arrow

औषधि उत्पादकले सरकारलाई सोध्यो : औषधिमा आत्मनिर्भर बनाउछौ भन्न नपाउने ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन १ बिहिबार
medicine-industries.jpg

काठमाडौं। आयातित औषधि रोक्नुपर्ने र नेपालको आफ्नै उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने माग राख्दै आएका औषधि उत्पादक संघले सरकारको चेतना माथि प्रश्न उठाएको छ। संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मुलुकलाई चाहिने औषधि मुलुकमै उत्पादन गरी औषधिमा आत्मनिर्भर बनाउँछौं भन्दा पनि सरकारले वेवास्ता गरेकोले सरकारको चेतनाप्रति प्रश्न उठाएका छन्।

सरकारले नेपालमै उत्पादित औषधिलाई भन्दा पनि आयातित औषधिलाई प्रोत्साहन गरिरहेको भन्दै संघले औषधिको आयात रोक्नु पर्ने माग विगतदेखि नै उठाउँदै आएका पत्रकार सम्मेलन गरेर जानकारी दिए।

‘बिदेशीले कठिन समयमा औषधी निकासी रोक्न सक्ने तर हाम्रो सरकारले आत्मनिर्भर भईसकेको औषधी आयात रोक्न किन नसक्ने’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव विप्लब अधिकारीले प्रश्न गर्दै भने, ‘नेपालमा सजिलै बन्न सक्ने, माग अनुसार आपूर्ति गर्न सकिने र मुल्यको सुनिश्चितता भएका उत्पादनहरु तत्काल आयात बन्द गरी नेपाली उधोगको बिकाश र राष्ट्रलाई आत्मनिर्भर बनाउने हाम्रो माग हो।’

उत्पादकका समेत कमीकमजोरी हुन सक्ने बताउँदै अधिकारीले औषधि उद्योग नै खोल्न गल्ती नभएको दावी गरे। ‘के यो देशमा उद्योग खोलेर हामीले गल्ति नै गरेका हौ त ?’ प्रश्न गर्दै उनले थपे, ‘औषधि उत्पादन गर्ने औषधि बिज्ञ र औषधि बैज्ञानिकहरु नेपालमा नै उपलब्ध छन्। नेपालमा नै पढेका तिनीहरुले आफुलाई संसारभरि अब्बल साबित गरिसकेका छन् ।  तिनीहरुले स्वदेशमा आफुलाई अब्बल साबित गर्न नपाउने ?’ उनको प्रश्न थियो।

त्यस्तै उनले औषधि उत्पादकले मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउने कुरा अघि सार्दा सरकारलाई नपचेको बताए । ‘देशलाई हामी औषधिमा आत्मानिर्भर बनाउछौ भन्न नपाउने ?’ प्रश्न गर्दै अधिकारीले भने, ‘हामी औषधि उद्योगीले सधै परिक्षा मात्र दिनुपर्ने हो र ? अनि भुकम्प, नाकाबन्दी र हाल सालकै कोभिड -१९ को कारण भएको लकडाउनमै समेत राम्रोसग काम गरेको स्मरण समेत गरे।

औषधि उत्पादक संघकै कारण नेपालमा कहिल्यै पनि औषधिको अभाव नभएको दावी गर्दै उनले भविष्यमा समेत औषधिको अभाव हुन नदिने र त्यसका लागि आयातित औषधि रोक्नु पर्ने माग आफुहरुको रहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

संघले आफुले उत्पादन गरेको औषधिको गुणस्तरमा कुनै आशंका नभएको भन्दै नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्न सरकारले आयातित औषधिमा रोक लगाउनुपर्ने माग जोडदारका साथ अघि बढाएको बताएको छ।

नेपाल औषधि उत्पादकको संघको प्रेस बिज्ञप्ती

मिति २०७७ श्रावण ०१

आदरणिय पत्रकार ज्युहरु, नमस्कार                            

सर्बप्रथम म  नेपाल औषधि उत्पादक संघको तर्फबाट हाम्रो निमन्त्रणा स्वीकार गरि यस पत्रकार सम्मेलनमा उपस्थित भइदिनु भएकोमा सबैलाई धन्यबाद दिदै यहाहरुलाईहार्दिक स्वागत गर्दछु। कोभिड-१९ को यो विषम परिस्थितिमा पनि आफ्नो ज्यानको परवाह नगरी  हामि गत २०७७ असार २९ गते बाट हाम्रा मागहरु सहित धर्नामा रहेको सबैलाई जानकारी नै छ र यहाहरु सबैले यसमा आफ्नो कलम मार्फत हामीलाई सहयोग गरि  रहनु भएको छ,  जसको लागि हामि नेपाल औषधि उत्पादक संघ यहाहरुमा हृदय देखि धन्यबाद ब्यक्त गर्दछौ।

कोरोना भाइरसको महामारीले गरिएको लक डाउनको कारण देशनै ठप्प भएको समयमा पनि अत्यावश्यक बस्तु औषधि  उत्पादन गरी आजसम्म स्वदेशमा उत्पादित औषधिहरु को आपूर्तिमा कमि हुन दिएका छैनौ र हामि अभाब हुन दिने पनि छैनौ।

हामि स्वास्थ्य सम्बध्द औषधि उधोगीहरु यो विषम परिस्थितिमा पनि धर्ना दिन बाध्य किन भयौ त ?
नेपाल औषधि उत्पादक संघले माननीय स्वास्थ्य मन्त्री ज्यु ,मन्त्रालयका बिशिष्ठ पदाधिकारी ज्यु हरु र  औषधि ब्यबस्था विभागका महानिर्देशक ज्यु  लाई भेटेर नै विभिन्न समयमा नेपाल सरकारले गरेका निर्णयको कार्यान्वयन गरिदिन १८ बुदे माग सहित पत्र बुझाइ सकेको  थियौ । मन्त्री ज्यु बाट औषधि परामर्श परिषदको बैठक  तत्काल राखी  कार्वान्वयन गर्ने बचन दिनु भएको थियो  र नेपाल औषधि उत्पादक संघले उक्त परिषदको बैठकको लागि आफ्ना मागहरु पनि बुझाइसकेको थियो।

तर एक्कासि हाम्रा मागहरु लाइ बेवास्ता गरी २०७७ असार २२ गते माननीय मन्त्रि स्तरिय  निर्णयले  स्यानेटाइजर को दर्ता समय तिन महिना  थप गरिएकोले  हामि बाध्य भएर आन्दोलनमा आउनु परेको हो।२०२९ साल वाट नेपालमा औषधिको उत्पादन शुरु भएको हो। २०५१ सालमा नेपाल सरकारले औषधि नीति तर्जुमा गरि १० बर्ष भित्रमा देशलाई आत्मानिर्भर बनाउने नीति लिएको थियो। तर २०६१ सालसम्म पनि कुनै  आत्मानिर्भर बनाउने कार्यक्रम नआएको ले २०६१ साल देखि नै हामि औषधिमा  देशलाई आत्मानिर्भर बनाउन सरकारलाई भनिरहेको  छौ। यो आन्दोलन पनि त्यसैको निरन्तरता हो।

यस आन्दोलनमा हाम्रा मागहरु :
१. स्यानेटाइजरमा नेपाली औषधी उधोग आत्मनिर्भर भईसकेको हुदा बिना दर्ता र गुणस्तर परिक्षण बिक्रि गर्न दिने निर्णय फिर्ता गराउन ।

२. २०७४-०२-१७ गते स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने एबं औषधीमा आत्मनिर्भर उन्मुख गराउने निति तर्जुमा गर्ने सम्बन्धमा औषधी ब्यबस्था बिभागका निर्देशकको संयोजकत्वमा अर्थ, उधोग, बाणिज्य, स्वास्थ्य तथा स्वतन्त्र अर्थबिद सहितको बिज्ञ समुहले दिएको प्रतिवेदनका आधारमा ३० वटा उत्पादनको कच्चापदार्थ मात्र आयात गर्ने निर्णय गरि मन्त्रालय बाट कार्यान्वयनको लागी कार्यतालिका सहित पठाइएको भएतापनि हाल सम्म कार्यान्वयन गरिएको छैन यसको तत्काल कार्यान्वयन गर्न।

३. २०७४-०२-१९ गतेको मन्त्रिपरिषदको निर्णयले स्वीकृत प्रबिधिजन्य स्वास्थ्य सामाग्री तथा उपकरण सम्बन्धि निर्देशिका २०७४ बमोजिम औषधी ब्यबस्था बिभागले नियमन गर्नेगरि स्वीकृति गरिएको भएतापनि ती सामाग्रीहरुको उत्पादन र नियमनको कुनैपनि कार्यको थालनी हालसम्म पनि गरिएको छैन फलस्वरुप मास्क, निसंक्रमक , पिपिई,कस्मेटिक,भिटियम , खाध्य परिपुरक  लगायत उत्पादन  नेपालमै उत्पादन हुनसक्ने भएतापनि उत्पादन अनुमति र प्रोत्साहन गरिएको छैन । यसको तत्काल कार्यान्वयन गर्न।

४.  स्वदेशी औषधी उधोगले कुनैपनि नयाँ औषधीको उत्पादन गर्न चाहेमा उत्पादन अनुज्ञा दिनु पूर्व औषधी सल्लाहकार समिति बाट स्वीकृत लिनुपर्ने तर सोहि औषधी आयात गर्न बिशेष अनुमति र पछि सल्लाहकार समिति बाट अनुमोदन गराउने ब्यबस्था गरिएको छ फलस्वरुप स्वदेशी उधोगले कुनै नयाँ औषधी उत्पादनको अनुमति मात्र लिन पनि बर्षौं कुर्नुपर्ने तर आयात गर्दा तत्काल अनुमति पाइने भएकाले स्वदेशी उधोगलाई भन्दा आयातलाई प्रोत्साहन गरिएको छ । त्यसैले स्वदेशी उत्पादकलाई प्रोत्साहन गरि उधोगको बिकाश गरि देशलाई आत्मानिर्भर बनाउन  ।

५. स्वदेशी औषधी उधोगको GMP प्रमाणिकरणको लागी निरिक्षण पश्चात पनि महिनौं सम्म प्रमाणिकरण नगर्ने तर बिदेशी उधोगको हकमा हप्ता दिनमै दर्जनौ उधोगको निरिक्षण गरि प्रमाणिकरण गर्ने गरिएको हुँदा स्वदेशी उधोगहरु निरुत्साहित भएका छन । त्यसैले स्वदेशी उत्पादकलाई प्रोत्साहन गरि उधोगको बिकाश गरि देशलाई आत्मानिर्भर बनाउन  ।

६. हालै मिति २०७६-११-१९ गतेको राजपत्र मा प्रकाशित गरि स्वदेशी उधोगलाई मात्र भार पर्ने गरि कच्चापदार्थको आयात सिफारिसमा समेत दस्तुर लिने गरि असामान्य रुपमा १२ गुणा सम्म बृद्धि गरिएको हुँदा स्पष्ट रुपले आयातलाई प्रोत्साहन गरिएको देखिन्छ । यो निर्णयलाई तत्काल फिर्ता लिन।

७. बिदेशीले कठिन समयमा औषधी निकासी रोक्न सक्ने तर हाम्रो सरकारले आत्मनिर्भर भईसकेको औषधी आयात रोक्न किन नसक्ने ,त्यसैले नेपालमा सजिलै बन्न सक्ने ,माग अनुसार आपूर्ति गर्न सकिने र मुल्यको सुनिश्चितता भएका उत्पादनहरु तत्काल आयात बन्द गरि  नेपालि उधोगको बिकाश र राष्ट्रलाई आत्मानिर्भर बनाउन।

हामीहरुमा पनि कमि कमजोरीहरु होलान तर के यो देशमा उधोग खोलेर हामीले गल्ति नै गरेका हौ त ? औषधि  उत्पादन गर्ने औषधि बिज्ञ र औषधि बैज्ञानिकहरु स्वदेशमा नै उपलब्ध छन्। नेपालमा नै पढेका तिनीहरुले आफुलाई संसार भरि अब्बल साबित गरिसकेका छन।  तिनीहरुले स्वदेशमा आफुलाई अब्बल साबित गर्न नपाउने ?देशलाई हामि औषधिमा आत्मानिर्भर बनाउछौ भन्न नपाउने ? हामि औषधि उधोगिले सधै परिक्षा मात्र दिनु पर्ने अनि भुकम्प, नाकाबन्दी र हाल सालकै कोभिड -१९ को कारण भएको लक डाउन नै ,नेपाल सरकारले छातीमा हात राखेर भन्नु पर्यो  हामीले कुनै  बेला  नेपालमा बन्ने कुनै औषधि अभाव हुन दियौ।हामी गर्व साथ् भन्न सक्छौ अभाव हुन दिएको पनि छैन र दिने पनि छैनौ।

तसर्थ ,अन्त्यमा मा सम्पूर्ण पत्रकार ज्यु हरुलाई आग्रह गर्दछौ यो हामि आफ्ना लागि मात्र गरिरहेका छैनौ, यो हामि देशकै लागि गरिरहेका छौ। मानिस केहि दिन अन्न बिना बाच्न सक्ला तर औषधि बिना बाच्न सक्दैन, हतियार चलाएर भन्दा औषधि नपठाएर नेपालीहरु असुरक्षित बनाउनु भन्दा पहिल्यै नै हामि औषधिमा आत्मानिर्भर हुन जरुरि छ र यो हाम्रो लडाई देशको आर्थिक बिकाश र आत्मानिर्भरता को लागि हो, सरकारको बिरोधमा होइन। हाम्रो यस आन्दोलनमा नेपाल आयुर्बेदिका औषधि उत्पादक संघ ,उधोग बाणिज्य महासंघ ,नेपाल उधोग परिसंघ ,औषधि थोक ब्यबसायी संघ (PDAN),NPA,PHAN,GPAN,HOSPAN, निर्यात ब्यबसायी महासंघ, कम्प्युटर एसोसिएसन नेपाल , नेपाल जेम्स तथा ज्वलेरी संघ ,नेपाल कार्गो तथा कुरियर एसोसिएसनले एकबध्दता जनाइसक्नु भएको छ र अन्य संघहरु पनि आउने क्रम जारि छ। कृपया सर/म्याडम न्यूज पोष्ट भए पश्चात न्यूज लिङक पठाइदिनु हुन पनि विनम्र अनुरोध गर्दछु।'


धन्यबाद

जी. नारायण क्षेत्री                          बिप्लब अधिकारि

  अध्यक्ष                                    महासचिब



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ