arrow

संखुवासभामा जताततै पहिरो, के के गर्यो क्षति ?

logo
प्रकाशित २०७७ साउन १४ बुधबार
pahiro-final.jpg

किमाथाङ्का । लगातारको वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । उत्तरदक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को सम्माटारमा पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सडकखण्ड १५ दिनदेखि अवरुद्ध  भएको  उत्तरदक्षिण सडक कार्यालयका प्रमुख इन्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिए । 

उत्तरदक्षिण सडकखण्डको मकालु–३ को सम्माटार र उवाँमा पहिरो झरेपछि सडक अवरुद्ध भएको इन्जिनीयर श्रेष्ठले बताए । 

सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको हेदाङनागढीसम्म चलिरहेको उनले बताए । लगातार वर्षा भइरहेका कारण अवरुद्ध भएको सडक कहिले खुल्छ भन्ने यकिन हुन नसकेको उनले बताए ।

विभिन्न स्थानमा पहिरो

सङ्खुवासभामा पहिरोले विभिन्न स्थानमा क्षति पुर्याएको छ ।  लगातार परेको वर्षासँगै आएको पहिरोले खाँदबारी नगरपालिका–६ तल्लो पाङ्ठामा एक घर पुरिँदा एक जना गम्भीर घाइते भएका छन् । 

सोमबार राति ३ बजे घर माथिबाट खसेको पहिरोले घर पुरिँदा खाँदबारी–६ का शान्तिबहादुर खत्री घाइते भएका हुन् । उनलाई स्थानीयवासीले उद्धार गरेर जिल्ला अस्पताल खाँदबारी ल्याएको खाँदबारी–६ का वडाध्यक्ष दयानिधि बरालले जानकारी दिए ।
 
अविरल वर्षाले खाँदबारी–९ मा रहेको तुम्लिङटार बजारसमेत डुबानमा परेको छ । तुम्लिङटार बजार क्षेत्रका घरमा माटो र ढुङ्गाले बनेका तीन कच्ची घर भत्किएका छन् । पानीले जलमग्न भएको तुम्लिङटारमा विनोद बाह्रकोटी, कृष्ण श्रेष्ठ र सम्सेर मगरको घर भत्किएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी  दिए । पहिरोले ढुंगेबिसौनीका वीरसुन्दर श्रेष्ठको घर, खाँदबारी–३ का गीता दर्जी र नारायण बुढाथोकीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

पहिरोका कारण जिल्ला कारागारसमेत जोखिम परेको छ । पहिरोले चारैतिर तान्न थालेपछि पहिरोको उच्च जोखिममा परेको खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले बताए । उनका अनुसार कारागारको माथिल्लो भाग र तल्लो भाग दुवैतिर पहिरोले तान्न थालेको छ । जिल्ला कारागारमा अहिले १२४ कैदीबन्दी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ