arrow

संक्रमण तीव्ररुपमा बढेपछि सप्तरीमा कर्फ्यू

logo
प्रकाशित २०७७ साउन १९ सोमबार
lock-down.jpg

राजविराज । सामुदायिकस्तरमा कोरोनाको संक्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले मंगलबार साउन २० देखि २६ गतेसम्म छ दिनका लागि कर्फ्यू (निषेधाज्ञा) जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकबाट सो निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सप्तरी जिल्लाभरिमा हालसम्म ५३१ जनामा कोरोना संक्रमण भेटिएपछि राजविराजसहित सप्तरी जिल्लाभरि भोलि बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिए । 

जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम निषेधाज्ञा जारी गरिएको निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका क्षेत्रभित्र अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निर्णय गरेको जनाइएको छ । 

औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसमान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशपजस्ता अत्यावश्यक सेवाबाहेकका अनावश्यक आवतजावतमा निषेधाज्ञा लगाइएको विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ