arrow

उपत्यका १०६ सहित थप ४६४ जनामा संक्रमण, उच्च सतर्कतामा जोड

थप पाँच जनाको मृत्यु

logo
सिबी अधिकारी,
प्रकाशित २०७७ साउन २३ शुक्रबार
corona-nepal-ministry.JPG

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ४६४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सात हजार ९२६ पिसिआर परीक्षण भएकामा ४५४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल कोरोना संक्रमितको सङ्ख्या २२ हजार २१४ पुगेको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

हालसम्म चार लाख २७ हजार ९२६ जनाको पिसिआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ । संक्रमितको सङ्ख्या बढेसँगै उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिन थालिएको छ ।
 
काठमाडौँ उपत्यकासमेतमा केही दिनयता कोरोनाका संक्रमित बढेका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ९२, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा विसं २०७६ माग ९ गते पहिलो कोरोना संक्रमणका बिरामी फेला परेको थियो । हालसम्म छ हजार ३३० जना आइसोलेशनमा छन् । पछिल्लो हप्तामा लक्षण भएका संक्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । साउन २२ गतेसम्मको विवरणमा ६६ जना बिरामी आइसोलेशनमा र तीमध्ये तीन जना भेन्टिलेटरमा रहेका छन् । 

त्यसैगरी पछिल्लो २४ घण्टामा ४२५ जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त भएर घर फर्कनेको ङ्ख्या १५ हजार ८१४ जना रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । पछिल्लो चरणमा सुरक्षा निकाय, सरकारी कार्यालय, न्यायालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र प्रदेशमा मन्त्री समेतमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये बहुसङ्ख्यक ७५ प्रतिशतभन्दा बढी २१ देखि ६० वर्ष उमेर समूहका छन् भने ६० भन्दामाथिका अतिन्यून २ दशमलव १ प्रतिशत रहेको छ । साथै संक्रमितमध्ये चार प्रतिशत १० वर्षमुनिका रहेका छन् ।

हाल परीक्षणको दायरा फराकिलो बनाई लक्ष्यण देखिएका, संक्रमितको सम्पर्कमा रहेका व्यक्ति, गम्भीर स्वासप्रस्वासमा समस्या भएका व्यक्ति, अग्रपङ्क्तिमा खटिएर काम गर्ने व्यक्तिको परीक्षण गरिने मन्त्रालयले जनाएको छ । जिल्लागतरुपमा ५०० भन्दा बढी संक्रमित चार जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ रहेका छन् । संक्रमित शून्य रहेका छ जिल्ला खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ र रुकुमपश्चिम रहेका छन् ।

विभिन्न मितिमा थप पाँच जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लोपटक मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानागरपालिका–९ का ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा मृत्यु भएको थियो । उनमा मधुमेह र उक्त रक्तचापको समस्या थियो । सोही महानगरपालिका–११ का ८९ वर्षीय पुरुषको गत साउन २० गते निधन भएको थियो । सोही वडाका ५७ वर्षे पुरुषको पनि मृत्यु भएको छ । उनमा पनि मधुमेह, उक्तरक्तचाप र मुटुको रोग थियो । सिराहा गोलबजारका नगरपालिका १२ का ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । मिर्गाैला पीडित उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन २२ गते मृत्यु भएको थियो । सर्लाही वसन्तपुरका ४५ वर्षीय पुरुषको आज पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौँ उपत्यकालगायत अन्य बाक्लो बस्ती भएको ठाउँमा संक्रमणको दर बढेकाले अस्पतालमा श्यया उपकरण र स्वास्थ्यकर्मी अभाव हुनसक्ने भएकाले सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् । उनले कोरोनाको औषधि पत्ता नलागी सकेको भन्दै सबै अस्पतालले चिकित्सकलाई सिफ्टअनुसार मिलाएर काम गराउन आग्रह गरे ।

मन्त्रालयले सरकारी, सामुदायिक तथा अफिसमा बैठक, गोष्ठी, सेमिनारलगायत अन्य जमघट तत्काल बन्द गर्न र गर्नै परेमा भर्चुअल बैठक गर्न आग्रह गरेको छ । भारतीय सीमा क्षेत्रका जिल्लामा कोभिड संक्रमण उच्च रहेकाले प्रदेश सरकार, स्थानीय पालिका, गैरसरकारी संस्था, राजनीतिक नेता तथा कार्यकर्ता, शिक्षक तथा अन्य पेसा व्यवसायका व्यक्तिलाई सावधानी अपनाउन तथा स्वाब सङ्कलनपछि रिपोर्ट नआउँदासम्म अनिवार्य क्वारेन्टिनमा बस्न पनि मन्त्रालयले अपिल गरेको छ । 

कोभिड–१९ को कुनै पनि उपचार पत्ता लागेको छैन । औषधि, अक्सिजन र भेष्टिलेटरले सहयोग मात्र गर्ने हो रोगको उपचार नगर्ने भएकाले उचित उपाय भनेको नै रोग लाग्न नदिनु यो यसका लागि बेलैमा सचेत हुन संक्रमण बढ्दै गएमा अस्पताल र स्वास्थ्यकर्मीले धान्न नसक्ने र अकालमा मृत्यु हुनसक्ने अवस्था आउने भएकाले सचेत रहन आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ