arrow

विच्याटका प्रयोगकर्ताले अमेरिकामा ट्रम्प विरुद्ध मुद्दा हाल्ने तयारी

logo
एपी,
प्रकाशित २०७७ भदौ ७ आइतबार
wechat-trump.jpg

लस एन्जलस । चिनियाँ मेसेजिङ एप्लिकेसन विच्याटका केही अमेरिकी प्रयोगकर्ताहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन् । 

विच्याटका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा विच्याटमाथि प्रतिबन्ध लगाउने सम्बन्धी एउटा कार्यकारी आदेशमा केही दिनअघि हस्ताक्षर गरेपछि विवाद उत्पन्न भएको हो । 

सान फ्रान्सिस्कोमा शुक्रबार अमेरिका विच्याट प्रयोगकर्ता एलायन्स र अन्य व्यक्तिहरु तर्फबाट सामूहिक निवेदन दिइएको छ । उनीहरुले विच्याट मार्फत चीनमा रहेका आफ्ना नातेदार, रोजगारी र अन्य कामका लागि प्रभावशाली सम्पर्क माध्यम रहेको बताएका छन् । 

निवेदकहरुले आफूहरु विच्याट वा यसको संचालक कम्पनी टेन्सेन्ट होल्डिङ्ससँग कुनै आबद्धता नरहेको पनि दाबी गरेका छन् । 

निवेदनमा उनीहरुले संघीय अदालतसमक्ष राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश रोक्न अनुरोध गरेका छन् । उनीहरुले ट्रम्पको आदेशबाट अमेरिकी प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रता, धार्मिक स्वतन्त्रता र अन्य संविधान प्रदत्त अधिकारहरु उल्लंघन भएको बताएका छन् । 

निवेदक तर्फका वकील माइकल बाइनले चिनिया–अमेरिकी समुदायका लागि निकै महत्वपूर्ण रहेको विच्याटजस्तो मेसेजिङ एप्लिकेसन रोक्दा संविधानको पहिलो संशोधनको बर्खिलाफ हुने जिकिर गर्नुभयो । 

राष्ट्रपति ट्रम्पले गत अगस्ट ६ तारिखमा विच्याट र टिकटकमाथि प्रतिबन्ध लगाउने गरी कार्यकारी आदेशमा हस्ताक्षर गर्नु भएको थियो । उहाँले यी दुई एप्लिकेसनका कारण अमेरिकी राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थतन्त्रमा नै खतरा उत्पन्न हुने दाबी गर्नु भएको थियो ।

उक्त आदेशहरु आगामी सेप्टेम्बर २० देखि लागू हुनेछन् । 

एक अनुमान अनुसार अमेरिकामा विच्याटका दशौं लाख प्रयोगकर्ता रहेका छन् । राष्ट्रपतिको आदेशमा विच्याट र टिकटकलाई एप्पल र गूगलका एपस्टोरबाट पनि हटाउन भनिएको छ । यसबाट आम प्रयोगकर्तालाई अझ कठिन हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ