arrow

बाग्लुङका सापकोटाले खुवाए पोर्चुगलका १० हजारलाई निःशुल्क खाना

पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी समेत घोषित

logo
भरत प्रधान
प्रकाशित २०७७ साउन ४ आइतबार
portugal-nepali-food.jpg

काठमाण्डौं। कोरोनाको महामारीका कारण समस्यामा परेका पोर्चुगलका निम्न बर्गीय परिवारलार्ई पोर्चुगलमा रहेका एक नेपालीले निःशुल्क खाना खुवाएका छन् । बाग्लुङ दमेकका ४६ बर्षीय टंक सापकोटाले कोरोनाका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका पोर्चुगलका निम्नबर्गीय परिवारलाई निःशुल्क खाना खुवाएका हुन् ।

इटालीयन सेफका रुपमा चर्चित सापकोटाले ‘एक महिने निःशुल्क खाना अभियान’ सञ्चालन गरेर राजधानी लिस्बनका निम्न बर्गीय परिवारको घर–घरमै पूगेर निःशुल्क खाना खुवाएका हुन् । लिस्बन महानगरका २५ सय परिवारका १० हजार ५ सयलाई निःशुल्क खाना खुवाईएको सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार लिस्बन महानगर अन्तर्गतका २४ वटै वडाका बिपन्न परिवारलाई निःशुल्क खाना खुवाईएको हो । कोरोनाको महामारीबाट प्रभावित भई समस्यामा परेका परिवारलाई एक छाक मात्र भएपनि खाना खुवाएर सहयोग गरौं भन्ने उद्धेश्यले निःशुल्क खाना खुवाईएको सापकोटाले बताए ।

“हामी एक्लैले संसार बदल्न त सक्दैनौं, तर संसार बदल्न सहयोग गर्न सक्छौं” भन्ने सन्देशका साथ सापकोटाले कोरोनाको महामारीबाट प्रभावित भएकाहरुलाई लक्षित गरि १० हजार ५ सय पिज्जा निःशुल्क खुवाएका हुन् । गत १६ जुन देखि शुरु भएको एक महिने निःशुल्क खाना अभियान बिहीबार सम्पन्न भएको हो । बिपद्को समयमा उदाहरणीय काम गरौं र सकारात्मक सन्देश प्रवाह गरौं भनेर परोपकार र बिशुद्ध सेवाभावको उद्धेश्यले निःशुल्क खाना अभियान सञ्चालन गरिएको सापकोटाले बताए । २५ बर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका सापकोटा इटालीयन खानाका लागि युरोपमा प्रख्यात छन् । सापकोटा पोर्चुगलका एक सफल व्यवसायी पनि हुन् ।

घुम्ती रेष्टुरेन्ट कै रुपमा सञ्चालित उक्त अभियानमा सापकोटा सहित १५ जना कामदार खटेका थिए । सापकोटाको उक्त अभियानको ब्यबस्थापनमा भने अर्का नेपाली ब्यबसायी लक्ष्मी प्रसाद सापकोटाले सघाएका थिए । खानाको तयारी देखि लिएर पिज्जा पकाउने सबै काम फिल्ड बाटै गरिएको उनले बताए । ताजा र गुणस्तरयुक्त खाना खुवाउने अभिप्रायले घुम्ती रेष्टुरेन्ट सञ्चालन गरिएको सापकोटाको भनाई छ । खाना बितरणको ब्यबस्थापन र संयोजन भने महानगरले गरेको उनले बताए । महानगरका केही सरकारी कर्मचारी सहित करिब ५ सय स्वयंसेवकले स्वतस्र्फूत रुपमा उक्त अभियानमा सहभागी भएको सापकोटाले बताए ।

महानगरले उपलब्ध गराएको सूचिका आधारमा न्यून आय भएका बिपन्न परिवारलाई खाना बितरण गरिएको सापकोटाले बताए । एक महिने निःशुल्क खाना अभियानका लागि करिब ९७ हजार युरो अर्थात् करिब एक करोड २० लाख नेपाली रुपैयां खर्च भएको सापकोटाको भनाई छ ।

सापकोटाको आफ्नै लगानीमा पोर्चुगलको राजधानी लिस्बनमा तीन वटा इटालीयन र दुई नेपाली गरी पाँच रेष्टुरेन्ट सञ्चालनमा रहेका छन् । सापकोटाले सञ्चालन गरेका ‘र्फोनो दी ओरो’ रेष्टुरेन्ट विश्वकै उत्कृष्ट २० पिज्जा बनाउने रेष्टुरेन्ट मध्येको एक हो ।

सापकोटाले सन् २०१८ मा इटालीबाट खरिद गरि ल्याएका बिश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमूल्य च्याउ (ह्वाइट ट्रफल) पोर्चुगलमा सार्वजनिक गरेका थिए । उनले इटालियन खानामा प्रर्दशन गरेको कला र प्रतिभा कै कारण दर्जनौं पुरस्कार समेत प्राप्त गर्न सफल भएका छन् । सन् २०१६ मा उनी पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी समेत घोषित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ