arrow

‘हाम्रो पात्रो’ प्रयोगकर्ताले एपबाटै सोह्र श्राद्धको ‘सीदा दान’ गर्न सक्ने, यस्तो छ विधि र प्रक्रिया

logo
प्रकाशित २०७७ भदौ १७ बुधबार
hamropatro-jyotishsewa-shraddha.jpg

काठमाडौं। लोकप्रिय मोबाइल एप्लिकेशन ‘हाम्रो पात्रो’ले सोह्र श्राद्धमा पितृहरुको सम्झनामा ‘सीदा दान’ गर्न सकिने सुविधा ल्याएको छ। कोभिड–१९ को संक्रमण फैलन सक्ने जोखिम र जारी निषेधाज्ञाको समयमा पूण्यकर्म सम्पन्न गर्न सहज होस् भन्ने उद्धेश्यले यो सेवा सुरु गरिएको हाम्रो पात्रोले जनाएको छ।

कोरोनाको संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा पण्डित–गुरुहरु घरघरमा गएर श्राद्ध तथा सीदा दानको प्रक्रिया सम्पन्न गर्न असहज भएको छ। यस किसिमको संकटपूर्ण घडीमा पितृहरुलाई सम्झिदै कर्मकाण्ड सम्पन्न गर्न सकिने विकल्पको रुपमा ‘हाम्रो पात्रो’ले इन्टरनेटको प्रयोग गरी एपबाटै सीदा दान गर्ने विधि सार्वजनिक गरेको हो।

यो सेवाअन्तर्गत हाम्रो पात्रोद्धारा प्रमाणित अनुभवी वैदिक गुरुहरुले घरमै बसी भिडियो कलमार्फत् सीदा दानको प्रक्रिया सम्पन्न गर्न सघाउने छन्। हाम्रो अनलाइन ज्योतिष सेवाअन्तर्गत प्रविधिको प्रयोग गरी पितृ समर्पण यो यो विशेष कार्य सम्पन्न गर्न सकिनेछ। ‘अहिलेको विषम परिस्थितिमा पितृ स्मरणका लागि विशेष १६ श्राद्धको प्रक्रियाबाट वञ्चित हुनुभन्दा सीदा दान गरी पितृहरुलाई तृप्त गराउनु उपयुक्त हुनेछ’ ज्योतिष गुरु नारायणप्रसाद दुलाल बताउँछन्।

‘यसो गर्दा कम्तिमा पनि पितृहरुको दोष लाग्ने छैन र पुण्य प्राप्त गर्न सकिनेछ’ उनी अगाडि भन्छन्, ‘तर यो श्राद्ध, पिण्ड दान र तर्पण भने होइन। सबैका लागि वैदिक गुरुहरु भौतिक रुपमा नै बोलाएर श्राद्ध तथा सीदा दान गर्न सम्भव नभएको अवस्थामा यो सुविधा उपयुक्त हुनसक्छ । यसअघिका समयहरुमा पनि समय नहुने अथवा देशदेखि पर भएकाहरुले मठ मन्दिरमा गएर अथवा नजिकैको गुरु पण्डितहरु भएको स्थानमा गएर पितृहरुको भोजन भाग स्वरुप पँहेलो दाल, चामल, घ्यू, तेल, तरकारी लगायतका अन्य चोखो सामाग्रीहरु भाग लगाएर पितृलाई सम्झेर दान दिने गरिन्छ ।’

दुलालका अनुसार नेपाली समयानुसार बिहान ५ बजेदेखि मध्यान्न १ बजेसम्म तथा विदेशमा रहेका धर्मप्रेमीहरुका लागि नेपाली समयानुसार राति ७ देखि १० बजेसम्म यो सेवा उपलब्ध हुनेछ।

कति छ त शुल्क ?
हाम्रो पात्रोले भनेको छ, ‘खर्च नियमित पूजापाठ अथवा अन्य महत्वपूर्ण कर्मकाण्डमा लाग्ने खर्च भन्दा अत्यन्तै न्यून छ । हाम्रो पात्रोको यस सीदा दानको सेवा लिए बापत नेपाल भित्रको प्रयोगकर्ताको लागि नेरु ५०० (पाँच सय) मात्र राखिएको छ भने अष्ट्रेलिया बस्ने नेपालीले अस्ट्रेलियाबाट यो सेवा उपभोग गरेको खण्डमा अष्ट्रेलियाको १५ डलर तथा अमेरिकाका नेपालीहरुले अमेरिकी डलर ९.९९ मात्र खर्चिए पुग्छ ।’

‘हाम्रो पात्रो’ प्रयोग गरी गुरुहरुमार्फत कसरी गर्ने सीदा दान ? 
सीदा दान गर्नुअघि त्यसका लागि केही विधिवत तयारी र नियमहरु पुरा गर्नुपर्ने हुन्छ। बिहान नित्य स्नान गरेर जातीय परम्परा अनुसार चोखो भई पानी र एउटा सिक्का पैसा साथमा लिएर आफ्ना पितृहरूलाई स्मरण गर्दै दक्षिणतर्फ फर्किएर बस्नुहोस्। 

संभव भएसम्म सीदामा चामल, तरकारी, दाल, नुन, बेसार, मसला, चिनी, तिल, मह, घ्यू, दही, फलफूल, नैवेद्य, पानी, तुलसीपत्र आदि जस्ता सामग्री तयार पारेर राख्नुहोस् ।

आफ्नो वंशमा दिवंगत बुबा, हजुरबुबा, बुढा हजुरबुबाको सधर्मपत्नी सहितको नामावली तथा मावली तर्फको वंशमा दिवंगत भएका आमाको बुबा, हजुरबुबा, बुढा हजुर बुबाका सधर्मपत्नी सहितको नामावली र सम्भव भएसम्म अन्य पितृदेवहरूको नामावली समेत तयार पार्नुहोस्। सीदा दान गर्ने व्यक्तिले सम्भव भएसम्म कालो, निलो, हरियो र रातो बाहेक सात्विक (सेतो वा पहेँलो) वस्त्र लगाउनु उत्तम मानिन्छ।

उल्लेखित नियम पुरा गरिसकेपछि यहाँ क्लिक गरी ‘हाम्रो पात्रो’को वेबसाइट वा एप (एन्ड्रोइका लागि यहाँ क्लिक गर्नुहोस् अनि आईओएसका लागि यहाँ क्लिक गर्नुहोस्) खोल्नुहोस्।

हाम्रो पात्रो एपको होम पेजमा भएको ‘सीदा दान’लाई क्लिक गरेर यो सुविधाको लाभ लिन सक्नुहुनेछ। हाम्रो पात्रोले भनेको छ, ‘वेबसाइटमा भने माथि सिरानीमा सीदा दान राखिएको छ साथै एपको बायाँतर्फ माथि सिरानीमा रहेको तीनधर्के लाइनभित्र हाम्रो ज्योतिषको ठिक तल अनलाइन गुरु लाई क्लिक गरेर पनि सीदा दानको सुविधासँग जुट्न सक्नुहुनेछ ।) 

पेज स्क्रोल गर्दै (तलतिर सार्दै) अन्तिममा रहेको ‘गुरुसँग कुरा गर्नुहोस्’ सँगै रहेको वैदिक गुरुहरुसँग सीदा दानको प्रक्रिया सुरु गर्नुहोस् लेखिएको स्थानमा दबाउनुहोस्। अब त्यहाँ रहेको ‘दक्षिणा बुझाउनुहोस्’ लेखिएको स्थानमा क्लिक गर्नुहोस्। दक्षिणाको रुपमा शूल्क बुझाउनुपर्नेछ।

नेपालभित्र हुनुहुन्छ भने ईसेवा, खल्ती तथा कनेक्ट आइपीएसमध्ये तपाईंसँग उपलब्ध रहेको विकल्प चयन गरी टिकट किन्नुहोस्। नेपाल बाहिरका लागि भने मास्टरकार्ड, भिजा, पेपाल आदि माध्यम प्रयोग गरी भुक्तानी गर्न सक्नुहुनेछ।

यति गरिसकेपछि तपाईंले अनलाइनमा रहेका गुरु तथा पण्डितहरुको सूची देख्नुहुनेछ। त्यसमध्ये कुनै एक पण्डितको आइकनमा क्लिक गरी भिडियो कल सुरु गर्नुहोस्। यसरी भिडियो कल गरी उपलब्ध गुरु तथा पण्डितमार्फत सीदा दानका लागि प्रक्रिया सुरु गर्न सक्नुहुनेछ (यो सुविधा प्रयोग गर्नका लागि कुनै मोबाइल नम्बर अथवा फोन नम्बर चाहिँदैन)  तर इन्टरनेट कनेक्सन भने हुन जरुरी छ। 

प्रत्यक्ष भिडियो कलमार्फत् गुरुले सीदा दानका लागि विधिवत रुपमा आवश्यक प्रक्रियाहरुबारे जानकारी दिंदै सहजीकरण गर्नुहुनेछ र गुरुले भने अनुसार गर्दै जानुहोस्, त्यसअनुसार तपाईंले सीदा दानको कर्म पुरा गर्न सक्नुहुनेछ। वर्तमान परिस्थितिमा विश्वको जुनसुकै ठाउँबाट सोह्र श्राद्धमा आफ्ना पितृको तिथिको दिन उहाँहरुको नाममा नेपालका वैदिक गुरुहरुमार्फत सीदा दानको संकल्प पुरा गरी पुण्य आर्जन गर्न सक्नुहुनेछ।

सङ्कल्प गरिएको सीदा आफ्नो गोत्र बाहेकका नजिकैका ब्राह्मण, आश्रम, मन्दीर वा दीन दुःखीहरुलाई श्रद्धापूर्वक अनुकुल समयमा दान दिन सक्नुहुनेछ। ‘हाम्रो पात्रो’को यो सेवा पूर्ण श्राद्धको प्रक्रिया अनुरुपको भने होइन। यो नितान्त जटिल परिस्थितिहरुमा पितृहरूलाई श्रद्धापूर्वक स्मरण गर्नको लागि पण्डितरगुरुहरुको सहयोगमा सीदा दानको सङ्कल्प गरिने सरल प्रक्रिया मात्र हो।

वेबसाइटमा बुधबारदेखि उपलब्ध हुने ‘हाम्रो पात्रो’ को यो सेवा एपमा रिलिज हुन भने केही दिन लाग्नेछ । यो सेवा सोह्र श्राद्ध अवधिभर प्रयोग गर्न सकिनेछ ।

‘घरमैं बसौं, सामाजिक दूरी कायम राख्दै हाम्रो संस्कृति तथा वैदिक सनातन कर्मकाण्ड को विधिवत जिम्मेवारी पनि पूरा गरौं’, हाम्रो पात्रोले विज्ञप्तिमा भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ