arrow

बीपी, कांग्रेस र म

बिर्सिएको आदर्श सम्झाउने समय आएको छ

logo
रमेश बस्ताकोटी,
प्रकाशित २०७७ साउन ८ बिहिबार
ramesh-bastokoti.jpg

नेपालमा मात्र नभई समाजवादीहरुका बीचमा विश्वमानै उच्च छवि बनाएका महान राजनितिज्ञ हुन् विपि कोईराला। नेपाली काँग्रेस पार्टीका सस्थापक नेता कोईराला जीवनभर प्रजातन्त्रका लागि लडिरहे । उनै बीपीका विपिका राजनैतिक जीवन र उनका प्रेरणादायी कुराहरुलाई समेटेर यो आलेख लेख्ने प्रयास गरिएको छ। हामी सानो हुँदा बीपीबारे प्रसस्त किस्साहरु सुनिन्थ्यो । बीपी यस्ता थिए उस्ता थिए भनेर स्कुलमा सरहरुले सुनाउनुहुन्थ्यो। हामी बुझ्ने भएर स्कुल पढ्न थाल्दा नेपालमा प्रजातन्त्र आइसकेको थियो । त्यसकारणले पनि बीपीसंगसंगै हिंडेका नजिकबाट चिनेका र बीपी बिचारबाट अत्यन्त प्रभावित शिक्षकहरुले हामीलाई पढाउँदा बीपी र उनका बिचारहरुबारे भनिररहनुहुन्थ्यो। त्यसकारण बीपीप्रति सानैदेखि सकारात्मक प्रभाव परेको थियो । कक्षा उक्लदै गर्दा बीपीबारे पढ्न पाईयो। उनका राजनैतिक जीवन, उनका सिद्धान्त र बिचारहरुबारे अध्ययन गर्न थालियो । 

सानैमा पढें मोहन समशेर र बीपीबिच भएका संवादका कुरा जहाँ मोहनसमशेरले बीपीलाई प्रधानमन्त्री भएपछि सोधेका हुन्छन् ,“ बीपी अब तपाई प्रधानमन्त्री हुनुभयो, तपाईको उदेश्य के छ ? बीपीले सरल उत्तर दिएका थिए ,“ म एउटा मध्यम बर्गीय परिवारको मान्छे हुँ, बिहान बेलुका खान हामीलाई दुःख छैन । मेरो अलिकति खेत पनि छ, त्यहीबाट गुजारा हुन्छ, मेरो अबको उदेश्य भनेको हरेक नेपालीलाई मेरै हैसियतमा पुर्‍याउँने हो ।” बीपीको यस्तो बिचार सानैमा पढेको थिए मैले । जुन आज सम्म पनि मनमा अमिट छाप बनेर बसेको छ । यस्ता अनेकौ कुराहरु बीपीका बारेमा पढिन्थ्यो , सुनिन्थ्यो, बीपीका बारेमा अग्रजहरुबाट बुझिन्थ्यो । त्यसकारण त्यतिबेलाको मेरो बाल मस्तिष्कबाटनै बीपी बिचार र सिद्धान्तप्रति झुकाव बढेको थियो । अहिले पनि बीपीको त्यो बिचार, आर्दश र सिद्धान्तलाई आत्मसात् गरिएको छ । 

हामीले आत्मकथामा बीपीलाई पढ्यौं, सुन्दरीजलमा बीपीलाई पढ्यौं, अन्तर्वार्ताहरु पढ्यौं, लेखहरु पढ्यौं, बिचार गोष्ठीहरुमा सहभागी भएर बीपीलाई सुन्यौं । मेरो बा, हजुरबाले रुखमा भोट हाल्थे भनेर म रुखमा भोट हाल्ने भएको होईन। बीपीलाई पढेर, बुझेर, आर्दश, सिद्धान्त र बिचार मन परेर रुखलाई भोट हाल्ने भएको हुँ । त्यसकारण मलाई अहिले रुखमा भोट हाल्ने बनाउनुमा कसैको योगदान छैन । म रुखमा भोट हाल्ने हुनुको पछाडी एउटै कारण बीपी बिचार हो जसले मलाई उनलाई पछ्याउने बनायो। 

बीपी बारेको एउटा प्रसंग करिव ५ बर्ष पहिले कान्तिपुर प्रकाशनको नेपाल म्यागाजिनमा प्रकाशित भएको थियो । तत्कालीन सोभियत संघले अफगानिस्तानमाथि गरेको हमला, इन्डोनेसियामा साम्यवादी दलले ‘एडिट फर्मुला’ अन्तर्गत सुकार्नोको सत्तापलट गर्ने असफल प्रयास, भारतमा सिक्किमको विलय, भारतमा बढ्दो सोभियत प्रभाव तथा दरबारमा ‘रोयल कम्युनिस्ट’को झाँगिंदो उपस्थितिको विश्लेषण गर्दै बीपीले ‘राष्ट्रिय मेलमिलाप’को नीति अख्तियार गरे । र, ०३३ सालमा नेपाल फर्किने तयारी गर्न थाले । बीपीको त्यो निर्णय भारतिय प्रधानमन्त्री इन्दिरा गान्धीका लागि स्तब्ध पार्ने खालको थियो । इन्दिराको विश्लेषण थियो, आफ्नो देशमा ज्यानको सजायँ बोकेको मान्छे, यति सजिलै, त्यो पनि दरबारसँग कुरा नमिलाईकन कसरी जान सक्छ ? पूर्वकांग्रेस नेता बद्रीनारायण बस्नेतले लेखेका थिए, “इन्दिराको त्यस बेलाको फर्मुला बेलायतीहरूको जस्तै थियो, फुटाऊ र राज गर । बीपीलाई देखाएर दरबारलाई तर्साउने । दरबार देखाएर बीपीलाई । दरबार पनि चिनियाँ कार्ड देखाएर इन्दिरालाई बेलाबेलामा तर्साउँथ्यो ।” 

बीपी नेपाल फर्किएपछि दरबारलाई तर्साउन इन्दिरासँग कुनै कार्ड नहुने भयो । त्यसैले उनले भारतीय कांग्रेसका अध्यक्ष देवकान्त बरुवालाई बीपीकहाँ पठाइन् । आसामका बरुवा बीएचयूमा पढ्दैताका बीपीका मिल्ने साथी थिए । ‘इन्दिरा इज इन्डिया, इन्डिया इज इन्दिरा’को नारा दिँदै इन्दिराको आशीर्वाद पाएका बरुवाले बीपीलाई फकाउने अनगिन्ती प्रयास नगरेका होइनन् । बस्नेत सम्झन्छन्, “तर, बीपीले इन्दिरालाई महारानी मान्नुभन्दा आफ्नै देशको राजा मान्छु भन्दै इन्दिराको प्रस्ताव अस्वीकार गरिदिए ।“

तत्कालिन भारतकी शक्तीशाली प्रधानमन्त्री ईन्दिरा गान्धीका प्रस्तावलाई ठाडै अस्विकार गर्ने हैसियत राख्थे बीपी, उनीसंग हरेक कुरामा सवाल जवाफ गर्न सक्थे । त्यो थियो बीपीको राजनैतिक उचाई, यसले आजका दिनमा पनि म तिनै बीपीका आर्दश मुल्य मान्यता, नीति र सिद्धान्तलाई मान्ने मान्छे हुँ भन्दा गर्वले छाती फुल्छ । 

ईन्दिराकै देशमा बसेर लोकतन्त्रको हत्या गर्दै ‘इमर्जेन्सी’ लगाउने इन्दिराको निर्णयलाई बीपी ‘प्रजातन्त्रमार्फत फासिस्टवाद’तर्फ उन्मुख बताउँथे । त्यसैले उनले धेरै ठाउँमा लेखेका पनि छन्, ‘भारत अब ठूलो जेल भयो । सानो जेल नेपालमै फर्किन्छु ।’ बनारसस्थित मामुरगन्जको निरालानगर कोलोनीमा बस्दा बीपीले भनेका कुरा त्यहाँका जीवित कतिपय अग्रजहरु अझै सम्झन्छन् । भन्छन्, “इमर्जेन्सीपछि भारत पनि जेल भइसक्यो । तर, हाम्रो जेल सानो छ, त्यहीँ जान्छु । नभन्दै बीपी मेलमिलापको निति लिएर नेपाल फर्कीए र लगत्तै जेल पनि परे ।“ 

बीपी प्रधानमन्त्री हुँदै सीमानजिकै चिनियाँ सेनाको गोलीले नेपाल पुलिसका एक हबलदार बमबहादुर मारिए । त्यतिबेला भारतिय प्रधानमन्त्री जवाहरलाल नेहरुले कडा वक्तव्य दिए, ‘हाम्रो उत्तरी हिमालयन सीमामा जुन हमला भयो, त्यसलाई हिन्दुस्तानले आफूमाथि भएको हमला ठान्छ ।’ 

तर, बीपीलाई सार्वभौम राष्ट्रका प्रधानमन्त्रीका रूपमा नेहरुको त्यो प्रतिक्रिया मन परेन । उनले भोलिपल्टै नेपाली संसद्बाट नेहरुलाई प्रत्युत्तर दिए, ‘उत्तरी सीमामा जुन घटना भयो, यसप्रति हिन्दुस्तानले जुन प्रतिक्रिया जनायो, हामी भन्न चाहन्छौ, हाम्रो भूभागको रक्षा गर्न हामी सक्षम छौँ ।’ पछि भारतीय राजधानी नयाँदिल्लीमा पत्रकारहरूले बीपीको प्रत्युत्तरका विषयमा नेहरुलाई सोधेका थिए । नेहरुले जवाफ दिए, ‘बीपीले भनेको ठीक हो ।’ यो घटनामा चीनले आफ्नो गल्ती स्वीकार्दै मारिने पुलिसका परिवारलाई नेपाल सरकारमार्फत ५० हजार रुपियाँ प्रदान गरेको थियो, जुन पछि महेन्द्रलाई विदेशी राष्ट्रमाझ बीपी चीनतर्फ ढल्किदै गएको ‘प्रोपोगान्डा’ गर्न सजिलो भयो । 

यसरी राष्ट्रियताको सवालमा बीपीको अडान अविचलित थियो । उनी कुनै पनि दृष्टिकोणबाट भारत या चीनले नेपाललाई हेपेको मन पराउदैनथे र तत्काल प्रतिक्रिया जनाईहाल्थे, तत्कालिन भारतिय र चीनका शाशकहरु बीपीसंग यसकारण डराउँथे की विपिले बिस्तारै आफ्नो छवि अन्तराष्ट्रिय स्तरमा एक ख्यातप्रिाप्त राजनेताको रुपमा स्थापित गर्दै लगेका थिए । 

नेपाल र नेपालीका लागि बीपीले थुप्रै बिचार, नीति र सिद्धान्तहरु छाडेर जानुभएको छ । जुन अहिले पनि उतिकै सान्दर्भिक छ । विडम्वना आज सबैका प्रिय सान्दाजुको पुण्य स्मृतिमा यो भन्न करै लाग्छ, उनले जीवनभर प्रजातन्त्रका लागि भन्दै लडेर स्थापना गरेको पार्टी नेपाली काँग्रेसले त सान्दाजुका कुरा लागु गर्न सकेन, चाहेन अरुको के कुरा गर्नु । आज कांग्रेस बीपीलाई बेच्छ मात्र, तर बीपीका आर्दश, सिद्धान्त र बिचारहरुलाई व्यवहारमा लागु गर्दैन । यसले बीपीका अनुयायीहरुलाइृ ठुलो चोट पुगेको छ । कांग्रेस प्रजातन्त्र स्थापना पछि लामो समय सत्तामा बस्यो त्यतिबेला उसले न बीपी सम्झियो न त बीपीका बिचार सिद्धान्त र आर्दशहरुनै सम्झियो । जसले गर्दा देशमा कांग्रेसको लोकप्रियता क्रमश घट्दै गयो र कांग्रेस आजको हालतमा पुगेको छ । बीपीका आफ्नै भाई भतिजा यो देशका प्रधानमन्त्री पटक पटक भए, उनकै शिष्य शेरबहादुर पटक पटक प्रधानमन्त्री भए, अहिले काँग्रेसको सभापति छन् । बीपीकै कान्छो छोरा डा शशांक कोईराला अहिले कांग्रेसका महामन्त्री छन् । तर पनि काँग्रेसको नेतृत्व तहले कहिल्यै नेपाली राजनितिमा र सत्ता संचालनमा बीपी बिचार र नीति लागु गर्न सकेन । यसले बीपीको अनुयायीहरुलाइ त चोट परेको छ नै स्वयम् सान्दाजुको आत्मा समेत पक्कै पनि खुशी भएको छैन होला । 

बर्षको एक दुई दिन बीपीलाई सम्झिएर चर्को भाषण गर्ने, उनकै आदर्शको बाटोमा हिड्ने प्रण गर्ने तर भाषण गरेको ५ मिनेटमानै सबै कुरा भुल्ने कांग्रेस नेतृत्वको प्रवृत्तिनै समस्याको मुल जड हो । कांग्रेसले अब पनि बोलीमा मात्र होईन व्यवहारमानै बीपीको सिद्धान्त अंगिकार गर्न सकेन भने कांग्रेस फेरी पनि वामपुड्के हुँदै जानेमा दुईमत नै छ । यही सन्दर्भमा स्वयम् बीपीले भनेको एउटा भनाइ स्मरण हुन्छ,  एक दिन एकजना कार्यकर्ताले बीपीलाई सोधेछन्, सान्दाजु प्रजातन्त्र आएपछि हामी जस्ता कार्यकर्तालाई के हुन्छ, बीपीले भनेछन्, प्रजातन्त्र आएपछि एकपटक फेरी पार्टी भित्र सुकिला मुकिलाहरु हावी हुन्छन्, तिनले आर्दश बिर्सन्छन्, त्यस्ताहरुका बिरुद्ध पार्टी भित्रै फेरी तिमिजस्ता कार्यकर्ताहरुले संघर्ष गर्नुपर्दछ । बीपी कति दुरदर्शी थिए भन्ने यही कुराले पुष्टी गर्छ, नभन्दै प्रजातन्त्र आएपछि त्यस्तै भयो, बीपीका आर्दश र सिद्धान्तहरु बिर्सिन थालियो र सुकिला मुकिलाहरु हावी भए । तर ईमान्दार कार्यकर्ताहरुले अझै तिनिहरु बिरुद्ध संघर्ष गरेका छैनन् । अति हुँदै गयो भने एक दिन त्यो पनि अबश्य हुन्छ । त्यसकारण कांग्रेस नेतृत्वले यसबारेमा बेलैमा सोचोस् । बीपी व्यक्ती मात्र नभएर बिचार र सिद्धान्त हो तसर्थ बीपीलाई अब कांग्रेसले व्यवहारमानै अवलम्वन गर्न आबश्यक छ । आफु पनि केहि नयाँ दिन नसक्ने अनि ७० बर्ष पहिले बीपीले अघी सारेका सिद्धान्तलाइ पनि व्यवबहारमा अवलम्बन नगर्दा काँग्रेस नेतृत्व चक्रव्युहमा फसेको छ । चक्रव्युहबाट निस्कने एकमात्र सुत्र बीपीकै आर्दश नीति र सिद्धान्त हो । यसलाइ तुरुन्त व्यवहारमानै अबलम्बन गर्न एक पटक सबै इमान्दार कांग्रेसीहरुले नेतृत्वलाई दवाव दिन आबश्यक छ । 
( लेखक बस्ताकोटी डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल छन्, उनी नेपाल प्रेस युनियन चितवनको तालिम तथा प्रशिक्षण समितिको संयोजक र केन्द्रीय प्रकाशन बिभागका सदस्य हुन् । ) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ