arrow

राष्ट्रियता कमजोर बनाउने आवाज उठ्नु अस्वीकार्य

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
740903562.jpeg
काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले नयाँ संविधानको मूल मन्त्रमाथि नै प्रहार गरी राष्ट्रियतालाई कमजोर बनाई विखण्डन निम्त्याउनेजस्ता आवाज उठ्नु जनताका निम्ति अस्वीकार्य हुने बताएका छन् ।

प्रेस चौतारी नेपालले बुधबार यहाँ उनको स्वागत तथा बधाईका लागि आयोजना गरेको कार्यक्रममा मन्त्री राईले सकारात्मक मनसायले कतिपय क्षेत्र, वर्ग, जाति र समुदायका अधिकारलाई समेट्न नसकेको सवालबारे उठाइएका आवाजलाई भने गम्भीरतापूर्वक सुनेर संवैधानिक प्रक्रियाबाट सम्बोधन गर्दै जानुपर्नेमा पनि जोड दिए । 

“संविधानमा साँच्चिकै छुटेका विषय समयक्रममा सम्बोधन हुने संवैधानिक बाटो छ तर संविधानलाई अस्वीकार गर्ने, यसलाई च्यात्ने र स्वार्थपूर्तिमा लाग्ने आवाजले मुलुकको अखण्डता जोगाउन योगदान दिन सक्दैन”–उनले भने । 

सरकारका प्रवक्ता समेत रहेका नेकपा (एमाले) का पोलिटब्युरो सदस्य राईले भने, “संविधान जारी गरेपछि लामो समयदेखिको अस्थिरता, अन्योल र सङ्क्रमणकालबाट विकास, शान्ति, समृद्धि, जवाफदेहिता, पारदर्शीता, लोकतन्त्रको नयाँ जगमा प्रवेश गरेको अवस्थामा आइपुगेकाले मुलुकलाई कसरी संस्थागत प्रणालीका रुपमा अघि बढाउने भन्ने मूल कोर्समा लाग्नुपर्छ ।” 

उनले सबै समस्याको समाधान वार्ताबाट गर्नका लागि सरकारले प्रयास गरिरहेको र भारतले गरेको अघोषित नाकाबन्दी र अमानवीय व्यवहारबारे भारत सरकारप्रति विश्वबाटै ध्यानाकर्षण भइरहेको र इन्धन आपूर्तिको अवरोध चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे । 

मन्त्री राईले सरकारले चाँडै साझा न्यूनतम् कार्यक्रम ल्याई काम गर्ने जानकारी पनि दिँदै प्रेस जगत्लाई स्वच्छ, मर्यादित, पारदर्शी र विकसित बनाउनेबारेमा आफूले अध्ययन र परामर्श गरिरहेको अवगत गराए । 

नयाँ संविधानपछिको अवस्थामा सञ्चारका नीति र संरचनामा पुनरावलोकन गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले आमसञ्चार प्रतिष्ठानको गठन, श्रमजीवी पत्रकारको पारिश्रमिक सिफारिसको कार्यान्वयन आदि विषयमा सम्बद्ध संस्थासँग छलफल गरेर चाँडो निचोडमा पुगिने बताए । 

सो अवसरमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहाललाई पनि स्वागत गरिएको थियो । सल्लाहकार दाहालले मुलुकको सञ्चार क्षेत्रको विकासमा आफ्नो तर्फबाट आवश्यक समन्वय हुने विश्वास दिलाए । 

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले नयाँ संविधानको कार्यान्वयनसँगै सञ्चार क्षेत्रमा नयाँ नीति र संरचना ल्याउने ऐतिहासिक कार्यभार मन्त्री राईमा रहेको बताए ।  चौतारीका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले मन्त्री राईको कार्यकाल प्रेसमैत्री र श्रमजीवी पत्रकार मैत्री होस् भन्ने कामना गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ