उन्मुख गराउने नीति तर्जुमा गर्ने सम्बन्धमा औषधी ब्यबस्था विभागका निर्देशकको संयोजकत्वमा अर्थ, उद्योग, बाणिज्य, स्वास्थ्य तथा स्वतन्त्र अर्थविद् सहितको विज्ञ समूहले दिएको प्रतिवेदनका आधारमा ३० वटा उत्पादनको कच्चापदार्थ मात्र आयात गर्ने निर्णय गरी मन्त्रालयबाट कार्यान्वयनको लागि कार्यतालिका सहित पठाइएको निर्णय तत्काल कार्यान्वयन गर्न माग गरेको छ। 

जेठ १९ गतेको मन्त्रिपरिषदको निर्णयले स्वीकृत प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धि निर्देशिका २०७४ बमोजिम औषधी ब्यबस्था विभागले नियमन गर्नेगरी स्वीकृति गरिएको भए तापनि ती सामग्रीहरुको उत्पादन र नियमनको कुनै पनि कार्यको थालनी हालसम्म पनि नगरिएको जनाउँदै संघले जसका कारण मास्क, निसंक्रमक, पिपिई, कस्मेटिक, खाद्य परिपूरक, भिटीएम लगायत उत्पादन नेपालमै उत्पादन हुनसक्ने भए पनि विदेशीबाट खरिद गर्न वाध्य गरिएको बताएको छ।

स्वदेशी औषधी उद्योगले कुनैपनि औषधीको उत्पादन गर्न चाहेमा उत्पादन अनुज्ञापत्र दिनुपूर्व औषधी सल्लाहकार समितिबाट स्वीकृत लिनुपर्ने तर सोही औषधी आयात गर्न बिशेष अनुमति र पछि सल्लाहकार समितिबाट अनुमोदन गराउने ब्यवस्था गरिएको निर्णयप्रति असहमति जनाउँदै सो कारण स्वदेशी उद्योगले कुनै नयाँ औषधी उत्पादनको अनुमतिमात्र लिन पनि वर्षौं कुर्नुपर्ने जस्ता विभेदकारी निर्णय सच्याउन माग गरिएको छ। 

स्वदेशी औषधी उद्योगको प्रमाणिकरणको लागि निरीक्षण पश्चात् पनि महिनौंसम्म प्रमाणिकरण नगर्ने तर विदेशी उद्योगको हकमा हप्ता दिनमै दर्जनौं उद्योगको निरीक्षण गरी प्रमाणिकरण गर्ने गरिएको साथै हरेक दुई वर्षमा विदेशी कम्पनीको पनि अडिट गरिनु पर्ने माग पनि संघले सारेको छ।

गत बर्ष फागुन १९ गतेको राजपत्रमा प्रकाशित गरी स्वदेशी उद्योगलाई मात्र भार पर्ने गरी कच्चापदार्थको आयात सिफारिसमा समेत राजश्व दस्तुर लिने गरी असामान्य रुपमा १२ गुणासम्म राजश्व दस्तुर वृद्धि गरिएको हुँदा स्पष्ट रुपले स्वदेशी उद्योगलाई हतोत्साहित गरिएको संघको भनाई छ। 

नेपाल सरकारले हरेक वर्ष नेपाली औषधी उद्योगलाई संरक्षण गरि आत्मनिर्भर बनाउने भनी लेख्ने तर कहिल्यै पनि उद्योगको विकाश नगरेका कारण नै यो समयमा पनि आन्दोलनको लागि बाध्य भएको संघको भनाई छ। 

विदेशीले कठिन समयमा औषधी निकासी रोक्न सक्ने तर हाम्रो सरकारले आत्मनिर्भर भईसकेको औषधी आयात रोक्न किन नसक्ने भन्ने प्रश्न संघले उठाएको छ। नेपाली उद्योगको विकाश र राष्ट्रलाई आत्मनिर्भर बनाउन, कोरोना भाइरसको संक्रमणको यो बेला गुणस्तरिय उत्पादन मात्र बजारमा बिक्री गर्न पाउनु पर्नेमा सरकारको यो निर्णयले जनताको स्वास्थ्यमा असर पर्ने भन्दै संघ आन्दोलित छ । 

नेपाली उत्पादकहरूले पूर्ण रुपमा गुणस्तरको सुनिश्चितता र दर्ता गरेर आफ्ना उत्पादन बजारमा बिक्री गरिरहँदा कुनै पनि उत्पादन दर्ता नगरी बजारमा बिक्री गर्न पाउने सरकारको निर्णयले नेपाली औषधी उद्योगलाई धरासायी बनाउन कुनै अदृश्य शक्ति लागिपरेको देखिएको संघले जनाएको छ।

नेपाली औषधी उद्योगीहरु धर्नामा बसेर विरोधको कार्यक्रम गरेको इतिहासमा नै पहिलोपटक भएको उल्लेख गर्दै संघले आफ्नो कार्यक्रमलाई नेपाल आयुर्वेद उत्पादक संघ, निर्यात ब्यवसायी महासंघ, कम्प्युटर एसोसियसन नेपाल, नेपाल जेम्स तथा ज्वलेरी एसोसियसन, नेपाल कार्गो तथा कुरियर संघले पनि ऐक्यवद्धता जनाएको बताएको छ।

संघले बिहीबार बिहान ११ः३० देखि १२ः३० बजेसम्म धर्ना कार्यक्रम गरेर १ बजे पत्रकार सम्मेलन गरी विस्तृतमा आफ्ना माग, त्यसको प्रगति र स्वास्थ्य मन्त्रालयले देखाएको व्यवहार छरपष्ट पार्ने महासचिव अधिकारीले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ