arrow

कोरोना : दुई सातापछि मन्त्री कमल रानीको मृत्यु, विश्वभर कति ?

logo
प्रकाशित २०७७ साउन १८ आइतबार
kamalrani.jpg

 सिन्ह्वा, बेइजिङ । भारतमा प्रदेश मन्त्री कमल रानी वरुणको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । उत्तर प्रदेशकी मन्त्री रानीको अस्पताल भर्ना भएको दुई सातापछि मृत्यु भएको प्रदेश सरकारका प्रवक्ताले पुष्टि गरेका छन् ।

मन्त्रीको बिहान ९:३० बजे संजय गान्धी मेडिकल विज्ञान संस्थानमा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । उनमा कोरोना  संक्रमण देखिएपछि जुलाई १८ मा अस्पतालमा भर्ना भएकी थिइन्। 

साथै विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आइतबार दिउँसोसम्म कुल मृतकको संख्या छ लाख ८९ हजारभन्दा बढी पुगेको छ ।

अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार कोरानाका कारण कुल मृतकको संख्या छ लाख ८९ हजार ७० पुगेको हो । 

त्यसैगरी कुल संक्रमितको संख्या पनि एक करोड ८० लाख ३३ हजार २७९ पुगेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ । 

सबैभन्दा धेरै संक्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ । 

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल संक्रमितको संख्या ४७ लाख ६४ हजार ५२२ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ५७ हजार ९०१ पुगेको पनि अधिकारीहरुले जनाएका छन् । 

दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा २७ लाख आठ हजार ८७६ जना संक्रमित भएका छन् भने ९३ हजार ६१६ जनाको मृत्यु भएको छ । 

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८५३ जनाको मृत्यु भएको छ । कुल मृतकको संख्या भने ३७ हजार ३६४ पुगेको अधिकारीहरुले जनाएका छन् ।  भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ७३६ जना संक्रमित भएका छन् । योसँगै कुल संक्रमितको संख्या साढे १७ लाखभन्दा बढी पुगेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ