arrow

युवाहरू परिचालित भेडा होईन सिंह हुनुपर्छ

logo
बसन्त तिवारी,
प्रकाशित २०७७ साउन २० मंगलबार
basant-tiwari.jpg

हामी सदैव नेतालाई गाली गर्छौ । यो गरेन, त्यो भएन, यसो हुनुपर्ने, आदि ईत्यादि । हुनुपर्ने कुरा भइरहेको छैन, भ्रष्टाचार दिनानुदिन बढिराखेको छ भन्दै हामी नेतालाई गालि गर्छौ । तर फेरि परि आएको खण्डमा ति सबै कुरा भुलेर हामी उसैको निम्ति सडकमा आन्दोलन गर्न तयार हुन्छौ ।

किनकी हामी भेडा हौं, हामी कठपुतली हौ, हाम्रो हैसियत हामीले कहिल्यै नियाल्न खोजेनौं । चलेकै छनी शैलीमा हामी चलिराख्यौ । हामीले अझ राम्रोको खोजिनै गरेनौ । हामीमा यस्तो भावनाको विकास भयो की आफ्नो पार्टी भित्र जतिनै भ्रष्टाचार भए पनि जतिनै बेथिति भएपनि हामी उसैको बचाउका निम्ति मरिमेट्ने तर बिपक्ष तथा भिन्न ब्यक्तिको राम्रो बिचार र कामलाई कहिल्यै पनि साथ र सम्मान दिन सकेनौ । हामी खराब सडक देख्छौ, स्कुल तथा सरकारी कार्यालयको बिजोग देख्छौ, सरकारी अस्पतालहरूको स्थिति देख्छौ, राजनीति भित्रको दुर्गन्ध थाहा पाउँछौ, हरेक क्षेत्रमा राजनीतिको अनिमियतता थाहा पाउछौ,  बिमानस्थलको हालत देख्छौ, तस्करी देख्छौ, जे हुनु पर्ने हो त्यो नभएर अरु सबै भएको देख्छौ । तर हामी त्यसको बारेमा बोल्दैनौ किनकि हाम्रो आफ्नो सरकारको बिरूद्ध आफै बोल्नु राम्रो होईन भन्ने ठान्छौ । बरू बिग्रेको बाटोमा सम्हालिएर हिड्छौ । सरकारी स्कुलको सट्टा बोर्डिङ्ग पढाउछौ, सरकारी कार्यालयमा सोर्सफोर्स लगाउछौं कि चिया खर्च दिन्छौ, अनि नीजि अस्पताल तथा क्लिनिकमा उपचार गर्छौ । जे गर्छौ आफै गर्छौ तर आफ्नो सरकारकोबारे पटक्कै बोल्दैनौ ।

हामी बोल्छौ चिया पसलमा, कहि कतै फेसबुकका भित्तामा अनि कहिलेकाहि बियरका बोतल लडेको अवस्थामा । आफ्नै समकालिन साथिहरूसंगको सानोतिनो जमातमा । हामी वडामा, नगरपालिकामा, जिल्लामा, भेला तथा सम्मेलनमा कहिल्यै बोल्दैनौ । सरकारलाई बचाउन हामी सरकार पक्ष बोल्दैनौ । अनि हिजोको गल्ति खोलिने डरले बिपक्ष बोल्दैनन् ।

पहुँच हुनेहरू आफ्नैको लागि तालि पड्काउदै ठिक्क छ नहुनेहरू केहि गरेनन् भनेर धिक्कारदै ठिक्क छ । पहुँच हुनेहरू आफुलाई अवसर लिने दाउमा छन् नहुनेहरू केहि गर्दिए हुन्थ्यो भन्ने आशमा छन् । पार्टीको लागि दत्तचित्त भएर लाग्ने युवाहरू देशको लागि मौन बस्छन् । 

युवा  के का लागि राजनिति गर्छौ अथवा के का लागि गर्ने ? आजका युवा दुई चिजको लागि राजनिति गर्छन पहिलो उनिहरू नामको लागि र दोस्रो अवसरको ( केहि कमाउने दाउ ) लागि । तर आजका युवाले परिबर्तनको लागि राजनीति गर्नुपर्ने देखिन्छ । नयाँ सोच, नयाँ कार्यशैलि, नयाँ जोश र भ्रष्टरहित राजनीति गर्नु जरूरी छ ।  

राजनिति गर्न कुनै पार्टीमा आबद्ध हुनु जरूरि छैन युवाहरू आफै नीति बनाउनु पर्छ, आफ्नो गाउँठाउँको बिध्यालयमा राम्रा नीति नियम ल्याउनु, स्वास्थ्य क्षेत्रमा राम्रो ब्यवस्था  ल्याउनु, जातिय बिभेद र त्यस्तै समाजमा घटेका बिभिन्न धटना तथा बिकृति बिरूद्ध आवाज उठाउने,  भ्रष्टाचार बिरूद्ध बोल्ने जस्ता धेरै काम हामी गर्न सक्छौ । तर यो सबै गर्न हामी पछि हट्ने अनि सरकार, नेता, मन्त्रीलाई मात्र गालि गर्ने ? 

खै त हामीले आफ्नो जिम्मेवार पुरा पुरा गरेको ? के युवाहरूको भूमिका भनेको सधै आन्दोलन र र्यालिमा सहभागिता जनाउने मात्र हो ?  देशप्रति हामी युवाहरूको कुनै कर्तब्य छैन ? यो भएन यसो भएन भन्दै बस्छौ थर खै हामीले चाहि के गर्यौ त ? 

सहि तरिकाले प्रयोग भएमा युवा शक्ति हो, परिवर्तन हो । त्यहि गलत भएमा बिध्वंश हो । अनि त्यहि युवा निष्कृय भए उपल्ब्धि शुन्य हुन्छ । त्यसैले आफुलाई सधै सकारात्मक सोच सकारात्मक उर्जा सहित सधै एक कदम अगाडि उभ्याउनु आवश्यक देखिन्छ । 

कैयौं युवा आफ्नो मनोरन्जनको लागि गलत नशाको प्रयोग गर्छन् जुन गलत कदम हो । आफ्नो समाज र देशप्रतिको उत्तरदायित्व युवावर्गमा हुनु जरूरी छ । नशाको दुनियाँ एक गलत कदम हो यसको लागि युवा स्वयम् यस्ता कार्यको बिरूद्धमा उभिनु जरूरी छ । दुनियाको कैयौ हिंसा युवाले जोशमा होश गुमाउदा भएका छन् । त्यसैले युवावर्गले आफ्नो संयम गुमाउनु  हुदैन । सहि निर्णयको फैसला गर्ने क्षमताको जानकारी हुनु जरूरि छ ।

त्यसैले आजका युवाहरू परिचालित भेडा भएर होईन गर्जन सहित सिंहको अवतारमा  उपस्थित हुनु जरूरी छ । अब परिचय बदल्नु छ जनता भेडा होईन सिंह हुनुपर्ने बेला आएको छ ।  युवा आवाज सिंहको गर्जन जस्तै हुनु जरूरी छ, न कि भेडाको जस्तो ।

अब बलीको बोका होईन प्रथालाईनै उल्टाउनु पर्नेछ । बर्षौदेखिको राजनीति र समाज भित्र भएको विकृती, बिभेद र भ्रष्टचार बिरूद्ध युवा एक हुनु जरूरी छ । परिबर्तन चाहनेहरू एकपल्ट आफु र आफ्नो सोच परिबर्तन गरौ । समाज र देश आफै परिबर्तन हुनेछ ।
(तिवारी गल्याङ नगरपालिका ६ का बासिन्दा हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ