arrow

रातो हाब्रेको गणना सुरु

logo
प्रकाशित २०७३ जेठ १ शनिबार
panda5.jpg.jpeg
धुन्चे (रसुवा)। दुर्लभ रातो हाब्रेको सङ्ख्या यकिन गर्न र वासस्थानको पहिचान गर्ने उद्देश्यले लाङटाङ राष्ट्रिय निकुञ्जभित्र अध्ययन सुरु भएको छ ।  लाङटाङ राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणमा सहयोग पुर्‍याउँदै आएको मध्यवर्ती क्षेत्र सहयोग आयोजना(डब्लुडब्लुएफ)सँग हातेमालो गरी अगाडि बढेको हरियो वन कार्यक्रमद्वारा निकुञ्ज अन्तर्गत नुवकोट जिल्लाको घ्याङफेदी गाविसको इन्द्रेणी मध्यवर्ती उपभोक्ता समितिको वनक्षेत्रमा क्यामराको सहायता (ट्याप प्रविधि) बाट हाब्रेको गणना सुरु भएको निकुञ्जले जनाएको छ । 
 
वासस्थान पहिचान समेतका कार्य सम्पन्न गर्न १५ दिनसम्म एउटै क्षेत्रमा अध्ययन गरिने छ । त्यसका लागि स्थानीयस्तरकै २५ जनाको जनशक्ति परिचालन गरिएको बताइएको छ । 
 
लज्जालु स्वभावको रातो हाब्रे संरक्षणका लागि निकुञ्जको आधार इलाका रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको भूभागमा गैसस र समुदायले सहयोग गरेपछि संरक्षणमा मद्दत पुगेको स्थानीय बासिन्दाले बताएका छन् । सन् १९८७ मा वातावरणविद् डा प्रल्हाद योञ्जनले छ महिनाको प्रयासबाट गोसाइँकुण्ड मार्ग रसुवाको चन्दनबारी–चोलाङपाटी क्षेत्रमा हाब्रे भएको पुष्टि भएको थियो । 
 
निकुञ्जले आफ्नो कार्य क्षेत्रका सबै क्षेत्रमा क्रमिक रुपले अध्ययन जारी राख्दै सहभागितामूलक तवरले संरक्षण अगाडि बढाएको बताउँदै प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले वन, वन्यजन्तु लगायत जैविक विविधता संरक्षणमा सबै क्षेत्रबाट निरन्तर सहयोग मिल्ने विश्वास व्यक्त गरे । बिरालोको आकारमा, रातो रौँ र आँखाको छेउमा सेतो थोप्लाले आकर्षक देखिने रातो हाब्रे अग्लो रुखको टोड्काभित्र सुरक्षित भएको महसुस गर्छ । 
 
घ्याङफेदीबाट सुरु गरिएको थप अध्ययन दोस्रो चरणमा चन्दनबारीमा पनि गरिने बताइएको छ । क्यामराको सहायताले त्यस क्षेत्रमा अन्य वन्यजन्तु पनि पहिचान गर्न सहज हुने डब्लुडब्लुएफका प्रशासन तथा लेखा अधिकृत राजन रिजालले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ