arrow

शुक्रबार थपिए २२४ संक्रमित, चार मृत

logo
सुशील दर्नाल-सञ्चिता घिमिरे,
प्रकाशित २०७७ साउन १६ शुक्रबार
corona-nepal-ministry.JPG

काठमाडौँ । गत २४ घण्टामा २२४ जनामा कोरोना देखिएको छ । यो सङ्ख्यासँगै नेपालमा कोभिड–१९ बाट संक्रमितको कूल सङ्ख्या १९ हजार ७७१ पुगेको छ । कोभिड–१९ बाट संक्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या ७२.८ प्रतिशत छ ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा सबैभन्दा धेरै पर्सामा ४१ जना संक्रमित थपिएका छन् । यस्तै काठमाडाँैमा ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५ - १५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

त्यसैगरी बारामा चार, रौतहट, कास्की, दाङ र डोटीका तीन-तीन जना, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखका दुई-दुई जना तथा रुपन्देही, भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही सप्तरी, तनहुँ, र बाँकेका एक-एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

मन्त्रालयले गर्ने कोभिड–१९ बारे नियमित प्रेस व्रिफिङमा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको बताए । मृतक सबै वीरगञ्जका हुन् भने उनीहरुमध्ये तीन जनाको वीरगञ्जमा र एक जनाको पाटन अस्पतालमा मृत्यु भएको हो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ ।

सक्रिय संक्रमित पाँच हजार ३१६ छन् । प्रदेश १ मा २२२, प्रदेश २ मा दुई हजार ३४, वाग्मती प्रदेशमा ५७२, गण्डकी प्रदेशमा ३२४, प्रदेश ५ मा ३८५, कर्णाली प्रदेशमा २९६ र सुदूरपश्चिम प्रदेशमा एक हजार ४८३ छन् । नेपालमा कोभिड–१९ पिसिआर परीक्षण प्रति १० लाख जनसङ्ख्यामा १२ हजार ७८८ र १० लाख जनसङ्ख्यामा मृत्युको दर १.९ छ ।  आजको १० हजार ७६८ सहित जम्मा तीन लाख ७५ हजार ४१६ पीसीआर परीक्षण भएको छ । क्वारेन्टिनमा रहनुभएका व्यक्तिको सङ्ख्या १२ हजार १११ छ । कोभिड–१९ बाट संक्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १५१ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १४ हजार ३९९ छन् । 

भोजपुर, सङ्खुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङ गरी छ वटा जिल्लामा कोभिड–१९ संक्रमण शून्य रहेको छ । पछिल्लो समय काठमाडौँ र बिहीबार मात्र सिरहामा आमसभा भएको खबर मन्त्रालयलाई प्राप्त भएको बताउँदै ती खबर दुःखद भएको प्रवक्ता गौतमले टिप्पणी गरे । उनले भने, “कसैले पनि कुनै पनि राजनीतिक पार्टी, सङ्घसंस्था वा कसैले पनि यस्तो खालको आमसभा नगर्नु हुन स्वास्थ्य मन्त्रालय विनम्र अनुरोध गर्दछ, काठमाडौँमा संक्रमितको सङ्ख्या बढिरहेको र कोभिड–१९ नियन्त्रणबारे हरेक दिन आग्रह गर्दा पनि नियमको पालना भएको छैन, यसले हाम्रो जनस्वास्थ्यमा ठूलो दुर्घटना पनि ल्याउन सक्छ ।”

कतिपय नाकामा पनि नियन्त्रण नभएको उनको भनाइ छ । उनले भारतबाट कामदार नेपाल ल्याएर ओखलढुङ्गा पुर्‍याएको र २१ जना कामदारमध्ये १८ जनामा कोरोना पुष्टि भएको तथ्य प्रस्तुत  गरे । पछिल्लो समयमा समूहमा बस्नेमा बढी कोभिड–१९ देखापरेको बताउँदै जसको उदाहरण प्रहरी र स्वास्थ्यकर्मीमा कोभिड–१९ पोजेटिभ आएको छ भने । अहिलेसम्म माक्सको प्रयोग नगर्ने दुई लाख जनालाई सरकारले कारवाही गरिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्यरुपमा सबैमा माक्स लगाउन पनि आग्रह गरेको छ । मन्त्रालयले सेवाग्राहीको चाप बढी हुने स्थानमा भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ । 

हालसम्म संसारभरी एक करोड ७४ लाख ७९ हजार ६२३ जना व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन् । छ लाख ७७ हजार १८ जना व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको छ । हालसम्म कोभिडबाट निको हुनेको सङ्ख्या एक करोड नौ लाख ५१ हजार ९८० रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ