arrow

पूर्व राजाद्वारा भैरवी मन्दिरको दर्शन

logo
प्रकाशित २०७३ जेठ २ आइतबार
gyanendra-shah1.jpg.jpeg
त्रिशूली । पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार नुवाकोटको भैरवी मन्दिरलगायत विभिन्न मन्दिरमा पूजापाठ गरेका छन् । सपरिवार नुवाकोट पुगेका पूर्व राजपरिवारले भैरवी, विदुरको रुद्धेश्वर महादेव र बट्टारको राममन्दिरमा पूजापाठ गरेका हुन् । 
 
देशका महत्वपूर्ण शक्तिपीठमध्ये एक मानिने नुवाकोटको भैरवी मन्दिरमा पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल, पूर्व युवराज्ञी हिमानी, हृदयेन्द्रसहितले मन्दिरमा आधा घन्टा पूजाअर्चना गरेका थिए । 
 
पूर्व राजालाई मन्दिरमा स्थानीय सन्यासीहरु, हिन्दू धर्मसम्बन्धी सङ्घसंस्था र राप्रपा नेपालका नेता कार्यकर्ताले स्वागत गरेका थिए । पूर्व राजा र पूर्व रानीलाई साततले दरबारछेउबाट ‘झल्लरी छाता’ ओडाएर मन्दिरसम्म पुर्‍याइएको थियो । स्थानीयवासीले हातमा फूल दिएर र आ–आफ्ना घर अगाडि घडा राखेर पूर्व राजाको स्वागत गरेका थिए । 
 
फर्कने क्रममा पूर्वराजाले विदुरस्थित रुदे्रश्वर महादेवको मन्दिरमा पनि पूजापाठ गरेका थिए । विदुरको मन्दिरमा पूजापाठ गर्दा पूर्व राजा ज्ञानेन्द्रमात्र सहभागी भए पनि पूर्व राजपरिवारका अन्य सदस्य सहभागी भएनन् । 
 
यस्तै, बट्टारबजारमा रहेको राममन्दिरमा पनि पूर्व राजाले दर्शन तथा पूजापाठ गरे । बट्टार क्याम्पस गेटमा ओर्लिएका पूर्व राजाले पैदल नै ५०० मिटर जति हिँडेर मन्दिर पुगेका थिए । 
 
बट्टारमा जम्मा भएका सञ्चारकर्मीले कुरा गर्न चाहे पनि पूर्व राजा ज्ञानेन्द्रले आफ्नो नितान्त व्यक्तिगत भ्रमण भएको भन्दै बोल्न चाहेनन् । उनले भने – “म भवानीको दर्शन गर्न आएको हो । देशमा फेरि शान्ति छाओस् । यो मेरो नितान्त व्यक्तिगत भ्रमण हो । म अरु कुरा अहिले बोल्दिन ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ