arrow

धौलागिरि अस्पतालले थाल्यो प्लाज्मा थेरापीको तयारी

logo
प्रकाशित २०७७ भदौ १७ बुधबार
plasma-therapy.jpg

बलेवा । धौलागिरी अस्पताल बागलुङले प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी थालेको छ ।  यसका लागि अस्पतालले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वीकृतिका लागि पत्र पठाएको छ । परिषद्को अनुमतिपछि मात्रै यो विधिबाट कोरोना संक्रमितको उपचार गर्न पाइने व्यवस्था छ । 

“अवस्था के कस्तो आउँछ आँकलन गर्न सकिँदैन”, अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोख्रेलले भने, “त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोनाको उपचार सफल भएपछि हामी पनि यसबाट उत्साहित छौं र यहाँ पनि यो विधिबाट उपचार गर्न तयारीमा जुटेका छौं ।” 

अस्पतालले यसको अनुमतिसँगै रगतबाट प्लाज्मा छुट्याउन सेन्ट्रिफिक मेसिन पनि माग गरेको छ । “अनुमति र उपकरण प्राप्त भएपछि अस्पतालले प्लाज्मा थेरापी विधिबाट उपचार गर्न सक्छ”, उनले भने, ‘कोरोना संक्रणबाट निको भएकाले प्लाज्मा दिन तयार हुँदा मात्रै हामी यसमा सफल हुन्छौं ।” अनुमति र मेसिन आएलगत्तै प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न सकिने उनले बताए । 

यो उपचार प्रणाली कोरोनाले निको भएका बिरामीको शरीरमा संक्रमणलाई असरहीन बनाउने एन्टिबडी विकास हुने धारणामा आधारित छ। कोरोना निको भएका बिरामीको रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमितको रगतमा हालेपछि त्यसबाट कोभिड भाइरसलाई समाप्त पार्न सकिन्छ। 

प्लाज्मा रगतको तरल (पहेँलो) खण्ड हो। यो रगतको कुल मात्राको करिब ५५ प्रतिशत हुन्छ। यसमा भाइरस, ब्याक्टेरियाबाट हुने संक्रमणलाई मार्ने एन्टिबडीको उच्च क्षमता हुन्छ। प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ को आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमता विकास गर्ने प्रक्रिया हो।

 कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफै त्यसविरुद्ध लड्न थाल्छ र त्यो भाइरस समाप्त पार्न एन्टिबडी बनाउँछ। एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल भएपछि बिरामी पूर्ण रूपले निको हुने दाबी चिकित्सकको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ