arrow

सांसद दिव्यमणी भन्छन, 'कोभीड १९ नियन्त्रण गर्न केयरलेस गरेको सरकारसँग भीजन पनि रैनछ'

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १७ बुधबार
dibyamani-rajbhandari.gif

काठमाडौं । कोभिड १९ नियन्त्रणमा सरकार असफल भइसकेको दावी गर्दै नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले सरकारलाई कोभिड १९ नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याउन सुझाव दिएका छन् । सांसद राजभण्डारीले कोभिड १९ नियन्त्रणका लागि सबैभन्दा पहिला मानिसहरुको आवातजावत रोक्नु पर्ने भन्दै त्यसका लागि सेना परिचालन गर्न सरकारलाई सुझाव दिएका हुन् । 

‘जुन तरिकाले अहिले संक्रमण भइरहेको छ, यही हिसावले ५० हजार मान्छे मर्ने भनेर एउटा अध्ययन प्रतिवेदनको हवाला दिएर समाचार आएको पढेको थिए । काठमाडौंमा जब पीसीआर टेष्ट बढ्न थाल्यो, त्यसपछि संक्रमण यति बढेको हो’ उनले भनेका छन्, ‘भित्रभित्रै कहाँ छ? के के छ? हाम्रो बस्ने तरिका, हाम्रो केयरलेस गर्ने लगायतका सबै चीजले गर्दा र जुन तरिकाले बाहिरबाट मान्छे आउन दिइयो त्यसले गर्दाखेरी यो भयानक भइसक्यो । त्यसकारणले सबैभन्दा पहिले मान्छेको मुभमेन्ट कन्ट्रोल गर्नुपर्छ । यो पुलिस र सशस्त्रबाट गर्न सकिंदैन । यो कन्ट्रोल गर्नको लागि सेना परिचालन गर्नु पर्छ ।’

उनले कोभिड नियन्त्रणका लागि नेपाली कांग्रेसले सरकारलाई पहिलेदेखि नै सुझाव दिँदै आएपनि सरकारले वास्ता नगरेको बताए । ‘हामीले जति कुरा संसदमा उठायौं, सरकारलाई सल्लाह दियौं, मिडियामा जति कुरा उठायौं, सरकारले एउटा जिम्मेवारी साथ सुन्नुपर्ने थियो । सरकारमा छलफल हुनेपर्ने थियो, ती कुराहरु ।' राजभण्डारीले भने, 'तर, हामीकहाँ जुन जिम्मेवारीका साथ सरकारले सुन्नुपर्ने थियो, त्यो सरकारले सुनेन र कार्यान्वयन गर्न ढिलो गर्यो।’

कोभिड नियन्त्रणका लागि सरकार जवाफदेही नभएको उनको आरोप छ । कोभिड नियन्त्रणका लागि सरकारसँग भिजन नै नभएको उनले बताए । ‘सरकारका मान्छेसँग भिजन हुँदैन र जनताप्रति जवाफदेही हुँदैन भने त्यहाँ अपेक्षा गर्नु पनि बेकार हुन्छ । मैले पटक पटक भनिरहेको छु, एउटा निर्वाचित व्यक्ति भइसकेपछि जनताप्रतिको आफ्नो जवाफदेही हुनुपर्छ । त्यो चीज अहिले भइदिएन ।’

कोभिड १९को महामारी नियन्त्रणका लागि सत्ता पक्ष र प्रतिपक्ष नभनेर मिलेर अगाडी बढौं भन्ने आफ्नो भनाई रहेको जनाउँदै उनले कोभिड १९बाट बाँच्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार पानी पिउनुपर्ने बताएको कुरामा सहमत नभएपनि सय प्रतिशत असमत पनि नरहेको बताए । ‘प्रधानमन्त्रीले बेसार खानुस, गुर्जो खानुस, भनेर जुन भनिराख्नु भएको छ । त्यो पुरानो कुनै पनि ट्रिटमेन्टको कुनैपनि कुरालाई म सय प्रतिशत नकार्दिन’ उनले भनेका छन्, ‘तर जुन चीज साइन्सले प्रुफ गरेको छैन, त्यो चीजमा प्रधानमन्त्रीको त कुरै छोडौं, त्यो चीजमा म जस्तो जनप्रतिनिधि कसैलेपनि जनतामा त्यस्ता कुराहरु गर्न मिल्दैन । किनभने हामीले जनताप्रति उत्तरदायी हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले बेसार पानी खानु भनेकै सन्दर्भमा सांसद राजभण्डारीले बेसार पानी राम्रो चीज रहेको भन्दै हजारौं वर्षदेखिको संस्कारमा रहेकाले सबैले प्रयोग गरिरहेको बताए । उनले कोभिडको फेज कहिलेसम्म रहने भन्ने कुरामा डब्ल्युएचओ नै अन्योलमा रहेको भन्दै सरकारले कडाईका साथ नियन्त्रण गर्नमा चुक्न नहुनेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ